- प्रेम बास्तोला,राजु झल्लुप्रसाद


धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका ऐतिहासिक, साहित्यिक, धार्मिक एवं पर्यापर्यटनका हिसाबले महत्त्वपूर्ण पालिका हो । जिल्लाको अन्य पालिका भन्दा यस पालिकामा ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक, कृषि र पर्यापर्यटनका थुप्रै गन्तव्यहरू छन्, जो व्यवस्थापकीय सुधार, प्रवर्द्धन, प्रचारप्रसार र पर्यटकको पर्खाइमा छन् । जसमध्ये एक हो, ऐतिहासिक धार्मिकस्थल- जलमूखी मन्दिर ।


यस मन्दिर ज्वालामूखी गाउँपालिका-६ मा पर्दछ आधा भाग भने धादिङकै नीलकण्ठ नगरपालिकामा पर्दछ । यसै मन्दिरको नामबाटै गाउँपालिकाको नाम ‘ज्वालामूखी’ रहन गएको हो तर शाब्दिक त्रुटिका कारण ‘जलमूखी गाउँपालिका’ हुनुपर्नेमा ‘ज्वालामूखी गाउँपालिका’ भएको र यसलाई सच्याउने प्रयत्न समेत भइरहेको छ ।
यस मन्दिरको उत्पत्तिको किंवदन्ती र स्थापनाको इतिहास निकै नै रोचक छ ।
१. जलमूखीदेवी उत्पत्तिको किंवदन्ती
जलमूखी देवीको अस्तित्व कहिलेदेखि आयो भन्ने आधिकारिक प्रमाण त छैन । तर, स्थानीय रूपमा प्रचलित किंवदन्तीले हामीलाई ४१० वर्षअघिसम्म लान्छ । लगभग ४१० वर्ष पहिले (हाल मन्दिर रहेको डाँडाभन्दा पश्चिमतर्फ) साबिकको चैनपुर गाविसस्थित सुनखानी गाउँका एकजना कामी (विश्वकर्मा) बुढा अरू बेलाजस्तै गरी पानी भर्न कुवामा गएका थिए । बिहान सबेरै पानी भर्न गएका उनले गाग्री कुवामा डुबाएर पानी भर्न कोसिस गरे । गाग्री कुनै कडा चट्टानसँग ठोकिन पुग्यो र गाग्रीको मुखले एउटा शिला बाहिर निकाल्यो । उनले त्यस शिलालाई कुवाबाट बाहिर निकाली कुवाको माथितिर फालिदिए र पानी लिएर घरमा गए ।


अर्को बिहान पनि कामी बुढा पानी भर्न गए, तर अघिल्लो दिनको घटना दोहोरियो । कोही गोठाला वा उरन्ठेउला मान्छेले कुवामा ढुङ्गा फालिदिएछ, भनेर पुनः त्यस शिलालाई उनले निकै टाढा फालिदिए र पानी लिएर घर गए । त्यो प्रक्रिया तेस्रो दिनमा पनि दोहोरियो । उनी आश्चर्यचकित भए र त्यस शिलालाई कुवाको माथिपट्टि राखेर पानी लिई फर्किए । सो साँझ उनले सपना देखे (सपनामा देवीले दर्शन दिइन् र भनिन्: म जलमुखी हुँ, तिमीले पटकपटक निकालेर फालेको शिला मै हुँ । मलाई उच्च स्थानमा राखेर पूजाआजा गरे म यहाँका सबैको कल्याण गर्नेछु ।) यति भनिसकेर देवी अन्तर्ध्यान भइन् । कामी बुढाको सपना टुट्यो ।
उनी पहिलेजस्तै गरी कुवामा गए । उनले अघिल्लो दिन कुवामाथि राखेको शिला कुवामा नै भेटियो । उनले त्यस दिन शिलालाई दर्शन गरे र पानी भरेर फर्केपछि गाउँका ठुलाबडाहरूलाई भेला गरी विगत तीन दिनदेखि भएको घटना र सपनासमेतको वर्णन गरे । सबै गाउँलेहरू जम्मा भए र कुवामा गए । उनीहरूले वेद मन्त्रोच्चारणसहित शिलालाई डोलीमा राखेर पञ्चेबाजा बजाउँदै माथिको डाँडामा लगे र एउटा विशाल साल वृक्षको फेदमा स्थापना गरी नित्य पूजाआजा गर्न थाले । यसप्रकार सो जलको मुखबाट निस्किएको शिलालाई एउटा सालको रूखमुनि स्थापन गरि लामो समयसम्म पूजापाठ गरिँदै रहियो । हाल यस ऐतिहासिक कुवाको संरक्षणको माग समेत उठिरहेको पाइन्छ ।


