कञ्चनपुर: कञ्चनपुरको मध्यवर्ती क्षेत्रमा मरेको जङ्गली हात्तीको बिहीबार हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । शुक्लाफाँटा नगरपालिका –७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा रहेको सेप्टी ट्याङ्कीमा राति फसेर हात्तीको ज्यान गएको थियो । उक्त हात्तीको अन्त्येष्टि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले गरेको हो ।
हिन्दु धर्मावलम्बीहरूले हात्तीलाई गणेश भगवानको रूपमा पुज्ने गर्छन् । त्यसैले पूजाआजा गरेर हात्तीको अन्त्येष्टि गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । हात्ती करिब ३५ देखि ४० वर्षको वयस्क पोथी रहेको थियो । झुण्डबाट छुट्टिएर एक्लै हिँडेको उक्त हात्ती करिब १२ बजेतिर चर्पीको सेप्टी ट्याङ्कीमा परेको हो ।
मरेको हात्तीको सोही स्थानमा अन्त्येष्टि गरिएको छ । दुई वटा डोजरले खाल्डो खनेर हिन्दु परम्परानुसार पूजाआजा गरी सेतो कपडा ओढाएर अन्त्येष्टि गरिएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कति हात्ती छन् भन्ने कुराको तथ्यांक छैन् । हरेक वर्ष २४–२५ वटा हात्तीको झुण्ड निकुञ्जमा देखिए पनि नेपाल–भारतमा ओहोरदोहोर गरिरहने गर्दछन् । कञ्चनपुरमा पछिल्लो केही वर्षयता तीनवटा जङ्गली हात्तीको ज्यान गइसकेको छ ।




























































Discussion about this post