- प्रेम बास्तोला, राजु झल्लु प्रसाद


ज्वालामूखी । ज्वालामूखी गाउँपालिका–६, हुलाकभन्ज्याङमा रहेको ऐतिहासिक ‘श्री ३ सुवर्ण दधी ज्वालामुखी धर्म महाविहार’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । यस विहारको आफ्नै धार्मिक एवं सांस्कृतिक महत्व भएर पनि आजसम्म खासै विस्तृत रूपमा अध्ययन कार्य समेत भएको नपाइनु दु:खद छ ।


वि.सं. २००२ सालमा निर्माण गरिएको यो विहार धादिङ, नुवाकोट र गोरखाको सबैभन्दा पुरानो महाबिहार हो, यसैकारण यसको नाममा श्री ३ समेत रहेको छ । यस बिहारमा धादिङ, नुवाकोट, गोरखा, लमजुङसम्मका मानिसहरू आउने गरेको विहारका सल्लाहकार खड्गराज शाक्यले जानकारी दिए । अहिले अन्यत्र ठाउँमा पनि बिहारहरू निर्माण भए तापनि यो बिहार पुरानो भएकाले विभिन्न ठाउँबाट व्रतबन्ध गर्न मानिसहरू अहिले पनि यहीँ विहार आइपुग्ने गरेको शाक्यले बताए ।


आफ्नो पाँच भाइ जिजु बाजेले उक्त विहार स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको उनी बताउँछन् । “जिजु बाजेको समयमा गाउँमा विहार नभएका कारण व्रतबन्ध गर्न काठमाडौँ जानुपर्ने बाध्यता थियो”, उनी अगाडि भन्छन्, “आफ्नो झोलीमा चाहिने सबै सर–सामान राखी काठमाडौँसम्मको लामो यात्रा गर्न निकै कठिन थियो । त्यसैले पाँच भाइ बाजेहरूले व्रतबन्ध गाउँमै गर्ने उपाय खोजे । यसको लागि काठमाडौँका गुभाजुसँग सरसल्लाह समेत गरियो र यहाँ यस महाविहार स्थापित हुन् पुग्यो ।”


विहारको स्थापनासँग सम्बन्धित ढल: पौ शाक्यसँग नै रहेको छ । उक्त ढल: पौ अनुसार बाजेहरूले २००२ सालमा विहार स्थापना गरेर सोही सालबाट चूडाकर्म गर्न सुरु गरेको शाक्यले बताए ।


पहिला विहारको भौतिक संरचनाको अवस्था त्यति राम्रो थिएन । अहिले भने पालिकाबाट बजेट पाएर विहारको थोरै मुहार फेरिएको छ । यद्यपि बनाउनु पर्ने धेरै काम बाँकी रहेको खड्गराज बताउँछन् । महाभूकम्पले यस विहार क्षेत्रमा पनि क्षति पुर्याएको थियो । केही रकम उठाएर जनश्रम गरेरै पुनर्निर्माणको काम सम्पन्न भएको उनले सुनाए । मन्दिर बन्नुअघि उक्त क्षेत्र काप्राघारी थियो । उनी भन्छन्– ‘बाजेहरूको पालामा गाईलाई दौ ख्वाउने ठाउँ हो ।‘ उनका अनुसार पहिला मन्दिर तल्लो गह्रामा अवस्थित थियो । बाटो बनेपछि माथिल्लो गह्रामा सारिएको हो ।



महाविहारका १० जना पुजारीमध्ये एक आइतमान वाणा प्रत्येक १५/१५ दिनमा सबै पुजारीको पालो आउने बताउँछन् । महाविहारमा प्रत्येक दिन बिहान बेलुका नै पूजा हुने गरेको छ । बिहान पूजा गरिन्छ भने बेलुका धूपदीप हुन्छ । त्यसैगरि अन्य चाडबाड तथा बुद्ध जयन्तीमा विशेष रूपले पूजा गरिने उनी बताउँछन् । महाविहारमा वर्षमा एकपटकदेखि दुई पटकसम्म व्रतबन्ध गर्ने गरिन्छ ।


