झापा । हात्ती प्रभावित क्षेत्र झापाको बाहुनडाँगीमा पुस २९ र माघ १ गते हुने तरुल महोत्सव हुने भएको छ । स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको हो । गत वर्षदेखि यस उत्सवको आयोजना हुँदै आएको छ ।
मेचीनगर नगरपालिकाको आयोजना र वडा नं. ४ को व्यवस्थापनमा हुन लागेको तरुल महोत्सवमा सहभागी भई तरुल किन्न मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले सबैलाई अपिल गरेका छन्। ‘दोस्रो तरुल महोत्सव आयोजना हुँदैछ,’ वडा अध्यक्ष कार्कीले भने, ‘तरुल किन्न सबैलाई निम्तो गर्दछु ।’ परम्परागत रूपमा सबै समुदाय र भूगोलका नेपालीले खाने तरुलका विभिन्न प्रजाति उत्सवमा प्रदर्शनी गरिने वडाध्यक्ष कार्कीले बताए ।
‘हाम्रा परम्परागत खानेकुरामा तरुलको ठूलो महत्व छ । मानव जातिले जङ्गली जीवनदेखि नै तरुल, गिठ्ठा र भ्याकुर खाएर सभ्यतालाई अघि बढाएका थिए’, वडाध्यक्ष कार्कीले अगाडि भने, ‘हामीले अर्ग्यानिक र ग्रामीण खानेकुराको संरक्षण र प्रचारमा सबैको ध्यान जाओस् भनेर उत्सवको आयोजना गरेका हौँ ।’ उनले कमल गाउँपालिका–२ समयगढका किसान कर्णबहादुर गुरुङले फलाएको एउटै १६ केजीको सिमल तरुल समेत प्रदर्शनमा राखिने बताएका छन्।
गत वर्ष माघ १ गतेका दिन एक दिवसीय आयोजना गरिएको तरुल महोत्सव यो वर्ष दुई दिनसम्म आयोजना गर्न लागिएको छ । कोशी प्रदेशमै बाहुनडाँगीमा मात्रै आयोजना हुने तरुल महोत्सवले कृषि उत्पादनको बजारीकरणमा सहयोग पुग्ने मेचीनगर नगरपालिकाले अपेक्षा गरेको छ ।
उत्सवमा घर, वन, सिमल, सिठुनीलगायत विभिन्न प्रजातिका तरुल राखिने छन् ।
पर्वसँगसँगै स्थानीय खानाको प्रवर्द्धन
१२ महिनामा हुने १२ राशीअनुसार यो माघ महिनामा मकर राशी पर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । यो दिनदेखि रात छोटो हुँदै जाने र दिन लामो हुँदै जान्छ, यो प्राकृतिक नियम नै हो । अर्कोतर्फ, सम्भवतः सबै नेपालीले एकसाथ मनाउने साझा पर्व हो माघे संक्रान्ति । तराईका आदिबासी थारु हुन् वा मगरले माघीलाई नयाँ वर्षका रूपमा स्वागत गर्छन् ।
राजधानी काठमाडौँका आदिबासी नेवारहरूले पनि माघे संक्रान्तिलाई घ्यो, चाकु, सँल्हुका नाउँमा भव्य ढंगमा मनाउँछन्। तराई–मधेसमा यस दिनलाई तिला संक्रान्ति त पूर्वी नेपालका किरात र हिमाली समुदायका शेर्पा, थकाली, तामाङ, गुरुङलगायतका समुदायमा पनि नयाँ वर्ष येलेदोङ, ल्होछार प्रारम्भको दिनका रूपमा लिइन्छ। निकै पिछडिएका समुदाय राउटे, कुसुण्डामात्र होइन, क्षत्री–ब्राह्मणले पनि आआफ्नै तौरतरिकाबाट मनाउँछन् माघे संक्रान्ति । सूर्य उत्तरायण हुँदै गएपछि दिन लामो हुँदै जाने पर्वका रूपमा लिइने माघे संक्रान्तिलाई कतिपय आदिबासी घरघरबाट धुपदीप बाल्दै, उखु, सुन्तलालगायतका फलफूल, उसिनेको सख्खरखण्ड, तरुल, आलु आदि देवीथानमा चढाउने मेलाका रूपमा पनि मनाउने गर्छन् । साथै, प्रत्येक वर्षको माघेसंक्रान्तिका दिन भक्तपुरको थथु बहिल नःपुखुनेर एक बृहत् पञ्चदान पर्व मनाइन्छ । बुद्ध शासनलाई निरन्तरता दिन काठमाडौँ उपत्यकाका प्रत्येक बिहार–महाबिहारका दिपंकर बुद्धलाई उपस्थित गराइ उपाशक–उपाशिकाबाट दान दिने–लिने परम्परा छ । यसैगरी, नुवाकोट जिल्लाकै पहिचान पर्वका रूपमा रहेको गोरु जुधाउने जात्रा माघेसंक्रान्तिको पर्याय पर्व बन्दै आएको छ ।
नेपालीहरुले महत्वपूर्ण चाड माघेसंक्रान्तिको मुख्य परिकारमध्ये एक तरुल हो । तराईमा माघी र पहाडमा माघे संक्रान्तिको रुपमा मनाइने यस चाडमा तरुल, खिचडि, तिलको लड्डु, चाकु आदि खाने गरिन्छ । जाडोको समय भएकाले शरीरलाई चाहिने आवश्यक न्यानोपन र तागतको आपूर्ति गरेर शरीरलाई स्वस्थ्य बनाइ राख्न मनाउँदै आएको यो माघेसंक्रान्तिका दिन शरीरलाई अत्यन्तै फाइदा हुने घिउ, चाकु, तरुल, पालुंगोको साग, माछासहितको सम्ये बजी खाएर चाड मान्ने पुर्खाहरूले बनाइ राखेको यो चलन बैज्ञानिक रूपमा पनि उचित देखिन्छ ।
तरुल स्वास्थ्यको लागि लाभदायक खाद्य पदार्थ हो । कोरिया र जापानमा सदियौंदेखि यसलाई आयुर्वे्दिक औषधिको रुपमा पनि प्रयोग गरिँदै आएको छ । यसका केही फाइदाहरु यसप्रकार छन्:
- छाला तथा स्वासप्रश्वास सम्बन्धी समस्याको लागि राम्रो । यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रिया सम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।
- तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ ।
- यसमा पाइने एण्टी अक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।
- तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।
- यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।
मेचीनगरले सुरु गरेक यस उत्सवले पर्वसँगसँगै स्थानीय खानाको प्रवर्द्धनमा टेवा पुगेको छ ।




























































Discussion about this post