काठमाडौंः भूप्रविधि समाज नेपाल (नेपाल जियोटेक्निकल सोसाइटी, एनजीएस)ले शनिबार (भोलि) आफ्नो ३०औं वार्षिकोत्सव मनाउने भएको छ । ‘पहिरो जोखिम व्यवस्थापन: बुझाई, मनन् र कार्यन्वयन’ भन्ने नाराका साथ यस वर्ष आफ्नो स्थापना दिवस मनाउने भएको हो ।
शनिबार हुने कार्यक्रमको बिहानी सत्रमा धादिङ जिल्लाको धुनिवेशी नगरपालिकाको भुवनेश्वरी माविमा आम जनता र अन्य सरोकारवालाहरूका बीच भू-खतरा सम्बन्धि प्रदर्शनी र सचेतना कार्यक्रम रहनेछ भने साँझ एनजीएस सदस्यहरू र आमन्त्रितहरूले काठमाडौंमा नेपालले बर्सेनि व्यहोर्दै आइरहेको भू-खतरा (बाढी, पहिरो आदि), भारी वर्षा र, बढ्दो जलवायु परिवर्तन प्रभाव लगायतका विषयमा छलफल गर्नेछन् ।
एनजीएसले शुक्रबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ, “हामीले पहिरो नियन्त्रणमा धेरै काम गर्न सकिरहेका छैनौँ । भौगर्भिक हिसाबले हाम्रो भूगोल एक त जटिल छ, त्यसमा पनि मानवले गरेका हस्तक्षेपहरूले गर्दा थोरै पानी पर्दा पनि पहिरो गइहाल्ने अवस्था छ । एकातर्फ हामीले समुदायस्तरमा पहिरोको जोखिम बुझाउन सकिरहेका छैनौँ भने अर्कोतर्फ, सरकारले विभिन्न निकायहरूबीचको समन्वय र पूर्व सावधानीलाई जोड दिएर पहिरोजस्ता प्रकोपसँग जुझ्न प्रयाप्त पहलकदमी गरिरहेको छैन ।”
यता, विपद सम्बन्धि केन्द्रीय सरकारमा भएको ज्ञान स्थानीय सरकारमा हस्तान्तरण हुन् अझै सकिरहेको छैन । फलतः सरकारले बनाएका केही नीतिहरू पनि कार्यान्वयन हुन सकिरहेका छैनन् र जोखिम कम गराउन सकिएको छैन । जोखिम ख्याल नगरी पहाडका ग्रामीण क्षेत्रहरूमा अनियन्त्रित ढङ्गले निर्माण गरिएका सडक, छोटो दृष्टि राखेर निर्माण गरिएका अन्य विकास निर्माणसम्बन्धि गतिविधिहरू, क्रमश: पलायनमुखी कृषि अर्थतत्न्र, भू-उपयोगमा आएको व्यापक परिवर्तन, सडक लगायतका लमतन्न फैलिएका भौतिक संरचना र मानव सिर्जित जलवायु परिवर्तन, सडक निर्माण, पहिरो र विपद् व्यवस्थापनको अन्तरसम्बन्धबारे अध्ययनको कमि तथा अध्ययन र नीतिनिर्माताबीचको खाडल लगायतका कारणले नेपाल जलवायु परिवर्तनको जोखिमका लागि विश्वव्यापी रूपमा चौथो, भूकम्पको जोखिमका लागि ११औँ र बाढीको जोखिमका लागि ३०औँ स्थानमा रहेको एनजीएसको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वार्षिक रूपमा, नेपालले सयौँ विनाशकारी पहिरो र सडक छेउको ढलान असफलताको सामना गर्छ । विशेषगरी मध्य पूर्व-पश्चिम पहाडहरू पहिरोको ठुलो जोखिममा छन् । वि.सं. २०७० देखि २०८० सम्ममा ३,०६९ वटा पहिरोका घटनामा १ हजार ३ सय ५४ जनाको ज्यान गएको छ, जसमा प्रतिवर्ष औसत १२३ जनाको मृत्यु भएको कहालीलाग्दो तथ्यांक रहेको एनजीएसले जनाएको छ ।
नेपालमा पहिरो, वर्षा र सडक निर्माणबीचको जटिल अन्तरक्रियालाई सम्बोधन गर्न, सामाजिक-आर्थिक प्रगतिलाई समर्थन गर्न एवं जीवन र पूर्वाधारको रक्षा गर्नका लागि भू-प्राविधिक जोखिम व्यवस्थापनलाई एकीकृत गर्ने दिगो विकास अभ्यासहरूको आवश्यकता औंल्याउने उद्देश्यले कार्यक्रम गर्न लागेको एनजीएसका अध्यक्ष मन्दिप सुवेदीले बताए ।
“विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन ९२०७४० पहिरो र बाढीलाई प्राकृतिक प्रकोपको रूपमा वर्गीकरण गरेको छ । तर, हामीले यी घटनाहरूलाई बढावा दिने महत्त्वपूर्ण मानव(प्रेरित कारकहरूलाई बेवास्ता गरिरहेका छौं, र निवारक उपायहरूको साटो विपद्पछिको राहतमा हामी केन्द्रित भइरहेका छौँ । बर्सेनी दोहोरिने क्षतिलाई न्यूनीकरण गर्न पर्याप्त रणनीति विकास गर्न सकेका छैनौँ”, उनले अगाडि भने, “पहिरो जोखिमलाई प्रभावकारी रूपमा सम्बोधन गर्न, एक व्यापक दृष्टिकोण महत्त्वपूर्ण छ, त्यसका लागि हामीले यो अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेका हौँ ।”
गैरलाभकारी संस्थाको रूपमा कार्यरत एनजीएस ३५० भन्दा बढी भू-वैज्ञानिकहरू र भू-प्राविधिक इन्जिनियरहरूको संयुक्त संस्था हो । सन् १९९४ मा स्थापित यस संस्थाले हालसम्म जियोटेक्निकल इन्जिनियरिङ र सम्बन्धित क्षेत्रहरूमा जानकारीको आदानप्रदान गर्दै आइरहेको छ ।
हेर्नुहोस् कार्यक्रम तालिका:



























































Discussion about this post