रुपन्देही: रुपन्देहीको सैनामैना नगरपालिकामा कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न भएको छ । रुपन्देहीको पश्चिम क्षेत्रमा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले शनिबार कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न भएको हो ।
कोरा साइक्लिङ सैनामैना नगरपालिकाका साथै कञ्चन गाउँपालिकाका विभिन्न क्षेत्रको परिक्रमा गरिएको थियो । उक्त साइक्लिङ च्यालेन्ज साइकलबाटै १२५ देशको यात्रा गरेका विश्व साइकलयात्री अजित बरालको आतिथ्यमा भएको हो । उक्त अवसरमा बोल्दै विश्व साइकलयात्री अजित बरालले साइकलका माध्यमबाट धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै स्वस्थ रहन सहयोग पुग्ने बताए ।
सैनामैना साइकल साथीको आयोजना तथा सैनामैना नगपालिकाको सहयोगमा सैनामैना नगरपालिका–१, लुम्बिनी गेटबाट सुरू भएको साइक्लिङ रुपन्देहीका मुख्य धार्मिक क्षेत्र बुद्धकालीन रानीकुवा, राजाकुवा, हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल पर्रोहा बोलबम धाम, बक्सड डाँडा कोटियामाई र गौतम बुद्ध रङ्गशालामा पुगेको थियो ।
त्यसैगरी, कञ्चन गाउँपालिकामा पर्ने दानापुर ताल, समयमाई देवी मन्दिर, सिमसार क्षेत्र राजापानी, महेरवामाई मन्दिर, कुमारगड्डी उपत्यका हुँदै थारू समुदायको पवित्र धार्मिक मान्यता बोकेको मलमल चौरा बाबाको मन्दिर, भैरव मन्दिर र भैरव कुण्डको दर्शन गरी सैनामैना थारू होमस्टेमा आएर समापन भएको हो । ५५ किलोमिटर लामो साइकल यात्रामा सहभागीलाई थारू सांस्कृतिक कार्यक्रम, बाजागाजा, नाचगान, थारू परिकार खानपिनबाट स्वागत गरिएको हो ।
विश्व युवा दिवसको अवसरमा सैनामैना साइकल साथीले प्रत्येक वर्ष कोरा साइक्लिङ च्यालेन्ज आयोजना गर्दै आएको छ । कोरा साइक्लिङमा सैनामैना नगरपालिकाका प्रमुख, निवर्तमान प्रमुख, वडाध्यक्ष तथा सदस्य र बालबालिकाको पनि सहभागिता थियो।



























































Discussion about this post