पूणर्भक्त दुवाल
स्वर्गलोकका राजा इन्द्र आफ्नी आमाको आदेशानुसार चथाः स्वं (पारिजातको फुल) खोज्न ऐरावत हातीका साथ मत्र्यलोक झर्छन् । मत्र्यलोकको केन्द्रको रुपमा रहेको नेपालमा आएर किसानको बारीमा सुगन्धले युक्त सुन्दर पारिजातको फूल देखेर टिप्न थाल्छ ।
फलफूल चोरेको यहाँका जनताले थाहा पाएपछि उनलाई पक्री चोरेका फलफूलसहित सबैले देख्ने ठाउँमा (दोबाटो चौबाटो) बाँधेर राखे । काठमाडौंको बसन्तपुर र भक्तपुरका टोलटोलमा उभ्याइएको काठको इन्द्रको प्रतिक जसलाई नेपाल भाषामा यमःद्य भनिन्छ । त्यहि यम द्य नै इन्द्र हो र स्वर्गलोगका राजा यम द्यो अर्थात इन्द्रलाई बाँधेर जात्रा गरिएकाले नै कालान्तरमा यसलाई इन्द्रजात्रा भन्न थालिएको हो ।
मेहनति किसानको उत्पादनलाई अनुमति बेगर लिएमा वा चोरी गरेमा जात्रा गरेर बेइज्जत गरिन्छ र देवताका राजालाई पनि बाँकी राखिंदैन भन्ने सन्देश यो इन्द्रजात्राले सन्देश दिन्छ ।
परापूर्व कालमा तीनलोक अर्थात तीन राज्य थिए । आर्यहरुको राज्य स्वर्गलोक, असुरहरुको राज्य पाताल लोक र मानवहरुको राज्य मत्र्यलोक ।
मत्र्यलोकमा मातृसत्ता थियो । जसका हर्ताकर्ता कुमारी हुन् । यसर्थ इन्द्रजात्रामा कुमारीको विशेष पूजा अर्चना गरिन्छ र इन्द्रलाई बाँधेको अवलोकनमा आउने गरिन्छ । मत्र्यलोकका रक्षक भने भैरव हुन् । यसर्थ भैरव नेवारहरुको पितृदेवको रुपमा र आराध्यदेवका रुपमा पुजिने गरिन्छ ।
यहि भएर इन्द्रजात्रामा कुमारी र भैरवकै विशेष पूजा अर्चना गर्ने गरिन्छ ।
इन्द्रलाई बाँधेर राखेपछि पटक पटक एरावत हाती नेपाल मण्डलमा याँ मता ( याँ भनेको आकाश हो भने मता भनेको दीप हो ) अर्थात आकाश दीपसहित बालेर खोज्न आउने गरिन्छ । काठमाडौंमा एरावती हात्ती अर्थात पुलुकिसी दिन दिनै निकाल्ने गरिन्छ भने भक्तपुरमा अन्तिम दिनमा मात्र पुलुकिसी ल्याइने गरिन्छ ।
इन्द्रलाई बाँधि राखेको हेर्न पाताल लोकका असुर राजा पनि हेर्न आउने प्रथा भक्तपुरमा अहिले पनि बाँकी नै रहेको छ । उनी अर्थात मुपात्र इन्द्रलाई बाँधेको पाँचौ दिनदेखि साँझपख हेर्न आउने गर्छन् । सुरक्षागार्ड (डिचा) सहित आउने मुपात्रले इन्द्रलाई तरवारले हान्ने सम्म गर्छन् ।
यदि एरावत हातीले देखेमा मुपात्रलाई मार्न सम्म पाउने भन्ने भनाइ भक्तपुरमा यथावत रहेको छ ।


अव लागौं काठमाडौंको इन्द्रजात्रातर्फ
इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यमद्यः उनै इन्द्र हुन् । छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि इन्द्रकी आमा बसुन्धरा डाकिनी (राक्षस) को भेषधारण गरी मत्र्यलोक आइन् । अनि तिनीले शित र हुस्सुले वातावरणलाई छोपी कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा भगाएर लगिन् । छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याएकी थिइन् । पुलुकिसी त्यही हात्ती हो । इन्द्रजात्रामा बसुन्धरा रुने र छोरा खोज्न आउँदा हुस्सुले छोप्ने भएकाले यो बेला पानी पर्ने गर्दछ । यसलाई यन्यापुन्हिको झरी पनि भन्ने गरिन्छ । बसुन्धराले इन्द्रलाई लाँदा हुस्सुले छोपिने भएकाले यहिंबेलाबाट काठमाडौंमा हुस्सु लाग्ने गर्दछ भने भनाइ छ ।
इन्द्रजात्रा भनिए पनि स्थानीय बोलीमा यो पर्व ‘यँयाः’ नामले प्रचलित छ। ‘यँ’ ले इन्द्र र याःले जात्रा, पर्वको अर्थ दिन्छ। तर, यो जात्रा वैदिक देवता इन्द्र वा कुनै पात्रविशेषसँग मात्र सीमित छैन।
इन्द्र सम्बन्धी धेरै उल्लेख भएको साहित्य ऋग्वेद हो, जसमा यी प्रसंग पाइँदैनन्। वैदिक साहित्य अनुसार इन्द्रकी आमाको नाम ‘अदिति’ हो तर इन्द्रजात्राका प्रसङ्गमा आमाको नाम ‘दागिं’ उल्लेख छ। अदितिलाई पनि देवताकै रूपमा लिइन्छ तर यहाँ ‘दागिं’ को चित्रण राक्षसको रूपमा छ। अदितिको चित्रण मृत्युसँग गरिएको पाइँदैन तर ‘दागिं’ मृतकलाई स्वर्गमा लैजाने पात्रका रूपमा लिइन्छ।
सामान्यतः इन्द्रजात्राको चर्चा गर्ने वेला स्वर्गका राजा इन्द्रकी आमालाई बसुन्धरा व्रत बस्न इच्छा भएको र त्यसका लागि चाहिने पारिजातको फूल लिन इन्द्रलाई पृथ्वीमा पठाएको कथा हालिन्छ। तर, यो कथा वैदिक साहित्यसँग मेल खाँदैन।
‘यमःद्यः’
इन्द्रजात्राका बेला उभ्याइने देवताको नाम ‘यमःद्यः’ हो। ८ दिनसम्म ‘यमःद्यः’ टोल-टोलमा ठड्याएर राखिन्छ । शुरुआतमा सादा काठ मात्र ठड्याइने गरिएकोमा पछि केही आकृति समेत कुँद्ने परम्परा आएको देखिन्छ।
समयक्रममा एउटा काठमा अर्को काठ जोडेर दुई हात जस्तो पनि बनाइयो। ठूलो-सानो नापका यी ‘यमाःद्यः’ को आकृति काठमाडौं र भक्तपुरमा उस्तै-उस्तै देखिन्छ। अहिले ‘इन्द्रध्वजा’ भनी व्याख्या गरिएको यःसिं वा लिंगो वास्तवमा टोल-टोलमा ठड्याइने ‘यमःद्यः’ नै हुन्।
हिजोआज हनुमानढोका दरबार क्षेत्रमा ठूलो तामझामका बीच ठड्याइने यो लिंगो प्राचीनकालदेखि नभएर राजा पृथ्वीनारायण शाहका उत्तराधिकारी प्रतापसिंह शाहको समयबाट मात्रै शुरू भएको हो। त्यसअघि यो लिंगो चिकंमुगल टोलको अट्कोनारायणस्थानमा गाडिन्थ्यो।
इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्यंसत्तःको बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ। मरुटोलमा इन्द्रलाई डोरीले बाँधेर राखेको मूर्ति प्रदर्शन गरिएको लोककथन छ। इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाई प्रदर्शनमा राखिन्छ।