यस महाविहारमा रहेका पूजारीको रोलक्रम र नाम यसप्रकार छ;
१. मूल पुजारी (थकाली): रत्न मान शाक्य
२. दोस्रो पुजारी (थकाली): मरिचमान शाक्य
३. तेस्रो पुजारी : ज्ञानमान शाक्य
४. चौथो पुजारी : टंकराज शाक्य
५. पाँचौं पुजारी : लाल बहादुर शाक्य
६. छैटौँ पुजारी : धन बहादुर शाक्य ‘क’
७. सातौँ पुजारी : सन्तमान शाक्य ‘क’
८. आठौँ पुजारी : सन्तमान शाक्य ‘ख’
९. नवौँ पुजारी : धन बहादुर शाक्य ‘ख’
१०. दशौँ पुजारी : आइतमान शाक्य
११. कुटुम्ब : गणेशमान शाक्य (जुठो सुतक बार्नुपर्दा)




ज्वालामुखी गाउँपालिका, वडा नं– ६ का वडाध्यक्ष किशोर सेढाई धादिङ जिल्लाकै एक मात्रै यस बौद्ध महाविहार चर्चादेखि पर रहेको उल्लेख गर्छन् । ज्वालामुखी गाउँपालिकाको केन्द्रबिन्दु रहेको हुलाकभन्ज्याङमा शाक्यहरूको बाक्लो बस्ती रहेको छ । अन्यत्रको शाक्यहरूले जस्तो उनीहरू गहनाको काम गर्दैनन् । खेतीकिसानीमै उनीहरू बढी सक्रिय भएको एवं युवाहरू विदेश भासिएको भेटिन्छ । हुलाकभन्ज्याङमा करिब २०० घर शाक्यहरूको बसोबास रहेको वडाध्यक्ष सेढाईले बताए । शाक्यहरूको आफ्नै धर्म, संस्कृति तथा रीतिरिवाज रहेका छन् । सुवर्ण दधी ज्वालामूखी धर्म महाविहार उनीहरूकै आस्थाको एउटा थलो रहेको सेढाईंले बताए ।


आफू जनप्रतिनिधि भइसकेपछि बुढापाकाहरूबाट विहार करिब २००२ सालमा स्थापना भएको थाहा पाएको उनले बताए । त्यसअघि शाक्यहरू विभिन्न चाडबाड तथा विशेष दिनमा पैदल यात्रा गरी काठमाडौँ पुग्ने गर्थे । विहारमा धादिङबाहेक गोरखा, लमजुङ, नुवाकोट तथा चितवनसम्म मानिसहरू आउने गरेको उनले जानकारी दिए ।
विहारलाई पर्यटनको हिसाबले विकास गर्न नसकेकाले नै हालसम्म पछाडि परेको वडाध्यक्ष सेढाईंले बताए । अन्यत्रका विहारले उचित प्रचार प्रसार पाएर पर्यटनमा राम्रो गर्ने सम्भावना रहँदा भूगोलका कारण विकासले साथ नदिएर उक्त स्थान पछाडि परेको उनको बुझाइ छ ।


धादिङ जिल्लाकै एक मात्र प्राचीन बुद्ध विहारको प्रचार प्रसार गर्न आफूहरू अघि बढिरहेको उनले बताए । त्यस क्षेत्रको सबैभन्दा सुगम नीलकण्ठ नगरपालिकाबाट करिब एक किलोमिटर दूरीमा रहेको यस क्षेत्रलाई विकास गर्न सजिलो रहेको उनले उल्लेख गरे ।
एउटा निश्चित मापदण्ड बनाएर अघि बढेको खण्डमा उक्त क्षेत्रको उचित भविष्य रहेको उनी आङ्कलन गर्छन् । विकास गर्न मन हुँदाहुँदै स्थानीय सरकारको तर्फबाट वर्षको २/४ लाखभन्दा बढी बजेट हाल्न सक्ने स्थिति नरहेको पनि उनले स्पष्ट पारे । त्यही बजेटले पनि राम्रो काम गर्न सकिन्छ भन्ने उद्देश्य लिएर गाउँपालिकाले अघिल्लो वर्ष ५ लाख खर्च गरी विहार क्षेत्रमा केही निर्माणको काम गरेको सेढाईंले बताए । सोही बजेट बाट बाटो बनाउने, भौतिक संरचना बनाउने तथा स्थानीयको सहयोगमा काठको रोटे पिङ राख्ने लगायतका काम वडाले गरेको उनले बताए । उक्त क्षेत्रको पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै अहिलेबाटै बाटोछेउमा वृक्षारोपणको काम समेत गरिएको छ । साथै, चाँडै सडकबत्ती समेत हालिने योजना रहेको वडाध्यक्षले सेढाईंले बताए ।


