गण्डकीः “नाम हो यिनको सेती सेतै छ यिनको जल ।
नेपाली जनता राख्छन् कामले नाम गौरव ।।
दूधकी विश्वमा यौटी नदीको सिर्जना गरी ।
पाए आशिक ब्रम्हाले बाँची राख्ने जुगौँभरि ।।”
शुक्लागण्डकी (सेती गण्डकी) को महिमा गान गरिएको कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्मक काव्य प्राकृत पोखराको ‘शुक्लागण्डकी’ शीर्षकको कविताको पङ्क्ति हो यो । जनजिब्रोमा सेती नदीका रुपमा रहेको यस जलाशयलाई पूर्वीय धर्मशास्त्रमा पवित्र तीर्थस्थलका रुपमा लिने गरिएको छ । शुक्ला गण्डकी नदी र यससँग जोडिएका सभ्यतासँग नदी किनाराका विभिन्न धामहरूको चर्चा पनि उत्तिकै महत्त्वपूर्ण छ ।
तीनै धामहरूमध्येको एक हो शुक्लागण्डकी किनारको मुक्तिनाथ च्यवनधाम । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीको नजिकै रहेको मुक्तिनाथ च्यवनधाम विगत एक दशकयता यस क्षेत्रकै महत्त्वपूर्ण धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास हुँदै गएको छ । स्थानीयवासीको सक्रियतासँगै स्थानीय तथा प्रदेश सरकारको समेत प्राथमिकता परेसँगै यो धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको हो ।
वर्षौंदेखि सेती नदीले कटान गरेको भूगोल र ढुङ्गाका कारण विगतमा हिँडडुल गर्दासमेत त्रसित हुनुपर्ने अवस्थामा स्थानीय सक्रियता, स्थानीय तह एवम् प्रदेशको सहयोगमा यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको हो । परापूर्वकालमा यसै स्थानमा च्यवन ऋषिले तपस्या गरेको विश्वासका आधारमा यस स्थललाई च्यवनधामका रुपमा विकास गर्न खोजिएको मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम विकास समितिका अध्यक्ष होमनाथ लम्सालले बताए ।
कालीगण्डकीको बगरैबगर भएर पुग्न सकिने हिमाल पारीको जिल्लास्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरकै स्वरुपमा यस स्थलको विकास गर्न लागिएको कारण पनि यसको महिमा र गरिमा अझै चुलिंदै गएको छ । मुक्तिनाथलाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा लिने गरिए जस्तै यस धामलाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा विकास गर्न खोजिएको छ ।
धामको जग्गा संरक्षणका लागि २०६५ सालदेखि नै स्थानीयवासीले सामूहिक सक्रियता देखाएका थिए । २०६७ सालमा ऋषिगुरु श्रीराम पौडेलले स्थानीयवासीसँग आफू मुक्तिनाथमा गएर ध्यानमा बस्दा उक्त स्थान तपोभूमिका रुपमा पाएको बताए। गुरुले ध्यानका क्रममा पाएको अनुभव, यहाँको वस्तुस्थिति आदिका कारण यस धाममा मन्दिर निर्माण गर्ने सोच बढेको र त्यसकै जगमा महायज्ञ गरिएको अध्यक्ष लम्सालले बताए । मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुटाउने लक्ष्यका साथ २०६७ चैत १० गतेदेखि १७ गतेसम्म महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञबाट एक करोड ४१ लाख रुपियाँ सङ्कलन भएको थियो । सङ्कलित रकमबाट शुक्लेश्वर महादेव मन्दिर, च्यवन गुम्बा, वृद्धाश्रमको भवन, मोक्षकुण्ड आदि पूर्वाधारहरू निर्माण गरिएको उनले बताए।
