शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षका प्रत्याशी विष्णुहरि पाण्डेले नेपाललाई बुद्ध दर्शन अध्ययन अन्तर्राष्ट्रिय केन्द्रको रूपमा स्थापित गर्ने घोषणा गरेका छन् । निर्वाचनका लागि बुधवार आफ्नो प्यानल सार्वजनिक गर्दै अध्यक्षका प्रत्याशी पाण्डेले यस्तो घोषणा गरेका हुन् ।
यतिमात्रै नभएर उनले नेपाललाई सांस्कृतिक पर्यटन तथा जैविक विविधता अध्ययनको अन्तर्राष्ट्रिय केन्द्रको रूपमा स्थापित गर्ने समेत योजना अगाडि सारेका छन् । भिजन २०२५ सार्वजनिक गर्दै उनले दीर्घकालीन महत्वका योजनाहरू अन्तर्गत नेपालको पर्यटन प्रवर्द्धन गर्नेगरि योजना अगाडि सारेका हुन् ।
उनले नेपालले विश्व जगतमा आकर्षक मूल्यमा बिक्री गर्न सक्ने खुराक बुद्ध दर्शन भएको घोषणापत्रमा उल्लेख गरेका छन् । उनले भनेका छन्,“जसको उद्गम विन्दु नै नेपाल हो । वृहतरूपमा तत्कालीन हिमवत खण्ड हो ।’
काठमाडौं बौद्ध दर्शनको दुर्लभ अध्ययन केन्द्रको रूपमा स्थापित रहेको भन्दै उनले विश्वका ख्यातिप्राप्त पुस्तकालयहरूमा नेपालबाट लगिएका बौद्ध दर्शन सम्बन्धी ग्रन्थहरू रहेको बताएका छन् । उनले विश्व समुदायसामु नेपाललाई बौद्ध अध्ययन केन्द्रको रूपमा स्थापित गर्नुपर्ने र त्यसको केन्द्रीय समन्वयकारी भूमिकाको अगुवाई लुम्बिनी बौद्ध विश्वविद्यालयको रहने उल्लेख गरेका छन् ।
यस्तै नेपालको सांस्कृतिक पर्यटन तथा जैविक विविधताको उजागर गरि नेपाललाई अन्तर्राष्ट्रिय अध्ययन केन्द्रको रूपमा स्थापित गर्न विभिन्न कार्यक्रमहरू अगाडि सारेका छन् । जसअन्तर्गत विश्वविद्यालयहरूसँग समन्वय गरि पाठ्यक्रम विकास तथा पूर्वाधार विकासमा गहन अनुसन्धान, कार्यशाला तथा कार्यायोजना तयारीका लागि समन्वय गर्ने, नीतिगत पूर्वाधार तयार गर्नका लागि गहन गृहकार्य, कार्ययोजना तथा अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्ने लगायत छ ।
आगामी असार ३० गते नयाँ कार्यसमितिका लागि हुने निर्वाचनका लागि अध्यक्षका प्रत्याशी पाण्डेले शैक्षिक परामर्श क्षेत्रमा स्थापित र परिचित व्यक्तिहरूलाई समेटेर प्यानल बनाएका छन् ।
पाण्डेले भुवन क्षेत्री, लक्ष्मण पौडेल र प्रकाश श्रेष्ठलाई उपाध्यक्ष उम्मेदवारका रूपमा अघि सारेका छन् भने महासचिवमा वासुदेव दाहाल, सचिवमा फिलिपकुमार डाँगी क्षेत्री र शिव त्रिपाठीलाई उम्मेदवार बनाउने तयारी गरेका छन्।
त्यस्तै कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देलले उम्मेदवारी दिने तयारी भएको छ भने कार्यसमिति सदस्यका लागि आशिष रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, एसपी भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, सुमन शर्मा र श्रीराम गिरीले पाण्डे नेतृत्वको प्यानलबाट उम्मेदवारी दिने भएका छन्।




























































Discussion about this post