२. धादिङको प्रथम साहित्यकार ‘दैवज्ञकेशरी’को पालामा बन्यो मन्दिर:
पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा सहयोग गर्ने पं. चक्रपाणि अर्ज्याल (अर्याल) ले साबिकको चैनपुर गाविसस्थित सुनखानी (हालको पालिका केन्द्र) मा बिर्ता पाएका थिए । पछि, अर्ज्यालका कान्छा छोरा दैवज्ञकेशरी अर्ज्याल यहाँ आई बसेका थिए । यसैपछि, सालको फेदमा रहेको जलमूखीको शिलालाई मन्दिर ओढाएर संरक्षण गर्ने कार्य उनैको समयमा भएको अड्कल काट्न सकिन्छ । इतिहास शिरोमणि बाबुराम आचार्यद्वारा लिखित पुराना कवि र कविताका अनुसार, ‘वि.सं.१८६३ मा दैवज्ञकेशरी काठमाडौंबाट निकाला भएका कारण सुनखानी गाउँमा आफ्नो बिर्ता जग्गामा गएर बसेका थिए, त्यहीँ विद्यारण्यकेशरीको जन्म भएको थियो ।’ अर्कोतर्फ, पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सञ्चालन गर्दा उनलाई सहयोग गर्ने पण्डित चक्रपाणि अर्याललाई सुनखानीमा बिर्ता दिएका र पछि पण्डित चक्रपाणिले आफ्नो कान्छो छोरा दैवज्ञकेशरी अर्ज्याललाई त्यस बिर्ता पाएको स्थानमा ल्याएको र दैवज्ञकेशरीले त्यसै स्थानमा बस्ने इच्छा राखेको समेत उल्लेख भेटिन्छ । यी अर्ज्याल बाबुछोराको सुनखानी आगमनको मिति र कारण स्पष्ट भएको खण्डमा जलमूखीको इतिहास अझ प्रष्ट हुन् आउँदछ । यसो भन्नुको कारण तल खुल्दै जानेछ । साथै, इतिहासमा सुनखानी नजिकको जग्गा गोविन्द उपाध्यायलाई कुशविर्ता गरी श्री ५ गीर्वाणयुद्धविक्रम शाहबाट प्रदान गरिँदा दैवज्ञकेशरीको नाम उल्लेख हुनुले उनीहरू यहाँ रहेका थिए भन्ने कुरा चाहिँ प्रमाणित हुन् पुग्दछ ।


