काठमाडौं, वैशाख ११ – सन् २०१५ को विनाशकारी गोर्खा भूकम्पको दसौँ वार्षिकोत्सवको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) को नेतृत्वमा विभिन्न पेशागत संघ–संस्थाहरूको संयोजनमा “भूकम्प नबिर्सौं याली” आयोजना गरिने भएको छ।
‘भूकम्प नबिर्सौं याली’ (Forget Not Earthquake Rally) मार्फत जनस्तरमा अझै कायम रहेको भूकम्पको जोखिमबारे स्मरण गराउँदै विपद्–पूर्व तयारी, जोखिम न्यूनीकरण र दिगो पुनर्निर्माणमा इन्जिनियर तथा प्राविधिक समुदायको भूमिकालाई उजागर गरिने आयोजकहरूले जनाएका छन्।
नेपाल इन्जिनियर्स एसोसिएसन (NEA), नेपालिज आर्किटेक्ट्स सोसाइटी (SONA), स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल (SEANep) र नेपाल जियोटेक्निकल सोसाइटी (NGS) लगायतका संघसंस्थाहरूको संयुक्त आयोजनामा र्याली सञ्चालन गरिनेछ।
र्यालीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA), शहरी विकास तथा भवन निर्माण विभाग (DUDBC-CLPIU), ललितपुर महानगरपालिका, इन्जिनियरिङ अध्ययन संस्थान (IOE), राष्ट्रिय भूकम्प प्रविधि समाज (NSET), नेपालका इन्जिनियरिङ कलेजहरूको संघ (AECON) लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको समन्वय रहनेछ।
मुख्य उद्देश्यहरू
- गोर्खा भूकम्पपछिको आपत्कालीन प्रतिक्रिया र निजी ग्रामीण आवास पुनर्निर्माणमा इन्जिनियरहरूद्वारा पुर्याइएको योगदानको सम्मान
- भूकम्पीय जोखिम न्यूनीकरण र आपत् तयारीमा अझ सशक्त जिम्मेवारी र प्रतिबद्धता दोहोर्याउने
- विगतका सफलताहरू, कमजोरीहरू, नीतिगत सुधारका उपलब्धिहरूको पुनरावलोकन
- जोखिम–सचेत पूर्वाधार विकास र सहकार्यमा आधारित नीति निर्माणको पक्षमा वकालत
र्यालीमा स्कुल र कलेजका विद्यार्थी, स्थानीय निकाय, महिला समूह, आमा समूह, खेलकुद क्लब, व्यापारी संघ, उद्योगी–व्यवसायी, सामाजिक तथा सांस्कृतिक संघसंस्थाहरूको पनि सहभागिता रहनेछ।
आयोजकहरूले देशका सबै पालिकाहरूमा ‘भूकम्प नबिर्सौं र्याली’ जस्ता चेतनामूलक कार्यक्रम आयोजना गर्न आह्वान गरेका छन्, जसले जनस्तरमा दीर्घकालीन जोखिमप्रति सचेतना बढाउने विश्वास समेत लिएका छन्।
कार्यक्रमबारे जानकारीः
भूकम्प नबिर्सौं प्रभातफेरी कार्यक्रम
मिति: २०८२ बैशाख १२ गते, शुक्रबार
समय: बिहान ७:३० बजे
स्थान: इन्जिनियर भवन, पुल्चोक, ललितपुर
नोट:
प्रभातफेरी कार्यक्रममा सहभागिहरूलाई ने.इ.ए.ले तयार गरेको टि–सर्ट वितरण गरिनेछ । गुगल फर्म भरेका सहभागीलाई प्राथमिकता दिइनेछ ।
सहभागिताको लागि गुगल फर्मः https://shorturl.at/RdlFa



























































Discussion about this post