भक्तपुरमा भने यमद्यः -इन्द्र को प्रतिक लामो काठमा डोरीले बाँधेर राख्ने गरिन्छ ।
इन्द्रजात्रामा प्रमुख आकर्षण कुमारीको रथयात्रा हो। कुमारी रथयात्रामा सबैको ध्यान गए पनि रथयात्रा अघि-अघि गणेश र भैरव देवताको रथ तानिन्छ। वास्तवमा यो रथजात्रा कुनै विशेष उत्सव नभएर जीवित देवी कुमारीको नगरका प्रमुख सांस्कृतिक उत्सव अवलोकन र इन्द्रलाई बाँधिएको हेर्नु हो।
यँयापुन्हि र सम्हेबजी
रोपाइँ सकिएको, गोडमेल पनि भ्याइसकेको रबाली काट्ने बेला नभइसकेको फुर्सदिलो बेला इन्द्रजात्रा मनाइन्छ। त्यसैले पनि यो जात्रामा सबैले उत्सवको अनुभूति गर्छन्। आठ दिनको यो पर्वमा देखिने अनेकौं गतिविधि एकापसमा पृथक् देखिन्छ।
इन्द्रजात्राको चौंथो दिन यँया पुन्हि अर्थात ‘समेबजि पुन्हि’ भनेर पूणर्िमाका दिन समेबजि खाने चलन छ। कामबाट फुर्सद मिलेपछि शरीरलाई तागतिलो खाना खाने अवसरको रुपमा यसलाई लिइन्छ ।
यस दिन विशेष गरेर समयबजि दान दिनु भनेको पञ्चतत्व दान दिनुसरह मानिन्छ। त्यसैले इन्द्रजात्राको दिन पञ्चतत्वले निर्माण भएको शरीरमा पञ्चतत्व सन्तुलित गरेर राख्ने उद्देश्यले समयबजि खाने र अरूलाई पनि बाँड्ने गरिन्छ। टोलटोलमा र छरछिमेकमा गएर “ला छकू वयेक समेबजि, वल वल पुलुकिसि” अर्थात् (मासु एकटुक्रा आउने गरी समयबजि, आयो आयो ऐरावत हात्ती) भनेर लय मिलाएर देउसी र भैलोजस्तै समयबजि माग्न जाने चलन छ। समयबजि भन्नाले चिउरा, कालो भट्मास, अदुवा, लसुन, बोडी, तोरीको साग, आलु, छोयला, बारा, माछा र अण्डा आदिको परिकार हो।
आकाश भैरव
नेवारहरुले सवैभन्दा वढी पुज्ने देवता हुन् भैरव । आकाशभैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिंगारेर पूजा गरिन्छ। साथै धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ।
इन्द्रजात्रामा बौद्ध धर्मालम्वी
साँझ बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवंगत भएका आफन्तहरू सुखावती भूवनमा बासको कामना गर्दै धारणी स्तोत्र पाठ गर्ने गर्छन्। उनीहरूले बाटोभरि दीयो दान गर्दै काठमाडौँ नगर बस्ती बाहिरका बाटाहरू हुँदै नगर परिक्रमा गर्ने गर्छन्। ततपश्चात भोलिपल्ट वामन द्वादशीमा तिलगंगामा रहेको विष्णुविक्रान्त मूर्तिमा भक्तजनहरूले पूजा अर्चना गर्दै दीयो दान गर्ने परम्परा छ। उक्त मूर्ति सम्वत् ३८९ मा राजा मानदेवले उनकी आमा राजमाता राज्यवतीको पुण्य बढोस् भन्ने कामनाका साथ स्थापना गरेका थिए। यसै दिनदेखि घरघरमा दलुचा (झ्यालमा झुन्ड्याउने एक प्रकारको दीयो) झुन्ड्याई इन्द्रको नाममा बत्ती बाल्ने चलन छ। इन्द्रजात्राकै क्रममा शाक्य जातकी एक बालिकालाई कुमारीका रूप र दुई बालकलाई गणेश र भैरवको स्वरूपमा बेग्लाबेग्लै रथमा राखी बाजागाजाका साथ जात्रा गर्दै बुधबार तल्लो टोलहरू र बिहीबार माथिल्लो टोलहरूमा परिक्रमा गराइन्छ।