दैवज्ञकेशरी को हुन् ?
गोरखाका शाह वंशीय राजाहरूको राज्य सञ्चालन तथा एकीरणमा अर्याल वंशको मनग्ये योगदान भेटिन्छ । गोरखा राज्यका संस्थापक राजा द्रव्य शाहको दरबारका गुरु पं. नारायणदास अर्ज्यालले द्रव्य शाहलाई राजा बनाउनमा ठुलो भूमिका खेलेका थिए । त्यसपछि तीन सय वर्षसम्म अर्ज्यालहरूले गोरखा दरबारमा राजपुरोहितका काम गरे । यस अर्ज्याल वंशमा धेरै विद्वान् ज्योतिषी र कविहरू पैदा भए, जसमध्ये एक दैवज्ञकेशरी अर्ज्याल हुन् ।
दैवज्ञकेशरी अर्ज्यालको जन्म वि.सं. १८२५ मा भएको मानिन्छ । अर्ज्यालबाट नै धादिङको साहित्य सृजन परम्परा सुरुवात भएको हो, यद्यपि नेपालको प्रथम कविता- ‘पृथ्वीनारायण (राजैभक्तिकृत)’ कविता (रचनाकाल: १८२६) को रचयिता सुवानन्द दास देख्न मिल्दछ । दासका अन्य कविता नभेटिएको हुँदा अर्ज्यालद्वारा ‘गोरक्ष योगशास्त्र (१८७७)’ र ‘अश्व शुभाशुभ परीक्षा’ नामक दुईवटा कृति नै धादिङका पहिला कृतिहरू हुन् भनि दावा गर्न मिल्दछ । वि.सं. १८३९ तिरको मानिएको कवि दैवज्ञकेशरी अर्यालद्वारा लिखित ‘अश्वशुभाशुभ परीक्षा’लाई नेपाली खण्डकाव्यको पहिलो स्वरूप मानिन्छ । यसप्रकार, विभिन्न खोज तथा अनुसन्धानमा दैवज्ञकेशरी अर्ज्यालभन्दा पूर्ववर्ती साहित्यकार नभेटिएकोले यिनी नै धादिङका प्रथम साहित्यकार हुन् भनि किटान गर्न सकिन्छ । यसपछि वि.सं. १८६३ मा जन्मिएका उनैका छोरा विद्यारण्यकेशरी अर्ज्यालले सुनखानीमा बसेर युगल गीत, द्रौपदीस्तुति र वंशीचरित्र रचना गरेको पाइन्छ ।


स्मरण रहोस्, देवीको मन्दिरमा चढाएको घण्ट (हाल चोरी भइसकेको) मा समेत दैवज्ञकेशरीको नाम उल्लेखित थियो । उनले वि.सं. १८५७ को दशहरा तिथिका दिन मन्दिरमा चढाएका घण्टको व्यहोरा यसप्रकार छ,
२.१. वि. सं. १८५७ मा दैवज्ञकेशरीले चढाएको घण्टको घण्टाभिषेक-
श्री मुनिबाणाष्ट विधुभिम्मिते विक्रमबत्सरे ।
ज्वालामुखी प्रीतिहेतो पुण्ये दशहरा तिथौ ।। १
स्तम्भद्वयाद्वारशोभां श्रृ खला कुटलम्वबनीम् ।
समर्पयेदिमां घण्टा द्विजो दैवज्ञ केशरी ।। २
शुभमस्तु ।। धानि ३२ सेर १ ।। तोला ।। ४ ।।
(स्रोत: रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण (०३२ साल), पुरातत्त्व विभाग)’
यस घण्टको घेरोमा लेखिएको घण्टाभिषेकका सम्बन्धमा अध्येता हरि खनाल लेख्छन्, “लेखकले जलमूखीको अध्ययनको क्रममा घण्टको समेत अवलोकन गरि त्यसमा कुँदिएका श्लोकहरूको व्यापक अर्थ खोजेको थियो । घण्टको घेरोमा लेखिएको श्लोक टिपोट गरेर छलफल गर्दा उक्त घण्ट वि.सं. १८५७ को दशहरा तिथिका दिन दैवज्ञकेशरी अर्यालले चढाएको निष्कर्ष निकालियो । स्थानीय अर्यालहरूका अनुसार (नोदराज र नर्मराज), दैवज्ञकेशरी अर्ज्याल वि.सं. १८५० पछि नै त्यस स्थानमा आएका थिए भन्ने भनाइले यस कुरालाई पुष्टि गर्न आधार दिन्छ । घण्ट मन्दिरको निर्माण सकिएपछि चढाइएकोले मन्दिर निर्माण पनि वि.सं. १८५६/ ५७ मा सम्पन्न भएको अनुमान गर्न सकिन्छ र यसको निर्माणमा प्रधानमन्त्री भीमसेन थापासँग सहयोग लिने कार्य दैवज्ञकेशरीबाट नै सम्भव भएको अनुमान गर्न सकिन्छ (स्रोत: मुरलीभञ्ज्याङ र चैनपुरको सेरोफेरो: धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू, पर्यटकीय विम्बचित्रमा धादिङ) ।”
तर, इतिहासशिरोमणि आचार्यले ‘वि.सं.१८६३ मा दैवज्ञकेशरी काठमाडौंबाट निकाला भएका कारण..’ भनेकाले खनाल र आचार्यको भनाइ परस्परमा काटिन पुग्दछ । किनभने बाबुराम आचार्यले बताएबमोजिम वि.सं. १८६३ मा काठमाडौंबाट निकालिएका दैवज्ञकेशरीले वि.सं. १८५७ को दशहरा तिथिमा धादिङ आई जलमूखीमा घण्ट चढाउन मिल्दैन । खनालको तर्कलाई विभागको अनुसन्धान भ्रमणले समर्थन भने गरेको छ, किनभने उसले ‘वि.सं. १८५७ मा दैवज्ञकेशरीले चढाएको घण्टको घण्टाभिषेक’को व्योहरा लिखितरूपमा उतारी प्रकाशित समेत गरेको छ । इतिहासले बहुमतलाई कदर नगर्ने हुँदा दैवज्ञकेशरी काठमाडौंबाट सुनखानी आइपुगेको वास्तविक मिति र कारण पत्ता लगाउन सकेमा मात्रै यो ६ वर्ष अन्तरालको साँचो छिनोफानो सम्भव छ । साथै, यस विवादबाट दैवज्ञकेशरी सुनखानीमा जन्मिएको नभई यहाँ आएर साहित्य साधनामा जुटेको चाहिँ प्रष्ट हुन् आउँछ ।


