म्याग्दीः पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसार र पूर्वाधारको अभावले म्याग्दी र बागलुङको सिमानामा पर्ने गाम्फाधुरी ओझेलमा परेको छ । समुन्द्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा अवस्थित गाम्फाधुरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको गन्तव्य हो ।
मङ्गला गाउँपालिकाको वडा नम्बर ४ स्थित बंरजा बुकेनीबाट चार घण्टाको पैदल यात्राबाट पुगिने महत्वपूर्ण पर्यटकीयस्थल ‘गाम्फाधुरी सडक, पदमार्ग, लगायत पूर्वाधारको अभावले ओझेलमा परेको बुकेनीका युवा डिवि रोका मगरले बताए ।
“रमणीयस्थल यस क्षेत्रमा पर्यटन विकासका पूर्वाधार तयारमा तीन तहका सरकारले ध्यान नदिँदा पर्यटन प्रवद्र्धन हुन सकेको छैन, यहाँबाट धौलागिरि, निलगिरी, अन्नपूर्ण लगायतका हिमालहरू देख्न सकिन्छ”,– उनले भने । “हिमशृंखलासंगै म्याग्दी र बागलुङको दर्जनौँ ग्रामीण बस्ती र पहाडी भू–भाग अवलोकन गर्न पाइन्छ, प्राचिनकालमा प्रभु बसेको घरका भग्नासेस, प्रभुले पानी खाने ढुङ्गाको कुवा लगायतका प्राचीन कला यहाँ भेटिन्छ, बुकेनी र धापुङका स्थानीय मिलेर बेलाबेलामा घुम्न, पिकनिक खान गएपनि पूर्वाधारको अभावले पर्यटकको आगमन बढ्न सकेको छैन ।”


पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, सडक नपुग्नु, प्रचारप्रसारको कमीले यस क्षेत्र ओझेलमा परेको स्थानीय युवा डिवि रोकामगरले थपे । “पर्यटकीय सम्भावना छ, तर राज्यको लगानी खासै नहुँदा अझै पनि फस्टाउन सकेको छैन” उनले भने, “यसका लागि स्थानीय सरकारको लगानी जरुरी छ ।”
त्यस्तै, मङ्गला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष लालबहादुर रोकाले गाउँपालिकाको अग्लो पर्यटन स्थलको रुपमा चिनिएको गाम्फाधुरीको पर्यटन विकासका लागि स्थानीय युवाले पूर्वाधार निर्माण बजेट विनियोजन गर्न आग्रह गरेको उल्लेख गर्दै यस क्षेत्रको पर्यटन विकास लागि गुरुयोजना बनाएर प्रचारप्रसार, पदमार्ग निर्माण, सडक, पुराना सम्पदाको संरक्षणको काम गर्ने बताए आगामी वर्षमा सडक, पदमार्ग निर्माणमा पालिका र प्रदेश सरकारसँग बजेट विनियोजनमा पहल गर्ने योजना रहेको उल्लेख गरे । रासस





























































Discussion about this post