काठमाडौं: राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्नु आवश्यक रहेको बताएका हुन् ।
गौतमले आगामी सोह्रौँ आवधिक योजनामा भौगर्भिक र भू-सतहको अध्ययन गर्ने विषय समेट्नुपर्ने बताएका हुन् । उनले नेपालको भू-सतह चलायमान रहेको उल्लेख गर्दै भू-सतहको अध्ययन गरेर मात्रै जमिनको प्रयोग गर्नुपर्ने र कृषि उत्पादन गर्नुपर्ने बताए । त्यस्तै, जथाभावी जमिनमा खनजोत गर्नु नहुने भन्दै जतिधेरै डोजरको प्रयोग गरिन्छ उति नै प्राकृतिक प्रकोपको खतरा रहेको उल्लेख गरे ।
उनले भने, ‘‘आजसम्म कुनैपनि योजनाले नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गरेको पाइएन । के हो स्थिति हाम्रो ? अमेरिकामा जसरी फलाइन्छ यहाँ पनि त्यसैगरी फलाउन सकिन्छ, सकिँदैन ? भारतमा जसरी गर्न सकिन्छ नेपालमा सकिन्छ कि सकिँदैन ? भन्ने विषयमा ध्यान गएको पाइएन । हाम्रो देशको भू-सतह निरन्तर चलायमान अवस्थामा छ । संसारमा सबभन्दा पछि विकसित भएको भू-सतह हो हाम्रो । अरू ठाउँका जतिपनि प्लेटहरू छन्, त्यसमाथि जमिन छ । यो भूकम्पको अवस्थामा पनि छ । यसलाई राम्ररी अध्ययन नगरी हामीले हाम्रो देशको पहाडको, डुङ्गाको, माटोको प्रयोग गर्यौ भने हामी निरन्तर असफल हुँदै जान्छौँ । जनधनको क्षति व्यहोरिरहनुपर्ने अवस्था आउँछ । यो विषयमा योजना आयोगले ध्यान दिनुपर्छ । छलफल गर्नुपर्छ भन्ने मेरो विचार हो । भू-सतह निरन्तर चलायमान छ भने त हलो जोत्न, ट्याक्टर चलाउन, डोजर हिँडाएर बाटो खन्नु भएन । जति त्यसो गर्नुहुन्छ, त्यत्तिकै महामारी आउँछ । बाढी, पहिरो आउँछ । यस सम्बन्धमा ध्यानै गएको छैन । यस पटक सोह्रौँ योजनामा यो समावेश गर्नुपर्छ ।’’



























































Discussion about this post