- राजु झल्लु प्रसाद
काठमाडौंः ‘नेपालमा सारस क्रेनको स्थिति (The Status of Sarus Crane in Nepal) नामक छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । डब्लुडब्लुएफ नेपालको सभाहलमा नेपाल जियोलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागले डब्लुडब्लुएफ नेपाल र इन्टरनेशनल क्रेन फाउन्डेसनको आर्थिक सहयोगमा सारसको वितरण, संख्या, वस्तुस्थितिबारे गरिएको अध्ययन सर्वेक्षण सार्वजनिक गरिएको हो ।


त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जूलोजी विभागको अध्यापक डा. हरि प्रसाद शर्मा, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जूलोजी विभागको अध्यापक, संरक्षण जीव वैज्ञानिक र केन्द्रीय जूलोजी विभागको सहायक प्रोफेसर डा. विष्णु प्रसाद भट्टराई, २०१० सालदेखि नेपालमा पक्षी र प्राणीहरूको संरक्षणमा सक्रिय शोधकर्ता डा. हेमबहादुर कटुवाल अध्ययन एवम् सर्वेक्षण कार्यमा संलग्न थिए । अध्ययन टोलीले सारस संरक्षणका लागि लुम्बिनीस्थित विद्यालयहरू एवम् जनसमुदायबीच अभिमुखीकरण कार्यक्रम समेत गरेका थिए ।


कटुवालका अनुसार, अध्ययनका क्रममा नेपालमा दुर्लभ श्रेणीमा रहेका ६९० वटा सारस क्रेन भेटिएका छन् । जसअन्तर्गत, ६५२ वटा वृहत लुम्बिनी क्षेत्र (कपिलवस्तुमा २ सय, रुपन्देहीमा ३८२, परासीमा ७०) मा भेटिएका हुन् भने बाँकेमा ३३ वटा र कन्चनपुरमा ५ वटा सारस भेटिएका छन् । ५ वटा संरक्षित क्षेत्र र १० वटा पक्षी र जैविक विविधता क्षेत्रमा व्यवस्थित सर्वेक्षण (Systematic survey) र अवसरवादी सर्वेक्षण (Opportunistic survey) गरिँदा यसप्रकारको नतिजा आएको हो ।
“यसअघि सारसको यकीन तथ्याङ्क थिएन । यद्यपि भएका अध्ययनका आधारमा ४०० देखि ७०० सारस होलान् भन्ने अनुमान थियो । त्यही भएर पनि एउटा बृहत् अध्ययन आवश्यक थियो”, कटुवालले भने । गत अप्रिल र मे महिना (प्रि-ब्रिडीङ सिजन) को बीचमा नेपालभर ११३ (बृहत् लुम्बिनी क्षेत्रमा मात्रै ९३), वटा क्षेत्रमा ५–५ किलोमिटर ग्रिडहरूमा टोलीले बृहत् व्यवस्थित सर्वेक्षण गरेको अनुसन्धानकर्ता कटुवालले बताए । “२८ जनाको १४ वटा टोलीले गरेको सर्वेक्षणका क्रममा कपिलवस्तुमा २ सय, रुपन्देहीमा ३८२ र परासीमा ७० वटा सारस भेटेका हौँ भने ४ वटा टोलीले बाँकेमा सर्वेक्षण गर्दा ३३ वटा वटा सारस क्रेन भेटेका हौँ”, उनले भने ।


अर्का अनुसन्धानकर्ता भट्टराईका अनुसार, विशेष गरेर सारस सर्वेक्षण विभिन्न ११ ठाउँहरू: कपिलवस्तुका जगदीशपुर कृत्रिम ताल र बझाहा ताल, रुपन्देहीका विष्णुपुरा, गैंडहवा ताल, खडैया इटा भट्टा, दुई मुहान, माझगाउँ, औरधौली पूर्व, बबई दुर्गा मन्दिर, आजमघाट, परासीको नन्दन ताल, बाँकेको भगवानपुर क्षेत्रमा गणना गरिएको हो ।


