दार्चुलाका पर्यटन अभियन्ता हिमालय भट्ट (फेरुवा) सुदूरपश्चिमका विभिन्न क्षेत्रहरू डुलिरहेका हुन्छन् र बरोबर आफ्ना क्यामरामा नभनिएका, नदेखिएका र प्रचारप्रसारदेखि निकै दूर रहेका सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूलाई वृहत् चासोमा ल्याइरहेको हुन्छन् । सुदूरपश्चिममा पर्यटन संस्कृतिको अझै विकास हुन नसकेको लाग्छ उनलाई । घुम्नु भनेको तीर्थ जानु मात्रै हो भन्ने मान्यतालाई चिर्ने प्रयत्नमा छन् उनी ।
बडीमालिका लाई वृहत् चासो र प्रचारप्रसारमा ल्याई ख्याति कमाएका फेरुवालाई हालसालै बाजुराको बडीमालिका नगरपालिकाले पालिकाको पर्यटन दूतको रूपमा समेत नियुक्त गरेको छ । यस बापत मार्तडी पुग्दा त्यहाँ खान बस्न र बडीमालिका क्षेत्र आउजाउ गरेबापतको खर्च पालिका व्यहोरिदिन्छ, त्यसबाहेक अन्य सहयोग उनले लिएका छैनन् । पर्यटन दूतको रूपमा नियुक्त भइसकेपश्चात् पनि उनी बडीमालिका क्षेत्रको सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार कार्यमै क्रियाशील छन् ।
“भदौपछि यस क्षेत्रमा गोठहरू नपाइने हुँदा टेन्ट आफैँले बोक्नुपर्छ, खानेकुरा प्रबन्ध आफैँले मिलाउनुपर्छ । कार्त्तिकपछि वैशाखसम्म हिउँ पर्छ, त्यसबेला जान सकिँदैन । स्थानीयहरू पनि जाँदैनन्”, फेरुवा भन्छन् ।


फेरुवा सर्वप्रथम २०७५ सालको वैशाखमा बाजुरा सदरमुकाम मार्तडी भएर बडीमालिका क्षेत्र पुगेका थिए । उनी पुग्दा पनि सोता सोतापाटनदेखि नै हिउँ थियो तर बस्नका लागि गोठहरू थिएनन् । उनले मार्तडीमै स्थानीयहरूको सहयोग पनि खोजेका हुन्, तर हतपत कोही जान तयार भएनन् । पछि उनले स्थानीय नरबहादुर रावललाई पथप्रदर्शक एवं भरियाको रूपमा लिएर गए । त्यसबापत रावललाई उनले ५ हजार रुपैयाँ दिए ।
भरिया ज्याला यतिबेला १५ देखि २२ हजारसम्म पुगेको छ । स्थानीयलाई फकाउन सक्नेले ७ हजारसम्म पनि लिएर गइरहेका छन् । यहाँ कुनै फिक्स रेट छैन । जसले जति सक्यो, उति लिइरहेको छ । बडीमालिका क्षेत्र भ्रमण गर्दा भरियाको खर्च छुट्याउन नै फेरुवा सुझाव दिन्छन्, “खान-बस्नको व्यवस्था आफैँले गर्नुपर्ने पर्दा झोला स्वभावतः गह्रौँ हुन्छ । भरिया खोज्नैपर्छ । भरियाले कति लिन्छ भन्ने ठ्याक्कै थाहा हुन्न”, उनी भन्छन् । फेरुवा भरियाको रेट संयोजन गर्नु अत्यावश्यक भइसकेको, अन्यथा बडीमालिका जान चाहने पर्यटकहरू ठगिने सम्भावना बढेको बताउँछन् ।