परिसरमा अहिले शुक्लेश्वर महादेवको मन्दिरसँगै बरपर सूर्य, विष्णु, दुर्गा र गणेशका मन्दिरहरू निर्माण गरिएको छ । यी मन्दिरहरूसँगै मुक्तिनाथकै अनुभूति हुने गरी एक सय आठ धारा र त्यस माथि निर्माण गरिएको अन्नपूर्ण हिमशृङ्खलाको दृश्य मनमोहक बनेको छ । हिम शृङ्खलासहित एक सय आठ धारालाई व्यवस्थित गर्नका लागि तीन वर्षअघि गण्डकी प्रदेश सरकारले २२ लाख रुपियाँ सहयोग गरेको अध्यक्ष लम्सालले जानकारी दिए ।
धाममा आउने दर्शनार्थीले एक सय आठ धाराको जलले स्नान गर्न पाउनुका साथै एक सय आठ पीपलको रुख, एक सय आठ शिवलिङ्गको दर्शन र परिक्रमा गर्न पाउने व्यवस्था मिलाइएको छ । पछिल्लो दशकमा तनहुँ र कास्की आसपासका स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थीहरू आउने गरेको समितिका सदस्य सन्तोष सापकोटाले जानकारी दिए। यस धाममा नयाँ वर्ष, साउने सोमबार, कृष्ण जन्माष्टमी, बाला चतुर्दशी, शिवरात्री लगायतका महत्त्वपूर्ण तिथि र पर्वमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको उनले बताए।
समितिले हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर जान चाहेर पनि विभिन्न कारणले नसकेका दर्शनार्थीलाई यही नै मुक्तिनाथको स्वरुपमा अनुभूति गर्ने गरी पूर्वाधार विकास गर्दै पूजाआजा गर्ने व्यवस्था मिलाएको सापकोटाले बताए। च्यवनधामस्थित शुक्लेश्वर महादेवको मन्दिरमा पूजाआजा गरेसँगै सन्तान नभएका दम्पतीलाई सन्तान प्राप्ति हुने जनविश्वास यहाँको अर्को विशिष्टता हो । सन्तान प्राप्ति नभएकालाई सन्तान प्राप्ति हुने र भएका सन्ततिलाई राम्रो हुने विश्वासका कारण पनि यहाँ टाढाटाढाबाट दर्शनार्थीहरू आउने गरेका छन् ।
धामकै संरक्षणमा गौ संरक्षण केन्द्र
मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामकै संरक्षणमा गौ संरक्षण केन्द्र सञ्चालनमा आएको छ । शुक्लागण्डकी नगरपालिका–९ भरेतरामा रहेको गौं संरक्षण केन्द्रको व्यवस्थापनको जिम्मा मुक्तिनाथ शुक्लागण्डकी धामले गर्न थालेको हो । यसअघि शुक्लागण्डकी नगरपालिका आफैँले सञ्चालन गरेको गौं संरक्षण केन्द्र सुधार गर्दै त्यसलाई थप व्यवस्थित बनाउने गरी धामले जिम्मेवारी लिएको अध्यक्ष लम्सालले जानकारी दिए। “गत चैत २२ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार अब गौ संरक्षण केन्द्र धामकै संरक्षणमा रहनेछ”, उनले भने, “हाल गौ संरक्षण केन्द्रमा १३७ वटा गाईको संरक्षण गरिँदै आइएको छ ।”
सेती नदी पारी घारीमा रहेको गौ संरक्षण केन्द्र र च्यवनधामलाई गोकुल र मथुराका रुपमा विकास गर्ने दीर्घकालीन सोचसँगै सेती नदीमाथि धार्मिक पुलको व्यवस्था गर्नका लागि पहल बढाइएको लम्सालले जानकारी दिए । यस अघिसम्म नगरपालिकाले पूर्णरुपमा व्यवस्थापनको जिम्मेवारी लिएको गौशालालाई थप व्यवस्थित गर्ने गरी अघि बढाइएको बताउँदै लम्सालले विभिन्न सहयोगी दाताबाट गाईहरूका लागि चोक्करलगायत खाद्यान्नहरू सहयोग आउने गरेको जानकारी दिए।