स्पोष्टोक्ति: विभाग एवं हरि खनालले प्रत्यक्ष देखेका, पढेका घण्टाभिषेक सहितको ऐतिहासिक घण्ट २०६० सालको कार्तिक महिनामा चोरी भइसकेको हुनाले हामीसँग यतिबेला एउटा निचोडमा पुग्नुपर्नै बाध्यता आइपरेको छ । पुरातत्व विभागले अनुसन्धान भ्रमण नै गरेको हुँदा हामीले ‘वि.सं. १८५७ मा दैवज्ञकेशरीले चढाएको घण्टको घण्टाभिषेक’लाई आधिकारिक मानि अगाडि बढ्नु उचित हुन् सक्दछ, यद्यपि यस सम्बन्धमा ठोस अध्ययन भने गर्न सकिन्छ नै । जे होस्, त्यस कार्य नभएसम्मका लागि धादिङका प्रथम साहित्यकार दैवज्ञकेशरी अर्ज्यालले तत्कालिन समयका प्रधानमन्त्री भीमसेन थापासँग सहयोग लिई यस मन्दिर निर्माण गरेका हुन् भन्न सकिन्छ । भीमसेन थापाले बुङ्कोटघाटमा सत्तल, कालिका शिवालय सत्तल, खरिकोट (त्रिपुरासुन्दरी माइको थान) लाई गुठि बक्सिस, माख्लो हटियामा भीमसेनस्थान निर्माण आदि गरेको देखिन आएकाले सोहीताका दैवज्ञकेशरी अर्ज्यालको सल्लाहमा जलमुखी मन्दिर निर्माणलाई अगाडि बढाएका हुन् भन्न सकिन्छ । दैवज्ञकेशरीको राजघरानासँग सम्बन्ध भएको र छिमेकी स्थान (गोरखा) का व्यक्ति जनरल भीमसेन थापाको राजकाजमा प्रमुख वर्चस्व कायम भएको बेला गरिएका देशव्यापी पाटीपौवा, मठमन्दिर निर्माणको क्रममा जलमूखी मन्दिर पनि निर्माण हुनु धेरै सम्भव छ ।
भीमसेन थापाको राजकाजमा प्रमुख वर्चस्व कायम भएको बेलामा उनैको सहयोगमा दैवज्ञकेशरीको अगुवाई एवं स्थानीयहरूद्वारा जलमूखी मन्दिर निर्माण भएको हुनुपर्दछ । साथै, मन्दिर बनिसकेपछी घण्टा चढाइने हुनाले वि.सं. १८५७ अघि नै जलमुखी माईको मन्दिर बनेको अनुमान गर्न सकिन्छ । यस हिसाबले जलमूखी शिलाको संरक्षणको लागि मन्दिर निर्माण भएको २२३ वर्ष भयो । करिब ४१० वर्षअघिको किम्वदन्ती रहेको हुँदा करिब १८७ वर्ष जलमूखी शिला सालको फेदमा नै रहिन् ।
(हामी खुसी के कुरामा हुन् सक्दछौं भने त्यतिबेला विभागले गरेको अध्ययन भ्रमणका कारण हामीसँग कमसेकम घण्टाभिषेक सुरक्षित रहन सकेको छ, तर सो ऐतिहासिक घण्टको यद्यपि खोजी कार्य गर्न सकेमा जलमूखीको इतिहास अझ सुरक्षित र व्यवस्थित हुने थियो ।)