उनी कहिँकतै भेटिने गोठहरूमा पनि वृद्ध (५०/५५ वर्ष) गोठालाहरू बस्ने हुँदा पर्यटकले पैसा तिरेअनुरूप सन्तुष्ट हुन् नसक्ने बताउँछन् । “भरियाहरूलाई पनि अन्यत्रजस्तो पर्यटकसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने थाहा छैन । उनीहरूमा पर्यटकीय सचेतना वृद्धि गर्ने कि खर्कबास वा गोठस्टेको प्रबन्ध गर्ने भनेर हामी क्लियर हुने बेला भइसकेको छ । हामीले पोहोरदेखि नै गोठस्टे सञ्चालन गर्ने भनेका थियौँ, जो यस वर्ष पनि सम्भव हुन् सकेन”, उनले भने ।
फेरुवा हरेक कुरा पालिका वा सरकारले गर्नुपर्छ किनकि उनीहरूसँग बजेट छ भन्ने भावना वृद्धि हुँदा पनि स्थानीयहरूले मीतव्यीतता एवं अतिथि देवो भव:को संस्कार बिर्सँदै गएको बताउँछन् । “आवश्यक पर्यटक पूर्वाधार निर्माण र स्थानीयलाई पर्यटन व्यवसायप्रति जागरूक बनाउने काम सँगसँगै गर्नुपर्ने समय आइसकेको बताउँछन्”, उनी भन्छन् ।
पूर्वी ब्लुज (सचिन न्यौपाने), घुमन्ते (हेमन्त राई), वाइल्ड बाजुरा (मनोज रेग्मी) लगायतका साथीहरूको सहयोगका कारण बडीमालिका प्रचारप्रसारमा सहयोग पुगिरहेको उनी बताउँछन् । “पोहोर साल मात्रै ३,५०० बडी पर्यटक बडीमालिका आए । यसपालि त्यसको दोब्बर भयो भन्ने अनुमान छ । पोहोर एक भरिया (स्थानीय नरबहादुर रावल) ले डेढ लाखसम्म कमाएका थिए । यसरी हेर्दा बडीमालिकाको व्यवस्थापन नै अबको आवश्यकता हो । प्रचारप्रसार पुगेको छ ।” उनी अगाडि भन्छन्, “बडीमालिकाको प्रचारको कमी छैन, व्यवस्थापनको कमी छ । जति आउनुपर्ने हो त्यो भन्दा बढी आइरहेका छन् ।”
फेरुवाले मार्तडी बजारमै १५ हजार लिएर मार्तडी-बडीमालिका (दुवैतर्फी) भ्रमण गराउने व्यक्तिहरू देखिन थालेको बताउँछन् । “उहाँहरूमार्फत पनि बडीमालिका घुम्न चाहनेलाई सहयोग पुग्नेछ”, उनले भने । उनले धनगढी पुगेर नाटासँग बडीमालिकाको पर्यटन प्रवर्धनका लागि कुरा पनि गरेका थिए तर उनीहरूले मान्छे ल्याए पनि कसरी बसाउने भनेर चिन्ता व्यक्त गरिरहेको पाए । आजभोली उनलाई विभिन्न ट्राभल कम्पनिहरूले फोन गरेर बडीमालिकामा मान्छे ल्याउन सकिन्छ कि सकिँदैन भनिरहेका हुन्छन् । उनी सबैलाई ‘सकिन्छ, आउनुहोस्’ भनिरहेका हुन्छन् ।


फेरुवा सोता पाटन र भित्तिचिन्नामा खर्कस्टे राख्ने कुरालाई कार्यन्वयन गर्न सुझाव समेत दिन्छन् । “यसो गर्न सकियो भएन ट्राभल एजेन्सी एवं नाटाको चिन्ता वा डर कम हुन्थ्यो होला”, उनी भन्छन् । “टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट (प्रमुख: मदन कुमार) खर्क स्टेका लागि इच्छुक छौँ भनेका छन् । अर्को वर्ष स्टेमा जोड दिने विचारमा छौँ”, उनले भने ।
बडीमालिका क्षेत्रमा विदेशी पनि नआएका होइनन् । पोहोर मात्रै उनकै नेतृत्वमा ४ जना (१ जना जापानी, ३ जना जर्मनी) विदेशी बडीमालिका -अपि सिपाल बेस क्याम्प पुगेका थिए । “बडीमालिका भन्दा अपि बेस क्याम्प- सिपालतिर विदेशीहरू बढी इच्छुक छन् किनभने त्यहाँ राम्रा होटलहरू छन् । पर्यटनमा सेवासुविधाले ठुलो महत्त्व राख्दोरहेछ”, उनले भने ।
फेरुवा त्रिवेणी क्षेत्रमा रहेको सीमा विवाद सुल्झ्नुपर्ने बताउँछन् । “त्रिवेणी खोला पारि कालिकोटले भोगचलन गरिरहेको छ, त्यस क्षेत्रलाई बाजुराले आफ्नो हो भन्छ । म्यापमा पनि बाजुराकै देखिन्छ । यो दुई प्रदेशबीचको कुरा पनि भयो । यसले यस क्षेत्रको व्यवस्थापनमा समस्या ल्याइरहेको छ’, उनले भने ।
कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामार्फत कालिकोट वन डिभिजन कार्यालय कालिकोटमार्फत ‘त्रिवेणी बडीमालिका पूर्वाधार विकास आयोजना (कुल लागत ५ करोड १ लाख)’ सन्चालित आयोजनाका कारण यहाँ दुई प्रदेशबीच विवाद चर्किएको छ ।
(राजु झल्लु प्रसादसँगको कुराकानीमा आधिरित)




























































Discussion about this post