हेटौंडा, मकवानपुर – ग्रीन फाउन्डेशन नेपालको आयोजना र सामुदायिक वनका उपभोक्ता तथा कृषि सहकारीका प्रतिनिधिहरूको सहकार्यमा ‘कृषि वन उद्यम सहकारी’ नामक तीन दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य कृषि र वन क्षेत्रलाई एकीकृत गर्दै स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्नु र कृषि र वनजन्य उत्पादनलाई सहकारीसँग जोड्नु रहेको थियो।


बागमती प्रदेश सभा सदस्य भारती पाठकले तालिमको महत्त्वबारे चर्चा गर्दै भनिन्, “यस तालिमले कृषि सहकारी र सामुदायिक वनका उपभोक्ताबीच सिकाइ आदानप्रदानको थालनी गरेको छ। यसले कृषि र वनलाई एकीकृत गरी उत्पादनसँग जोड्ने संघीय र प्रदेश नीतिहरूको प्रभावकारी कार्यान्वयनमा मार्गप्रशस्त गरेको छ।”
साना उद्यमको सम्भावना र संरचनागत चुनौती
पाठकले ठूला उद्यम सञ्चालनमा कानूनी र संरचनागत चुनौती रहेका तर साना उद्यमका लागि औद्योगिक ऐनले छुट दिएको उल्लेख गरिन्। “साना उद्यमहरूलाई औपचारिक रूपमा दर्ता गरेर प्यान नम्बर लिई व्यवसायिकता हासिल गर्न सकिन्छ। यसले ग्रामीण क्षेत्रका उद्यमशीलता प्रवर्द्धन गर्न सहयोग पुर्याउनेछ,” उनले भनिन्।


जैविक विविधता र गैरकाष्ठजन्य उत्पादनमा जोड
सामुदायिक वन क्षेत्रमा चिया र कफी खेती गर्न रोक लगाइएका विषयमा पाठकले प्राविधिकहरूको जैविक विविधतामा नकारात्मक असर पर्ने तर्कलाई सन्तुलित ढंगले समाधान गर्नुपर्ने धारणा राखिन्। “गैरकाष्ठजन्य उत्पादनको सम्भावनाको पहिचान अत्यावश्यक छ। सिप्लिक्यानजस्ता लोपोन्मुख प्रजातिको संरक्षण र कफी तथा चियाजस्ता नयाँ बाली वन क्षेत्रभित्र ल्याउन आवश्यक छ,” पाठकले बताइन्।
स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा जोड
तालिममा ग्रुन्द्रुक, कर्कालोको अचार, बेसारजस्ता स्थानीय उत्पादन निर्माणमा जोड दिइएको थियो। पाठकले भनिन्, “हामीले खान योग्य वस्तुहरूलाई अचार जस्ता रूपान्तरणीय उत्पादनमा ढालेर बजारमा पुर्याउन सक्छौं। यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउँछ।”


बजारीकरणका लागि संस्थागत पहल
सहभागीहरूले उत्पादन भएका वस्तुहरूको बजारीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रदेशस्तरीय छलफल गर्ने योजना साझा गरे। पाठकले भनिन्, “यसका लागि हामी तयार छौँ । स्थानीयस्तरमा उत्पादित वस्तुको बजार व्यवस्थापनका लागि संस्थागत पहल र व्यापक छलफल अपरिहार्य छ।”
तालिमको समिक्षा गर्दै सहभागीहरूले वनबाटै मुलुकको समृद्धि सम्भव रहेको उल्लेख गरे। उनीहरूले तालिमले आधुनिकीकरण र व्यवसायिकीकरणतर्फ अग्रसर गराएकोमा खुसी व्यक्त गरे। सहभागीहरूले देशमा उत्पादन भएका स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने र कृषि वन उद्यमलाई सहकारीमार्फत प्रवर्द्धन गर्न सकिने आशय प्रकट गरे।
तालिमका क्रममा काठ तथा बाँसको बहुउपयोगिताबारे जानकारी दिइयो। कुकाठलाई ठेकी तथा अन्य हस्तकला सामग्री बनाउन सकिने र बाँसलाई बहुआयामिक रूपमा प्रयोग गर्न सकिने विधिबारे सहभागीहरूलाई सिकाइयो। सहभागीहरूले तालिमले स्वरोजगार र उद्यमशीलताका लागि नयाँ दिशा दिएको समेत उल्लेख गरे।


वन र कृषिलाई सहकारीसँग जोड्दा लगानी सुरक्षित हुने र आर्थिक गतिविधि बढ्न सक्ने निष्कर्ष सहभागीहरूले निकाले। यसैगरि, स्वरोजगार साना किसान सहकारीका प्रतिनिधिले सहकारी र वनलाई एकीकृत गरेर कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
तालिमले स्थानीय समुदायलाई वन र कृषि क्षेत्रमा नवप्रवर्द्धन तथा उद्यमशीलताको विकासमा हौसला प्रदान गरेको ग्रीन फाउन्डेशन नेपालका अनुसन्धान अधिकृत अर्विन पौडेलले बताए।


कार्यक्रमको अध्यक्षता ग्रीन फाउन्डेशन नेपालका सुरेश कुमार रावतले गरेका थिए। सभापतित्व बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सम्हालेका थिए भने बागमती प्रदेशसभा सदस्य भारती पाठक विशेष अतिथिका रूपमा उपस्थित थिइन्। जिल्ला महासंघ मकवानपुरका सदस्य झलकबहादुर भुजेल पनि कार्यक्रमको अतिथिको रूपमा सहभागी थिए। कार्यक्रममा ग्रीन फाउन्डेशन नेपालका प्रतिनिधिहरू, कृषि सहकारीका सदस्यहरू, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरू तथा वनकर्मीहरूको उपस्थिति रहेको थियो।



























































Discussion about this post