हेटौडा: हेटौडा उपमहानगरपालिकालाई ‘‘बाँस गाउँ’’ बनाउन सरोकारवालाहरू सहमत भएका छन् । त्यसका लागि प्रारम्भमा हेटौडा उपमहानगरपालिका क्षेत्रभित्र ‘बेस लाइन’ सर्वे गर्ने सहभागी सरोकारवालाहरूले निर्णय समेत गरेका छन् ।
ग्रिन फाउन्डेसन नेपालको योजना अनुरूप बिहीबार हेटौँडाका सरोकारवालाहरूसँग गरेको छलफलमा अबको २ साताभित्रमा ‘बेस लाइन’ सर्वे गर्ने निर्णय गरिएको हो ।
त्यसका लागि वडा कार्यालयसँग सहकार्य गरी, सामुदायिक वन जिल्ला महासङ्घका प्रतिनिधिहरू, स्थानीय महासङ्घका प्रतिनिधिहरू, वातावरण विज्ञ, बाँस विज्ञहरू, प्राविधिकहरूको सहभागिता रहने छ ।
सर्वे गर्ने टोलीले हेटौडामा विभिन्न प्रजातिका बाँस रोप्नका लागि आवश्यक कम्तीमा २ हजार हेक्टर खाली जग्गाको निधो गर्ने छ । माटो परीक्षणदेखि लिएर कुन वडामा कुन प्रजातिको बाँस रोप्दा राम्रोसँग फस्टाउन सक्छ भन्ने कुराको पनि निधो गरिने ग्रिन फाउन्डेसन नेपालका अनुसन्धान अधिकृत अर्बिन पौडेलले जानकारी दिए ।
उनका अनुसार ‘बाँस गाउँ’ कार्यक्रम अन्तर्गत २ हजार हेक्टर क्षेत्रफल मध्ये ७ सय हेक्टर अनिवार्य बाँस खेती गरिने छ । बाँकी १ हजार ३ सय हेक्टरमा कृषि वनमा आधारित अन्य विभिन्न प्रजातिका बिरुवाहरू रोपिने छ ।
परियोजना अनुसार ‘बाँस गाउँ’ कार्यक्रमबाट २ सय घरपरिवारलाई प्रत्यक्ष रोजगार दिइने छ । आर्थिक रूपमा विपन्न समुदायका घर परिवारलाई समेट्ने पौडेलले जानकारी दिए ।


पौडेलका अनुसार ३ वटा ब्लक बनाएर ‘बेस लाइन’ सर्वे गरिने छ । हेटौडा उपमहानगरपालिकाको वडा नम्बर ४,५,७,८,९ र १० एउटा ब्लक, वडा नम्बर ३,११ र १९ वडाको अर्को ब्लक र वडा नम्बर १२, १३ र १४ लाई तेस्रो ब्लक बनाएर सर्वेको कार्य सकिने छ ।
सर्वेमा ब्लक अनुसारका वडाअध्यक्षहरु, वडामा रहेका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरू ,सामुदायिक वन महासङ्घ जिल्ला, स्थानीय महासङ्घका पदाधिकारीहरू, निजी क्षेत्रका पदाधिकारीहरू, उद्यमी समूहका पदाधिकारीहरू, प्राविधिक लगायतको सहभागिता रहने छ ।
सर्वे सकिएपछि बाँस गाउँ कार्यान्वयन गर्ने समिति(च्याम्पियन) निर्माण कार्य अगाडि बढ्ने अधिकृत पौडेलले जानकारी दिए । यो समितिले कार्य योजना, व्यावसायिक योजना, लाभ बाँडफाँड योजना लगायत दस्ताबेजहरू निर्माण गर्ने पौडेलले बताए ।
यी सबै योजनाहरू निर्माण गरी कार्यान्वयन गर्नका लागि २ सय घर परिवारलाई सदस्य बनाई कृषि बन सहकारी निर्माण गरिने छ । सहकारी मार्फत नै वृक्षारोपण, बाँसमा आधारित उद्यमका लागि आवश्यक पर्ने सीप प्रदान गर्ने, उत्पादित समानहरूको बजारीकरण लगायतका कार्य गरिने अनुसन्धान अधिकृत पौडेलले जानकारी दिए ।


छलफलमा सहभागी बागमती प्रदेशकी सांसद तथा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालकी निवर्तमान अध्यक्ष भारती पाठकले बाँसका विभिन्न प्रकार, उपयुक्त स्थानको पहिचान, र सहकारी संस्थासँग सहकार्य गर्दै पाइलट प्रोजेक्ट सुरु गर्नका लागि सरोकारवालाहरूलाई छलफलमा डाँकेको जानकारी दिइन् । स्याटलाइट सर्वेबाट हेटौडा उपमहानगरपालिका भित्र “बाँस उत्पादन गरी त्यसबाट विभिन्न हस्तकलामा सामाग्री बनाएर बिक्री गर्न सक्ने सम्भावना रहेको बताइन् । जसले स्थानीय रूपमा रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धिमा टेवा पुग्ने पाठकले बताइन् ।
पाठकले कृषि र वन उद्यमलाई सहकार्यमा ल्याएर सहकारी मार्फत थप प्रवर्द्धन गर्न सकिने बताइन् । बाँस उत्पादनलाई स्थानीय तहले प्राथमिकता दिएर काम गरेमा दिगो विकास सम्भव पनि भएको उनको भनाई थियो ।
ग्रिन फाउन्डेसन मकवानपुर शाखाका कोषाध्यक्ष मुकेश प्रसाद कुशवाहाले बिहीबार भएको निर्णयलाई कार्यान्वयन गर्नका लागि केही दिनभित्रबाटै बेस लाइन सर्वेको काम थालिहाल्ने जानकारी दिए ।
ग्रिन फाउन्डेसन मकवानपुर शाखाकी प्राविधिक सहजकर्ता वर्षा नेवारले बढीमा २० दिनभित्रमा सबै रिपोट तयारी गरी पुनः उपमहानगरपालिका भित्रका धेरै भन्दा धेरै सरोकारवालाहरू बिचमा बृहत् छलफल कार्यक्रम राखिने छ ।



























































Discussion about this post