“चितवनदेखि कन्चनपुरसम्मका १० वटा जिल्ला (७० प्रतिशत चुरे क्षेत्र) मध्ये मुलभूत रूपमा ५ वटा जिल्लामा साइटिसले अनुसूची २ र आईयुसीएनको रातो किताबमा संवेदनशील सूचीमा राखेको सारस क्रेनको उपस्थिति पुष्टि गरेको छ”, उनले भने । कैलालीको पुरनिया ताल र बर्दिया तालमा सारस देखिने गरे पनि यस पटक भने भेटिएनन् । अन्य जिल्लामा पनि यो समयमा सारस नदेखिएको जनाइएको छ ।
अध्ययनका क्रममा ४०० भन्दा बढी स्थानीय बासिन्दासँग कुराकानी गर्दा सबैले सारसलाई चिनेको बताएका थिए । स्थानीय बासिन्दाले सारस खेतबारीमा आउनुलाई राम्रो सङ्केत मान्ने गरेको समेत अध्ययनले बताएको छ । “सारस भएको ठाउँमा धान हुने र धान हुनु राम्रो संकेत हो”, उनले भने ।
“सारस सिमसारमा बस्ने पन्छी हो भन्ने मान्यता थियो । तर, अहिले भएका अनुसन्धानले यसले सिमसारभन्दा बढी खेतबारीमा बच्चा कोरल्ने गरेको रहेछ”, उनले अगाडि भने, “नेपालको कुल क्षेत्रफलको लगभग साढे ४ प्रतिशत क्षेत्र (६,६५९ वर्ग किलोमिटर) सारसका लागि उपयुक्त रहेको भेटिएको छ ।”
भट्टराईका अनुसार, सारसको सङ्ख्या मात्र नभई यसको भौगोलिक वितरण र वासस्थानको संरक्षणका चुनौती पत्ता लगाउने तथा सारस र मानवबीचको सम्बन्ध र सारस संरक्षणका सम्बन्धमा स्थानीय बासिन्दाको धारणा बुझ्ने प्रयास अध्ययन टोलीले गरेको हो । गत अप्रिल र मे महिनाको बीचमा सो अध्ययन गरिएकाले अहिले मनसुनको समय (ब्रिडीङ सिजन) मा सारसको थप अध्ययन गर्नु आवश्यक रहेको समेत उनले बताए । “गर्मी र सुक्खा मौसममा गरिएको अध्ययनले निराश बनाउने त होइन भन्ने डर थियो, तर प्राप्त परिणामले हामी उत्साहित छौं,” भट्टराई भन्छन्, “सुक्खा मौसममा त यो संख्यामा सारस रहेको पत्ता लगाउन सक्यौं भने बर्खाको वेला त संख्या पक्कै बढ्छ ।”




यसैगरि, अर्का अध्ययनकर्ता शर्माका अनुसार, नेपालमा सारस अध्ययनको इतिहास सन् १८७७ देखि सुरु हुन्छ । “सन् १८७७ देखि सन् १९९० समयको एक शताब्दी लामो समयमा जम्मा १ दर्जन अध्ययन भएको पाइन्छ भने पछिल्लो ३३ वर्षमा सारसका सम्बन्धमा ३ दर्जन अध्ययनहरू भएका छन् । ९५ प्रतिशतभन्दा बढी अध्ययनहरू लुम्बिनी क्षेत्रमा मात्रै सिमित रहेका पाएका छौँ भने निकै सानो क्षेत्रलाई आधार मानि अध्ययन गरिएका रहेछन् ।”
“बितेको १२ वर्षको अवधिमा ४२ वटा सारस बिजुलको तारमा ठोक्किएर, करेन्ट लागेर मरेको पाइएको छ । जति पनि विद्युतीय प्रसारण लाइन छन् ती सबै खेतबारी हुँदै गएका छन् । विद्युतीय प्रसारण लाइनकै वरिपरि सारसको गुँड हुँदा जोखिम बढेको छ”, शर्माले बताए । उ नले नवनिर्माणले सारसको वासस्थान साँघुरिंदै गएको, गहुँ-धान काटिसकेपछि खेतमा आगो लगाउने चलनले पनि खेतमा सारसलाई आहारको कमी भएको, सिमसार क्षेत्रको अतिक्रमण र शहरीकरणले सारसलाई प्रभावित पारेको पाइएकाले यसतर्फ गम्भीर हुन् आवश्यक रहेको औंल्याए ।


यूएनडीपीका निदेशक मिस आय्शानी लेबे (Ayshanie Medagangoda-Labé)ले संयुक्त राष्ट्र संघले यसप्रकारका अनुसन्धानात्मक कामलाई समर्थन गर्ने बताइन् ।
“बुद्धको समयदेखि नै ‘राइट टू लाइफ’लाई अगाडि सारिएको छ, जसअन्तर्गत बुद्धले बचाएको सारस क्रेनको यसप्रकार अध्ययन हुनु खुसीको कुरा हो । ऐतिहासिक विरासत बोकेको वृहत लुम्बिनी क्षेत्रमा सारसको संख्या बलियो हुनुले लुम्बिनीप्रति राज्यलाई थप जिम्मेवार बनाएको छ । अनुसन्धानका लागि बढीभन्दा बढी रकाम खर्च गरिनुपर्नेमा हरेकपटक काटिएको पाइने गरिएको छ, यस प्रवृतिलाई रोक्नुपर्दछ किनभने अध्ययन-अनुसन्धान अनिवार्य शर्त हो ।”
उनले यस अध्ययन सम्पन्न गरेकोमा लुम्बिनी विकास कोष र डब्ल्यूडब्ल्यूएफलाई बधाई समेत दिइन् ।


लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय शाक्यपुत्रले सारस र सिद्धार्थ गौतम (बुद्ध) बीच विशेष सम्बन्ध रहेको बताउँदै राजकुमार सिद्धार्थ गौतम (बुद्ध) र उनका मामाका छोरा देवदत्तबीच सारसको विषयलाई लिएर उत्पन्न विवाद राजा शुद्धोदनले समाधान गर्नु परेको विषय बौद्धग्रन्थमा उल्लेख भएकाले सारसको सम्बन्धमा यसप्रकार अध्ययन हुनु हर्षको कुरा रहेको बताए । “लुम्बिनीलाई बुद्धको जन्मस्थान मात्र होइन, दुर्लभ चराहरूको बासस्थानका रूपमा पनि चिनाउन सकियो भने थप पर्यटक भित्रिन सक्छ”, उनले भने ।


यसैगरि, डब्ल्यूडब्ल्यूएफ नेपालको राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले सारस बुद्धको विरासत जोगाइराख्न सामर्थ्यपूर्ण रहेको बताउँदै बुद्धको उपदेश लुम्बिनीमा जारि रहे सरह सारस पनि रहिरहने बताए । “यसका लागि बाघ संरक्षणतर्फ जेजस्तो काम गरि ऐतिहासिक उपलब्धि हासिल गर्यौं, सारस संरक्षणमार्फत अर्को उपलब्धि हासिल गर्न सक्छौँ”, उनले भने । लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई ‘नगर पंक्षी’ घोषणा गर्नुले सारस संरक्षणमा थप बल पुगेको समेत उनले बताए ।


“सारसको वासस्थान भएको क्षेत्र नेपाल-भारत सीमामा छ । कति सारस भारततिर गइरहेका हुन्छन् । नेपालसँगै भारतमा पनि संरक्षण अभियान चलाउनु आवश्यक देखिएको छ”, उनले भने । अध्ययनले सारसको अवस्थाबारे निरन्तर अनुगमन र अध्ययन गर्नुपर्ने देखाएको समेत उनले बताए ।
गुरुङले अगाडि भने, “सरकारसँग सारस् संरक्षण गर्नुपर्यो भन्नलाई पनि हामीसँग सारसको वास्तविक अध्ययन, संख्या र यसको संरक्षणका चुनौतीहरू थिएन । यस् अध्ययनमार्फत त्यो कुरा प्राप्त भएको छ । यसकारण अध्ययन सदैव अत्यावश्यक छ ।” गुरुङले सारसको विकास गर्नको लागि सिमसार संरक्षण गर्दै सारसलाई दिगो पर्यटनसँग जोड्नुपर्ने आवश्यकता समेत औंल्याए ।


शिक्षाविद्यार्थीहरू, शोधकर्ताहरू, नागरिक संगठनका व्यक्तिहरू, धर्मिक नेता एवम् पत्रकारहरूको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा “Green Lumbini Initiative: where spirituality meets conservation” नामक भिडियो समेत देखाइएको थियो । लुम्बिनी क्षेत्रलाई आधार मानि छायांकन गरिएको करिब १० मिनेटको भिडियोमा ‘बुद्धले जोगाएको सारसको संख्यामा देखिएको पछिल्लो वृद्धिप्रति खुसी हुने या यसको थप वृद्धि गर्नतर्फ लाग्ने’ भन्ने प्रश्न प्रष्टसाथ् उठाइएको थियो ।
नेपालमा सारस मार्नु गैरकानूनी हो । नेपालको संरक्षित पन्छी सारसलाई हानि पुर्याउने, मार्ने, अन्डा नष्ट गर्ने वा व्यापार गर्ने कार्य गैरकानूनी मानिएको छ । यस्तो काम गर्ने वा गराउनेलाई १५ हजारदेखि ३० हजार रुपैयाँसम्म जरीवाना वा तीनदेखि नौ महीनासम्म कैद सजाय वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।


