ढोरपाटन– समथर मैदानको चारैतिर सल्लाका रुखले घेरिएको हरियाली घाँस र बुट्यानले टाकुराको सौन्दर्यमा चमक थपिएको छ। हिउँद र बर्खामा निकै आकर्षक देखिने टाकुरा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
खासगरी यो याममा धेरैलाई शीतलता प्रदान गर्ने छहारी बनेका छन् टाकुरा। बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारभन्दा केहीमाथि यो टाकुरा पर्छ। टाकुरा उच्च पहाडको शिरमा समथर भूभागमा फैलिएको छ। तलपट्टी गाउँबस्ती छन्, त्यसभन्दा माथि बस्ती छैनन्। पर्यटकीयस्थल नरसिंहकोटको सामिप्यमा रहेको टाकुरा यसकारण पनि पछिल्लो समय एक आकर्षक गन्तव्य बन्दै गएको छ।
जिल्लाको निसीखोला गाउँपालिका-७ राजकुटमा पर्ने टाकुरामा चैतदेखि नै आन्तरिक पर्यटकको आगामन हुने गर्छ। निसीखोला र बडिगाड गाउँपालिकाको संगमस्थलमा पर्ने यो एक खुला चौर हो। पहिले पशु चौपाया चरन क्षेत्रका रूपमा रहेको टाकुरा अहिले घुमफिर गर्ने उत्कृष्ट गन्तव्यका रूपमा विकास भएको छ। वरपर रुख र बीचमा खाली समथर मैदान छ। यो मैदानले धेरैलाई आकर्षित गर्छ। अझ वर्षातका बेलामा त झन् त्यस वरपरको हरियाली वातावरणले मनै लोभ्याउँछ।
ऐतिहासिक क्षेत्र नरसिंहकोटसँग जोडिएको टाकुरा पिकनिकका लागि निकै उपयुक्त स्थान मानिन्छ। आन्तरिक पर्यटक यहाँ हरेक मौसममा पुग्ने गरेका छन्। शनिबार तथा बिदाको समयमा व्यापारी र अन्य नागरिक यहाँ घुम्न जाने गरेका छन्।
नरसिंहकोटदेखि करिब एक किलोमिटर र बडिगाडको भीमगिठे बजारदेखि करिब तीन किलोमिटरको दूरीमा रहेको टाकुरामा बागलुङलगायत गुल्मीदेखि पनि आन्तरिक पर्यटक रमाउन आउने गरेका छन्। तराई-पहाड जोड्ने राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी-ढोरपाटन सडकको नजिकै पर्ने यो टाकुरा पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेपछि स्थानीय बासिन्दा हर्षित छन्। भीमगिठे, राजकुट र बुर्तिबाङदेखि यहाँ सीधै पुग्न सकिन्छ। यहाँसम्म पुग्ने मोटरबाटो त निर्माण भएको छैन। तर गोरेटो बाटोमार्फत नै पदैलयात्रा गरेर पर्यटक यहाँ पुग्ने गरेका छन्।
अझ ‘ट्रेकिङ’ गर्नेका लागि त झन् यो स्थान अति उपयुक्त मानिन्छ। विगतका वर्षभन्दा पछिल्लो दुई वर्षयता यहाँ घुम्न आउनेको संख्या बढेको स्थानीय तिलबहादुर विकले जानकारी दिए। अहिले नरसिंहकोट आउने सडक सहज भएको र यहाँ आउने अधिकांश आगन्तुक टाकुरा पुग्ने गरेको उनको भनाइ छ। बर्खाको समय पनि मान्छे हरियाली घाँसमा फोटो, भिडियो खिच्न र रमाइलो गर्न आउने गरेको विक बताउँछन्।
नरसिंहकोटदेखि टाकुरालाई सडक सञ्जालले जोड्न सके बढीभन्दा बढी पर्यकट भित्र्याउन सकिने विकको भनाइ छ। ‘पहिले यो ठाउँमा गाईभैंसी चराउने गरिन्थ्यो, अहिले त मान्छेको भीड लाग्छ, अझ चाडपर्व र बिदाको दिन हुनुपर्छ, धेरै मान्छे आउने, गीत बजाउने नाच्ने गर्छन्,’ उनी भन्छन्, ‘अहिलेसम्म मोटरबाटो पुगेको छैन, तर मान्छेहरू हिँडेरै जान्छन्। पहिले नरसिंहकोट आउने यहीबाटै फर्किने गर्थे, टाकुराको नामै सुनिँदैनथ्यो। अहिले निकै चर्चित बन्यो, जसले पनि टाकुरा जाने भन्छन्, चाडबाडका बेला त तीन-चार सय मान्छे आउँछन्।’
निसीखोला गाउँपालिकाले ऐतिहासिक नरसिंहकोटसँग टाकुरालाई जोड्न सके पर्यटन विकासमा टेवा पुग्ने थियो। टाकुराबाट देखिने अनगिन्ती दृश्यले आगन्तुकलाई लोभ्याउँछन्। यसको विकासका लागि सडकसँगै पर्यटन पूर्वाधार निर्माण गरिने निसीखोला-७ का वडाध्यक्ष दीपक कुवँरले बताए। ऐतिहासिक नरसिंहकोटमा धेरै भौतिक संरचना निर्माण भएको छ। नरसिंहकोट र टाकुरालाई जोडेर पर्यटकीय हबका रूपमा विकास गर्ने उनले बताए।
‘पछिल्लो समय नरसिंहकोट र टाकुरामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ, नरसिंहकोटमा विगतदेखिनै धेरै संरचना बन्दै आए, अब करिब-करिब पूरा हुने चरणमा छ। टाकुरामा अहिले कुनै पनि पूर्वाधार निर्माण भएका छैनन्, संरचना नबन्दा पनि नरसिंहकोट आउने पर्यटक टाकुरासम्म पुग्ने गरेका छन्। त्यहाँ जाने मोटरबाटो निर्माण भएको छैन, सडक सजिलो भयो भने अझ धेरै पर्यटक भित्र्याउनसकिन्छ,’ कुवँरले भभने। यसपालि प्रदेश सरकारसँग बजेट माग गरिएको तथा केही बजेट प्रदेशको र पालिकाबाट मिलाएर सडक निर्माण गरिने उनले बताए।
सडक निर्माण गर्दा टाकुराको सौन्दर्य कुरूप बन्ने हुँदा व्यवस्थित रूपमा काम गर्ने अध्यक्ष कुँवरको भनाइ छ। आवश्यक ठाउँमा पदमार्ग, शौचालय र खानेपानीको व्यवस्थापन गर्न बाँकी रहेको हुँदा विभिन्न निकायसँग सहकार्य गरेर काम गर्ने उनी बताउँछन्।




























































Discussion about this post