गाईहरूको संरक्षणका लागि नगरपालिकाबाट दुई जना कर्मचारीको व्यवस्था गरिएको छ । हिन्दू धर्ममा गाईलाई लक्ष्मीका रुपमा पूजाआजा गर्ने तथा प्रत्येक पूजाआजा, जन्म मृत्यु संस्कारमा गाईको दूध, दही, घिउ, गहुँत, गोबर अपरिहार्य मानिन्छ ।
धामलाई पदयात्रा पर्यटनसँग पनि जोडिँदै
तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग ९मिलेनियम ट्रेक० सँग च्यवन धामलाई जोडिने भएको छ । यस अघि यही नजिकैको रक गार्डेन पदमार्गको नक्सामा समावेश भएकोमा मिलेनियम ट्रेक व्यवस्थापन समितिले यस धामलाई यसपटक नक्सामा समावेश गर्न लागेको समितिका महासचिव हर्क गुरुङले बताए।
“च्यवनधामको धार्मिक तथा पर्यटकीय महत्त्वलाई मिलेनियम ट्रेकको पदयात्रासँग पनि जोड्ने हाम्रो लक्ष्य छ”, उनले भने, “दुलेगौँडाबाट सुरु हुने पदयात्रा च्यवन धामको दर्शन एवम् अवलोकनसँगै ‘रक गार्डेन’ सुरु गराउने योजना छ ।”
दुलेगौँडाबाट सुरु हुने मिलेनियम ट्रेकको कुल ७२ किलोमिटर दूरी पदयात्रा गरेर पूरै पार गर्न करिब एक साता लाग्छ । नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको यो पदमार्गमा जुनसुकै मौसम र जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने भएकोले स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बढिरहेको महासचिव गुरुङले जानकारी दिए।
च्यवनधामको धार्मिक महत्त्वलाई उजागर गर्न समितिको सक्रियतामा विभिन्न धार्मिक अनुष्ठानलाई पनि निरन्तरता दिँदै आइएको छ । दैनिक रुद्री, हवन आदि अनुष्ठानहरू सञ्चालन गरिँदै आएको धाममा प्रत्येक वर्ष साउन महिनामा शिव महिमा बोलबम महोत्सवलाई निरन्तरता दिँदै आइएको सदस्य सापकोटाले बताए।
यस वर्ष पनि साउन ८ गते सोमबारदेखि १५ गतेसम्म भागवत मञ्जरी राधिका दासीजी महाराजबाट शिवलीला झाँकीसहित शिवपुराण कथा प्रवचन गरिने भएको उनले बताए। महायज्ञमा सङ्कलित दान रकम मध्येको बचत रकमबाट शव दहन गृह, गुरुकुल निर्माण, सामाजिक भवन निर्माण आदिमा खर्च गरिने जनाइएको छ । बचतमध्येको ५० प्रतिशत रकम गौ संरक्षण केन्द्र सञ्चालनका लागि खर्च गरिने जनाइएको छ ।
भक्तजनका लागि धर्मशाला निर्माणको प्रयास
अध्यक्ष लम्सालका अनुसार धाममा आउने दर्शनार्थीहरूको सुविधालाई लक्षित गरी धर्मशाला निर्माण गर्ने सोच बढाइएको छ । धाम परिसरमा वृद्धाश्रम पनि सञ्चालनमा आएको छ । देशका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई आएर बस्नसक्ने तथा पकाएर खानसक्ने गरी पूर्वाधार निर्माण गर्ने लक्ष्य राखिएको हो ।
धाम परिसरमा हाल ३७ रोपनी जग्गा मन्दिरबाट नै भोगचलन भइरहेको जानकारी दिँदै उनले मन्दिर रहेको कित्तामा १६८ रोपनी रहेको र त्यसको संरक्षणलाई जोड दिइएको बताए । मन्दिर परिसरलाई सुरक्षित गर्नका लागि घेराबार गर्नु अपरिहार्य भएको उनको भनाइ छ । रासस




























































Discussion about this post