हेटौडा : हेटौडालाई ‘‘बाँस गाउँ’का रूपमा विकास गर्ने योजना अघि बढाइएको छ। बागमती प्रदेशकी प्रदेशसभा सदस्य भारती पाठकले हेटौडा उपमहानगरपालिका–२ मा सोमबारदेखि सुरु भएको ‘कृषि वन उद्यम सहकारी प्रवर्द्धन तालिम’ कार्यक्रममा बोल्दै यो जानकारी गराएकी हुन्।
नेकपा एमालेको वन तथा वातावरण विभाग प्रमुख समेत रहेकी पाठकले उपमहानगरपालिकामा सम्भावित स्थानको पहिचान गरी ७०० हेक्टर क्षेत्रमा बाँस रोप्ने योजना रहेको बताइन्। “यस कार्यक्रमले हेटौडाका २०० घरधुरीलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउन सक्छ,” उनले भनिन्। स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको सहकार्यमा यो योजना अघि बढाउन छलफल जारी रहेको उनले जानकारी दिइन्।


पाठककाअनुसार, बाँसका विभिन्न प्रकार, उपयुक्त स्थानको पहिचान, र सहकारी संस्थासँग सहकार्य गर्दै पाइलट प्रोजेक्ट सुरु गर्ने तयारी भइरहेको छ। “बाँस उत्पादनले स्थानीय रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धिमा टेवा पुर्याउन सक्ने सम्भावना छ,” उनले भनिन्।
यस तालिमले बाँसको उत्पादन, सहकारीको भूमिका, र सामुदायिक वनको दिगो उपयोगका विषयमा व्यावहारिक ज्ञान र समाधानका उपायहरू छलफल गर्ने उद्देश्य समेत राखेको उनले बताइन्।


सहकार्यद्वारा आर्थिक समृद्धि
सामुदायिक वन उपभोक्ता महासंघकी निवर्तमान अध्यक्ष समेत रहेकी पाठकले कृषि र वन उद्यमलाई सहकार्यमा ल्याएर सहकारी मार्फत थप प्रवर्द्धन गर्न सकिने धारणा व्यक्त गरिन्। “मकवानपुरमा सुरु भएका साना र लघु उद्यमहरूलाई कृषि र वनसँग जोडेर आर्थिक समृद्धिको ढोका खोल्न सकिन्छ,” उनले अगाडी भनिन्, “उदाहरणका रूपमा, बाँस उत्पादनलाई स्थानीय तहले प्राथमिकता दिएर काम गरेमा दिगो विकास सम्भव हुन्छ।”
उनले कृषि, वन र सहकारी बीचको सहकार्यले स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन थप बल दिने धारणा व्यक्त गरिन्। “यो तालिमको मुख्य उद्देश्य भनेको स्थानीय स्रोत र साधनलाई उपयोग गर्दै आयमूलक उद्यमको विकास गर्नु हो,” उनले थप भनिन्।
कार्यक्रममा, पाठकले कृषि र वनको महत्त्वलाई समेट्दै सहकारी र सामुदायिक वनको सहकार्यलाई मूर्तरूप दिने विश्वास व्यक्त गरिन्। उनले भनिन्, “स्थानीय रूपमा उत्पादनलाई प्रवर्द्धन गर्न सकेमात्रै समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न सकिन्छ।”


पाठकले महिला, आदिवासी, दलित र जनजातिहरूको आर्थिक सशक्तिकरणका लागि वनबाट प्राप्त वस्तुहरूलाई उपयोग गर्दै हस्तकला, तितेपाती साबुन, बेसार उत्पादनजस्ता उद्यमहरूलाई रूपान्तरण गर्नुपर्ने जोड दिइन्। “यसरी उत्पादनलाई उद्यममा परिणत गर्दा सामाजिक र आर्थिक समृद्धि ल्याउन सकिन्छ,” उनले भनिन्।
कार्यक्रमको अध्यक्षता ग्रीन फाउन्डेशन नेपालका सुरेश कुमार रावतले गरेका थिए भने बागमती प्रदेशको उद्योग, पर्यटन तथा वन समितिका सभापति आनन्द कुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। कार्यक्रमकी विशिष्ट अतिथि पाठक रहेकी थिइन्। यसैगरि, मकवानपुर फेकोफनका सदस्य झलक भुजेल, ग्रिन फाउन्डेशन मकवानपुर शाखाका कोषाध्यक्ष मुकेश प्रसाद कुशवाहा, वडा नं. १३ का अध्यक्ष पेम्बा लामा, वडा नं. १४ का अध्यक्ष दीपक खड्का, र वडा नं. १० का अध्यक्ष फुर्वा दोर्जे लामाले समेत कार्यक्रममा आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन फाउन्डेशनका अर्विन पौडेलले गरेका थिए। कार्यक्रममा मकवानपुरका सामुदायिक वन उपभोक्ता समिति तथा कृषि क्षेत्रका व्यक्ति हरूको उपस्थिति रहेको थियो।





























































Discussion about this post