२.१.१. ऐतिहासिक घण्टाभिषेकसहितको घण्ट चोरीको कथा:
प्रस्तुत स्पष्टोक्तिपश्चात् हामी चोरिएको घण्टको कथालाई अगाडि सारौँ, जसलाई अध्येता हरि खनालले यसप्रकार अगाडि बढाउँछन्, “मन्दिरको ऐतिहासिकतालाई प्रतिनिधित्व गरिरहेको एउटा घण्ट थियो, जुन ३२ धार्नी १ सेर र ४ तोला वजनको थियो । हानको नित्य पूजाको क्रममा पुजारीको आगमन र भक्तजनको आगमनलाई त्यही घण्ट रन्किएर सञ्चार गर्दथ्यो । त्यहिँ घण्ट थियो, जसले मन्दिरको निर्माणको इतिहास बताउँथ्यो । त्यसै घण्टको आधारमा लेखकले स्थानीय समुदायका जानकारहरूसँग यस मन्दिरको ऐतिहासिकताका विषयमा कुराकानी गर्ने अवसर पाएको थियो । त्यस घण्ट पनि २०६० सालको कार्तिक महिनामा अपराधीहरूको कर्तुतको शिकार भयो । मन्दिरमा शून्यता छाएपछि स्थानीय वासिन्दाहरूले घण्ट हराएको शंका गरे । नित्य पूजा गर्न गएका पुजारी घण्ट नदेखेर भावुक भए तर पहिलेजस्तै चोरहरू कुनै कानुनी कारबाहीको दायरामा आउनु परेन । घण्ट स्थायी रूपले हरायो । स्थानीयवासीहरूले परम्परागत रूपमा चिन्ता व्यक्त गरे । मन्दिर उजाडियो । अचेल सानासाना घण्टहरूमात्र बज्ने गर्छन् । जलमूखीमा अब ३२ धार्नीको घण्टको आवाजले वरिपरिका गाविसहरूमा मन्दिरको चहलपहल सुनाउँदैन (स्रोत: मुरलीभञ्ज्याङ र चैनपुरको सेरोफेरो: धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू, पर्यटकीय विम्बचित्रमा धादिङ) ।” हाल मन्दिर परिसरमा साना ४ वटा घण्टहरू झुन्डिएका छन् ।


भुइँचालोपश्चात् पुनर्निर्माण गरिएको यस मन्दिरले हालैसम्म पनि सो ऐतिहासिक घण्टको झल्को दिईरहने ज्वालामूखी वडा-३ निवासी रेवतीरमण भट्ट बताउँछन् । “मेरो सालो ‘कृष्ण अर्याल’को बिहे त्यहि मन्दिरमा भएकाले मलाई त्यस बडेमानको घण्टको तौल राम्रैसँग याद छ । साङ्लोले बाँधेर राखेको सो घण्ट उचालेको थिएँ, घण्ट उचालेमा गानो गएको बिसेक हुन्छ भनिन्थ्यो । त्यसपछि मलाई गालो गएको छैन, सत रहेछ ।”, उनी भन्छन् । (भट्ट पंक्तिकार झल्लु प्रसादको पिता हुन् ।)
चोरिएको घण्टको कथापश्चात् हामी चोरिएको ऐतिहासिक ढलौटको सिंह कथालाई अगाडि सार्नेछौं ।