नेपाल मण्डल परापूर्वकालमा प्रकृतिको पूजा हुन्थ्यो । पछि बौद्ध धर्मको प्रभाव पर्यो । लिच्छवीकाल पछि मल्लकालमा आएर बौद्धधर्मलाई विस्थापित गरी हिन्दु धर्मको प्रभाव बढ्यो । हिन्दु धर्मको प्रभाव बढाउनकै लागि शासकहरुले बौद्ध धर्म मान्ने गुरु अर्थात शाक्यहरुलाई नै कुमारी, गणेश र भैरब बनाउन लगेको भने भनाइ रहेको छ ।
इन्द्रजात्राको अन्तिम दिन
भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । यस समयमा काठमाडौंको वसन्तपुर मरु, लगन, जैसीदेगल, प्याफल, नरदेवी, न्ह्योखा, बांगेमुढा असन, बालकुमारी, इन्द्रचोकमा रथ तान्ने समयमा विशाल जनसमुदाय सहभागी भई घर-घरमा उल्लासपूणर् वातावरणमा जात्रा मनाइन्छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको यस चाडमा स्वदेशी मात्र नभई विदेशीको पनि उत्साहजनक उपस्थिति रहने गर्छ। यस अवसरमा त्रैलोक्य मोहन मन्दिरको पूर्वतिरको डबलीमा दश अवतार नाच पनि देखाइन्छ। दश अवतारको नाच देखाउने भएकाले नै यस मन्दिर दश अवतारको नामले पनि चिनिन्छ।
यसै अवसरमा इन्द्रचोकको आजु द्यः (आकाश भैरव)को अगाडि पनि सम्हय राख्नुको साथै आजु द्यःका लागि थ्वँ (जाँड)को तेपः (माटोको जाँड राख्ने भाँडो) मा पञ्चकार पूजा गरी जाँड राखिन्छ। लाय्कु (वसन्तपुर) को हाथु द्यः (श्वेत भैरव) लाई पनि पञ्चमकार पूजा गरी हाथु ह्याकि (रक्सी बाँड्ने) गरिन्छ। एकादशीदेखि बेलुकीपख घरघरमा दलुचा (माटोको झुन्डाएर बत्ती बाल्ने परम्परागत शैलीको भाँडो) मा बत्ती बालेर ययाँ द्यः लाई सम्हय् राखेर पूजा गरिन्छ।
रथ ल्याउने बाटोको डबलीमा दि प्याखं (देवीको नाच) देखाइन्छ। नाच भइरहेको दबुनजिकै रथ पुगेपछि रथ रोकेर कुमारी माजूलाई नाच देखाइन्छ र कुमारी माजूबाट भेटी (पैसा) चढाउन दिइन्छ। यस अवसरमा घरघरबाट पनि कुमारी माजूलाई पैसा चढाउने गरिन्छ।
कुमारीको रथ थःने (वसन्तपुर हनुमानढोकाबाट बांगेमुढा असनतिर) क्वने (वसन्तपुर हनुमानढोकाबाट लगन, जैसीदेगल टोलतिर) र अन्तिम दिन नानी चाः (किलागलःतिर) गरी तीनपल्ट तानिन्छ।
इन्द्रजात्राको अन्तिम दिनमा नानीचा याः भनी वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक मखन भई पुनः वसन्तपुर नै पुर्याएपछि इन्द्रजात्रा सकिन्छ। त्यसै रात इन्द्रध्वजा फहराइएको लिंगो ढाली तानेर बाग्मतीमा लगी सेलाएपछि इन्द्रजात्रा समाप्त हुन्छ।




























































Discussion about this post