मेचीनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्तीबाट प्रताडित प्रदेशवासीको जीउधनको सुरक्षा प्रदेश सरकारले लिने र यस क्षेत्रबाट प्रवेश गर्ने हात्तीलाई अवसरका रूपमा लिएर आर्थिक आर्जन गर्ने माध्यम बनाउनुपर्ने बताएका छन् । आइतबार झापाको मेचीनगर-४ स्थित बाहुनडाँगीका विभिन्न ६ वटा कार्यक्रममा सहभागी हुने क्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
मेचीनगरमा निर्माण हुन लागेको प्रकृति पार्क, सामुदायिक हलमा जारी चित्रकला प्रदर्शनी, वडा कार्यालयमा हात्ती विज्ञहरूसँगको अन्तरक्रिया, झापाको पहिलो शहीद विश्वनाथ घिमिरेको सालिकमा माल्यार्पण, शुभ चियाको स्थलगत अवलोकन तथा समुदाय स्तरमा हात्ती संरक्षण, मानव-हात्ती द्वन्द्व न्यूनीकरण र मानव हात्ती सहअस्तित्वका लागि भू-परिधि स्तरमा समन्वय र सहकार्य एवम् अनुभव साटासाटलगायतका कार्यक्रममा मुख्यमन्त्री कार्की सहभागी भएका थिए ।


सो कार्यक्रममा नेपालको लागि पहिलो हात्तीमा पिएचडी गर्नुहुने डाक्टर नरेन्द्र प्रधान, राष्ट्रिय प्रकृति संरक्षण कोषका डाक्टर नरेश सुवेदी, डा. कमल गैरे, हात्तीविज्ञ रमेश थापा, बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामका साथसाथै मेचीनगर-४ वडाध्यक्ष अर्जुन कार्की, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, नगर उपप्रमुख मीना पोख्रेल उप्रेती, आरआरटीका टीम, स्थानीयवासी तथा विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
मानव हात्ती सहअस्तित्वको असल अभ्यास बुझ्न मुख्यमन्त्री कार्की बाहुनडाँगीको अवलोकन भ्रमणमा पुगेका हुन् । पूर्वी पृतना हेड क्वार्टर इटहरीका पृतनापति उपरथी आशबहादुर तामाङ (पिएचडी), सशस्त्र प्रहरी बल नेपाल नं. १ बराहवाहिनी पकली सुनसरीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजित, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक जयराज सापकोटा, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल अन्य सुरक्षाकर्मीसहित मुख्यमन्त्री कार्की बाहुनडाँगी पुगेका थिए ।


सबैभन्दा पहिला मुख्यमन्त्री कार्की प्रकृति पार्क गई त्यहाँ निर्माण गरिएको दुईवटा हात्तीको अवलोकन पश्चात् हात्ती समस्याका बारेमा जानकारी लिए । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगरमा हात्तीले पुर्याएको धनजनको क्षतिदेखि हात्ती समस्या तथा यसक्षेत्रका मानिसले हात्तीका कारण भोग्नु परेको पीडाका बारेमा मुख्यमन्त्री कार्कीलाई सविस्तार सुनाए ।
मुख्यमन्त्री कार्कीले सबै कुरा सुनेपछि प्रदेशवासीको जीउधनको सुरक्षा प्रदेश सरकारले लिने र यस क्षेत्रबाट प्रवेश गर्ने हात्तीलाई अवसरका रूपमा लिएर आर्थिक आर्जन गर्ने माध्यम बनाउनुपर्ने धारणा व्यक्त गरे । उणले हात्ती हेर्न चाहिँ बाहुनडाँगी नै पुग्नुपर्छ भन्ने अवस्था सिर्जना भयो भने हात्ती हेर्नकै लागि मानिस यहाँ आउने र त्यसबाट पर्यटन व्यवसाय फस्टाउने मुख्यमन्त्री कार्कीको भनाई थियो । ‘हाम्रा सन्तानले चित्रमा हात्ती हेर्थे, हात्तीको सुँड हुँदो रहेछ, खुट्टा ठुल्ठुला हुँदो रहेछन्, शरीर पनि बडेमानको हुँदो रहेछ भनेर पढ्थे, अनि हात्ती यस्तो हुँदो रहेछ भनेर थाहा पाउँथे’ मुख्यमन्त्री कार्कीले अगाडि भने, “कमसेकम यहाँ आए भने प्रत्यक्ष हात्ती देख्न पाउने भए चिन्न पाउन भए ।’