करिब ११ रोपनी क्षेत्रफलमा फैलिएको विहार शाक्य जातिकै पुर्खाहरूको सहयोगमा निर्माण भएको हो । आगामी वर्ष डिपीआर बनाइ सङ्घ, प्रदेशका माननीयमार्फत विहारको लागि आवश्यक बजेटको माग गर्ने योजना रहेको उनले जानकारी दिए । अनुमानित १ करोड बजेट खर्च गरी उचित विकास गरे यस क्षेत्रमा राम्रो पर्यटन भित्र्याउन सकिने वडाध्यक्ष सेढाईंले विश्वास लिएका छन् ।



ओझेलमा परेको विहारलाई बौद्ध दर्शन, प्रवर्द्धन तथा गुम्बा विकास समिति श्रीमहल पुल्चोकमा गत वर्ष मात्र विहारलाई दर्ता गरिएको विहार संरक्षण समितिका अध्यक्ष एवम् वडा नम्बर ६ का वडा सदस्य समेत रहेका लिलामान शाक्य (वाणा)ले जानकारी दिए ।
ऐतिहासिक विहारलाई दर्ता गरेता पनि बत्तीमुनिको अँध्यारो जस्तै भएको शाक्यले बताए । राज्यको कुनै पनि निकायले मौलिकता अनुसार यो विहारको निर्माण र विकासका लागि खासै चासो नदेखाएको उनले गुनासो पनि गरेका छन् । विहारको मौलिकता अनुसार काष्ठकला प्रयोग गरि निर्माण गरि प्रचार प्रसार गर्नसके विहार ज्वालामूखी गाउँपालिकाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने उनले बताए । यो विहार गाउँपालिका अन्य पर्यटकीय एवम् धार्मिक स्थल जाने प्रमुख केन्द्रमै रहेकाले पनि महत्त्वपूर्ण रहेको शाक्यले बताए ।


वडा सदस्य समेत रहेका शाक्यका अनुसार वडाको पहलमा पालिकामार्फत विनियोजन गरिएको सानो बजेटले गौचरणका रूपमा परिणत भइसकेको विहारलाई बचाउने र विहारको आँगनमा ढुङ्गा बिछ्याउने काम गरिएको छ । त्यो भन्दा पहिला विहारको आँगन घाँसे मैदानमा परिणत भएको थियो । जहाँ गाईबस्तु चर्ने गरेका थिए । यो विहारमा सामूहिक रूपमा व्रतबन्ध र बेल विवाह हुने गरेको शाक्यले बताए ।
उनका अनुसार विहारमा एकै पटक ५० देखि ६० जनाको व्रतबन्ध हुन्छ । बेल विवाह पनि त्यही अनुपातमा हुने गरेको छ । तर ती कार्य गर्नकै लागि उपयुक्त स्थानको निर्माण हुन सकेकै छैन । टाढाटाढाबाट आउनेहरूका लागि उचित वासस्थानको निर्माण हुन नसकेको उनले बताए । उनीहरू बस्नका लागि आवश्यक ठाउँ छैन ।



व्रतबन्ध र बेल विवाह गर्न आउनेहरूको आवश्यक सामाग्रीहरू राख्ने स्थानको पनि अभाव रहेको शाक्यले बताए । विहारमा आलोपालो पूजा गर्ने पुजारी बस्ने र उनीहरूले पूजामा प्रयोग गर्ने सामाग्री राख्ने व्यवस्थित ठाउँको अभाव रहेको उनले बताए । बौद्ध धर्मसम्बन्धीका धर्मग्रन्थ लगायतका महत्त्वपूर्ण सामाग्रीहरू राख्ने ठाउँ नभएकाले कतिपय सामाग्रीहरू असुरक्षित नै रहेको शाक्यले बताए । विहारसँगै जोडिएको ठिक माथिल्लो मागमा एउटा सानो पाटी रहेको तर, त्यो पनि भत्कने अवस्थामा रहेको उनले बताए ।
भत्कन लागेको पाटीलाई पनि काष्ठकला भरेर व्यवस्थित बनाउन पाए बौद्ध धर्मको प्रवर्द्धनमा सहयोग हुने शाक्यले बताए । विहारको आफ्नो मौलिकता अनुसार विकास गर्नका लागि राज्यका विभिन्न निकायमा कुरा राखेपनि कतैबाट सुनुवाइ नभएको शाक्यले बताए । उनले विहारको विकासका लागि ज्वालामूखी गाउँपालिकाको पनि प्रतिनिधित्व गरेर निर्वाचित भई सङ्घ र प्रदेशमा गएका सांसदहरूलाई आवश्यक बजेटका लागि पहल गरिदिन आग्रह पनि गरेका छन् ।


थप फोटो:







































































Discussion about this post