हेटौडा: बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले प्लास्टिक र बहुराष्ट्रिय उत्पादनको नियन्त्रण गर्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए। हेटौडा उपमहानगरपालिका-२ मा सोमबारदेखि सुरु भएको तीन दिने ‘कृषि वन उद्यम सहकारी प्रवर्द्धन तालिम’ कार्यक्रममा बोल्दै यो जानकारी गराएका हुन्।
स्थानीय उत्पादनलाई प्रोत्साहन र आयात प्रतिस्थापनमा जोड दिँदै उनले भने, “हाम्रो धेरै पैसा बाहिर जान्छ, त्यसलाई रोक्न राज्यले जनताको आयस्रोत बढाउनेतर्फ केन्द्रित हुनुपर्छ।” उनले हामी वन मन्त्रालय र उद्योग मन्त्रालयसँग समन्वय गरेर कानून संशोधनको पहल थाल्ने समेत बताए ।
श्रेष्ठले यस तालिमलाई स्थानीय उद्यमशीलता र अर्थतन्त्र उन्नयनका लागि महत्वपूर्ण अवसरका रूपमा टिप्पणी समेत गरेका छन्। “तालिमले स्थानीय उद्यमीहरूलाई कृषि र वनसँग जोड्दै लघु र घरेलु उद्योगलाई सबल बनाउनेछ”, उनले भने। उनले यस तालिमले लघु उद्यम र स्थानीय उत्पादनको सम्भावनालाई उजागर गरेको समेत बताए।


नेपालका उद्योगहरूको स्थिति र सुधारका आवश्यकता
श्रेष्ठले नेपालमा ४ लाखभन्दा बढी उद्योग दर्ता भए पनि तिनको स्थिति दयनीय रहेको र राज्यको कुल ग्राह्स्त उत्पादनसँग जोड्न नसकिएको उल्लेख गरे। “उद्यम र सरकार जोडिनुपर्छ, त्यसका लागि स्थानीय सरकारले पहल गर्नुपर्छ,” उनले भने।
वनपैदावार र कानून संशोधनको आवश्यकता
पंचायती व्यवस्थामा बनेका ‘अति संरक्षणमुखी कानून’ले वनपैदावारको उपयोगमा अवरोध पुर्याइरहेको समेत बताए । “संघीय राजधानी रहेको हेटौडा उपमहानगरपालिकाका वडा नं, १०, १३ र १४ सहित मनोहरी गाउँपालिकाका मध्यवर्ती क्षेत्रका जनताहरू समस्यामा परिरहेका छन्”, उनले अगाडी भने, “तिनलाई संशोधन गर्दै नागरिक उपार्जनलाई प्रोत्साहन गर्ने वन नीति लिनुपर्दछ।


सहकारी मार्फत लघु उद्यमको प्रोत्साहन
उनले लघु उद्यमीहरूलाई सहकारी मार्फत बजारमा पहुँच उपलब्ध गराउनुपर्ने आवश्यकता औल्याए। “एक डोको उत्पादन बजार पुर्याएर नाफा हुँदैन, तर सहकारी मार्फत संकलन गरेर बजारमा पुर्याउँदा खर्च, समय, र आर्थिक रूपमा बलियो हुन सकिन्छ,” उनले बताए।


स्थानीय बाँस उत्पादनको उपयोग र बजार व्यवस्थापन
श्रेष्ठले बाह्य बजारबाट बाँसका सामग्री आयात भइरहेका बेला स्वदेशी बाँस उत्पादन र यसको प्रयोगमा तीनै तहका सरकारहरू केन्द्रित हुनुपर्ने बताए। “स्थानीय सरकारको अगुवाइमा प्रदेश र संघीय सरकारले बजार र न्यूनतम मूल्यको निर्धारण गरेर उद्यमीहरूको विश्वास जित्नुपर्छ,” उनले भने। उनले हेटौडा उपमहानगरपालिकालाई ‘बाँस गाउँ’का रूपमा अगाडी बढाउने कार्यमा छलफल भइरहेको समेत बताए।
आर्थिक समृद्धिको दिशामा सहकारीहरूको भूमिका
सीप र ज्ञान हस्तान्तरणमा कमीका कारण बेरोजगारी देखिएको बताउँदै उनले सहकारीले साना उद्यमहरूलाई व्यवस्थित गर्न सक्ने र स्थानीय उत्पादनलाई व्यवसायिक दिशामा लैजान सक्ने धारणा व्यक्त गरे। “हामीले उद्यमीहरूलाई बजारसम्म जोड्न र स्थानीय उत्पादनलाई व्यावसायिक दिशा दिनतर्फ अगाडि बढ्नुपर्छ,” उनले जोड दिए।
कार्यक्रमको अध्यक्षता ग्रीन फाउन्डेशन नेपालका सुरेश कुमार रावतले गरेका थिए भने श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। कार्यक्रमकी विशिष्ट अतिथि बागमती प्रदेशकी प्रदेशसभा सदस्य भारति पाठक रहेकी थिइन्। यसैगरि, मकवानपुर फेकोफनका सदस्य झलक भुजेल, ग्रिन फाउन्डेशन मकवानपुर शाखाका कोषाध्यक्ष मुकेश प्रसाद कुशवाहा, वडा नं. १३ का अध्यक्ष पेम्बा लामा, वडा नं. १४ का अध्यक्ष दीपक खड्का, र वडा नं. १० का अध्यक्ष फुर्वा दोर्जे लामाले समेत कार्यक्रममा आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन फाउन्डेशनका अर्विन पौडेलले गरेका थिए। कार्यक्रममा मकवानपुरका सामुदायिक वन उपभोक्ता समिति तथा कृषि क्षेत्रका व्यक्ति हरूको उपस्थिति रहेको थियो।































































Discussion about this post