सारस र बुद्धबीच विशेष सम्बन्ध:
बुद्ध धर्मग्रन्थका अनुसार शिकार खेल्न निस्केका देवदत्तले हानेको वाणबाट घाइते सारस सिद्धार्थ गौतमको छेउमा बजारिएको थियो । सिद्धार्थले छटपटाइरहेको सारसको शरीरबाट वाण झिकेर उपचार गरे । त्यही बेला आफूले वाण हानेको सारस खोज्दै देवदत्त आइपुगे र उक्त सारस आफूलाई दिन भने ।
सिद्धार्थले घाइते सारसलाई आफूले बचाएकाले त्यसमाथि आफ्नो अधिकार रहेको बताउँदै दिन मानेनन् भने देवदत्तले आफूले वाण हानेर खसालेको सारसमाथि दाबी प्रस्तुत गरिरहे । विवाद बढ्दै जाँदा उनीहरूलाई राजा शुद्धोदनसमक्ष पुर्याइयो । “एउटा अत्यन्त सामन्य घटनालाई लिएर त्यतिबेला राजा शुद्धोदनको दरबारमा करिब ४ घण्टा लामो छलफल चल्यो”, मैत्तेय अगाडि भन्छन्, “अन्त्यमा, राजा शुद्धोदनले कुनै पनि जीवमाथि प्राण लिनेको भन्दा जीवन बचाउनेको हक लाग्ने फैसाला गरि विवादलाई टुंग्याए ।”


हिन्दु धर्मतर्फ पनि, वाल्मिकीकृत रामायणको आरम्भ पनि प्रणयरत सारस जोडीको वर्णनबाट शुरु भएको छ । नदी तटमा प्रणयरत सारस जोडीमध्ये एकलाई शिकारीले मार्छ र वियोगमा छटपटाएको अर्को सारसले पनि आफ्नो प्राण त्याग गर्छ। यो घटना देखेका ऋषि ले शिकारीलाई श्राप दिन्छन् ।
नेपाली समाजिक-सांस्कृतिक पक्षलाई अध्ययन गर्दा पनि सारसलाई प्रेम र समर्पणको प्रतीक मानिएको छ । सारसले जीवनभर एकपटक मात्र जोडा बनाउँछ र जोडा बनाइसकेपछि सारस युगल जीवनभर सँगै रहने समेत उनले बताए । “दुईमध्ये एकको मृत्यु भएमा यो चराले फेरि अर्को जोडा बनाउँदैन । यसैकारण, नेपाली समाजमा सारसको जोडी जस्तै हुनु भन्ने आशीर्वाद नवविवाहितालाई दिने प्रचलन अद्यापि कायमै रहेको छ । यसैगरी, स्थानीयको बुझाइमा गर्मी समयमा सारस खेतमा आउनु पानी पर्न लागेको जनाउ हो। त्यस्तै, सिमसारमा सारस देखिनु स्वस्थ्य सिमसारको सङ्केत हो ।


सारसबारे यी कुरा थाहा छ ?
सारस शब्द संस्कृतको सारस (तालको पन्छी)बाट आएको हो। यो सर्वभक्षी (ओम्निभर) प्रजाति हो, यसले वनस्पति (बीउबीजन र तिनका जरा) र कीराफट्याङ्ग्रा-गँड्यौला खान्छ । यसको शरीर हल्का खैरो रङको हुन्छ। टाउको र घाँटीमा रातो रङको पट्टी जस्तो टाटा हुन्छ । खुट्टा गुलाबी रङको हुन्छ ।
सारसलाई नेपालका ९ वटा संरक्षित पक्षीहरुको सूचीमा राखिएको छ । नेपाललगायत दक्षिण एसिया र दक्षिणपूर्वी एसिया एवं अस्ट्रेलियाको रैथाने ठुलो चराका रूपमा रहेको यो प्रजातिको सारस ६ फिटसम्म अग्लो हुन्छ ।


विश्वमा पाइने सारसका १५ प्रजातिमध्ये नेपालमा ४ प्रजाति पाइन्छन् । जसमा सारस, कर्याङकुरुङ सारस, लक्ष्मण सारस र कालीकण्ठ सारस छन् । कर्याङकुरुङ, लक्ष्मण र कालीकण्ठ सारस हिउँदे आगन्तुक हुन् । यी सारस हिउँदमा उत्तरी ध्रुवबाट बसाइँसराइ गरेर नेपाल हुँदै दक्षिणीतिर लाग्छन् भने केही यहीं बस्छन् । सारस (ग्रुस एन्टिगन) भने नेपालको रैथाने प्रजाति हो । यो प्रजाति संवेदनशील (भलनरेबल) अवस्थामा छ ।
उड्ने चराहरूमध्ये सबैभन्दा अग्लो सारस अधिकतम ४० देखि ५० फिटको उचाइमा उड्न सक्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले सन् २००० मा दुर्लभ पक्षीमा सूचीकृत गरेको सारसको तौल वयस्क अवस्थामा १० किलो र उचाइ ५ फिटसम्म हुन्छ ।



























































Discussion about this post