हात्तीबाट सामुदायिक वनहरूले निक्कै आम्दानी गरेको भन्दै उनले पर्यटन क्षेत्रको विकासका लागि हात्तीको धेरै महत्त्व पनि छ । विस्थापित हुन लागेका हात्तीलाई राज्यले संरक्षण गर्न उनले आग्रह गर्दै हात्ती कुनै एउटा देशको मात्र नहुने स्पष्ट पार्नुभयो । ‘हात्तीसँग न त नागरिकता हुन्छ, नत रासन कार्ड यस कारण यी हात्ती कुनै एउटा देशका हुँदैनन् ’उनले भने ‘अहिले अहिले जति हात्ती यो नाका भएर आउँछन् ती सबै नेपालका हात्ती हुन् । मानिस कमाउन विदेश गएझैँ हाम्रा हात्ती पनि आसाम गएका हुन् बेलाबेला घर फर्किएका हुन् ।’
बाटोको व्यवस्थापन गरेर करीडोर निर्माणका लागि आग्रह गर्दै मुख्यमन्त्री कार्कीले आगामी माघदेखि झापाको बाुहनडाँगीदेखि उदयपुरको जोगीदहसम्म पैदल मार्फत हात्तीको वासस्थान, हात्ती हिँड्ने बाटो, हात्तीले बीचमा खाना खाने ठाउँ हेर्ने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने भन्ने विषयमा अध्ययन गर्न एउटा टोली हिँड्ने र त्यसको नेतृत्व आफै (मुख्यमन्त्री)ले गर्ने समेत बताए ।


जेठको अन्तिमतिर असारको पहिलो सातातिर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार, सामुदायिक वन, विद्यालय, क्याम्पससहित सबैखाले शैक्षिक संस्थालगायत अन्य सङ्घसंस्था मिलेर कोशी प्रदेशका सबै जिल्लामा एकै पटक विभिन्न जातका फलफूल रोप्ने अभियान सुरु गरिने र ती फलफूल जथाभाबी टिप्न नपाइने तथा टिपेमा तत्काल सुरक्षाकर्मी, वन, समुदायले पक्राउ गर्ने बताए ।
सोही क्रममा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले हात्ती संरक्षण, मानव—हात्ती द्वन्द्व न्यूनीकरण एवम् मानव हात्ती सहअस्तित्व सम्बन्धमा तयार पारिएको प्रतिवेदन मुख्यमन्त्री कार्कीलाई हस्तान्तरण गरिन् । मुख्यमन्त्रीसहित कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले बाहुनडाँगीबासीसँग प्रत्यक्ष भलाकुसारी गरे । बाहुनडाँगी सामुदायिक भवनमा आयोजित तीन दिने चित्रकला प्रदर्शनी कार्यक्रमको समापनका अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले शिक्षालाई कक्षा कोठा र किताबको पाना भित्र मात्रै सीमित राख्न नहुने बताए ।


मुख्यमन्त्री कार्कीले पढाइसँगै विद्यार्थीलाई रुचि र क्षमताको आधारमा अतिरिक्त क्रियाकलापमा पनि जोड्न आवश्यक औँल्याए । ‘विद्यार्थी भविष्यको कर्णदार हुन् । उनीहरूलाई पढाइसँगै आफ्नो क्षमता र रुचि अनुरूप चित्रकला, खेलकुद, गायन, नृत्य, कला, साहित्यलगायत अन्य क्षेत्रमा समेत उत्प्रेरित गर्नुपर्छ ।’ मुख्यमन्त्री कार्कीले भने । एटु आर्टको आयोजना तथा मेचीनगर नगरपालिका वडा नं ४ र आदर्श युवा परिवारको सहयोगमा सञ्चालन भएको चित्रकला प्रदर्शनीमा मेचीनगर क्षेत्रका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालन मेचीनगर ४ का वडासदस्य पवन बराइलीले गरेका थिए ।



























































Discussion about this post