२.२. ढलौटको सिंह पनि रहेन:
पहिले रहेको मन्दिरमा ढलौटको एक विशाल सिंहको मूर्ति थियो । हाल सिमेन्टले कुँदेर सिंह राखिएको छ, तर यसलाई ढलौटकै राख्दा उपयुक्त हुन्थ्यो । यस सिंह कसले चढाएको हो भन्नेबारेमा सिंह चढाई समर्पण गर्दाको ताम्रपत्रले यस्तो बताउँदछ;
२.२.१. सिंह चढाई समर्पण गर्दाको ताम्रपत्र:
ज्वालामायिको
श्री मद्गंगा बहादुर इति सुकृतिना चीक कर्णेल नाम्ना
मासेस्मिन्विक्रमाS व्दे रसवसुनव भू (१९८६) सम्मिते
ह्याश्विनेहा/धा
भक्त्यासिंहोन्यवेदि त्रिभुवन नमिते ज्वालिके प्रीतयेते
भक्त दीनं वरेप्सुं चरण शरणगं पाहिमातर्नमस्ते ||१|,
चीफ कर्णेल भनी वडा भगत श्री गङ्गावहादुरले ।
उण्डैस्सौं र छ्यासि सम्वत् महां अर्पण गरें प्रीतिले
हे ज्वालामुखी मायि यो हजुरका सिंहै चरणमा रहोस्
वर इच्छा गरी भक्त छू चरणमा रक्षा सदा गर्नु होस् ॥२
(स्रोत: रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण (०३२ साल), पुरातत्त्व विभाग)
चिफ कर्णेल गङ्गाबहादुरले वि.सं. १९८६ सालमा ढलौटको सिंह देवीको शरणमा चढाएको व्यहोरा यस ताम्रपत्रले बोल्दछ । अध्येता हरि खनालका अनुसार, हाल नित्य पूजा चलाइरहेका लक्ष्मण शाक्यसँग सो ताम्रपत्र रहेको छ । माथि उल्लेखित गरियो, हाल चिफ कर्णेल गङ्गाबहादुरले चढाएको सिंहको मूर्ति छैन । ढलौटको विशाल सिंहको मूर्ति सँगसँगै मन्दिरबाट जल स्वर्णमुकुट पनि चोरी भएको हो । वि.सं २०३८ तिर करिब प्रन्ध्र दिनको अन्तारलमा ती दुवै अमुल्य वस्तु चोरिएको पुजारी लक्ष्मणको हवाला दिँदै खनालले उल्लेख गरेका छन् । ढलौटको सिंह चोरिएर विदीर्ण भएको मन्दिरमा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य श्री हरिबहादुर थापाले हालको सिमेन्ट निर्मित सिंह राख्न लगाएका हुन् ।


३. जलमूखी माईको नित्य पूजाको व्यवस्थाका लागि भएको लालमोहर (ताम्रपत्र)
अब हामी जलमूखी माईको नित्य पूजाको व्यवस्थाका लागि भएको लालमोहरका सम्बन्धमा चर्चा गर्नेछौं, जसले देवीको इतिहास एवं मन्दिर निर्माणकालबारे बताउँदछ ।
१८४९ साल वैशाष सुदी १५ रोज
“आगे नीगालपानीका श्री ज्वालामुखी दैवीलाई अघिका उभ्राउले पानी मुणी माथिका बेहोरोनु समेत मुरी । २० गुठी खेत वहाको रहेछ । तसमाथि आसी खोला पारी साङकोसेले विरायेको बेहोरौटको मुरी । २० स्मेत जम्मा मुरी । ४० खेत हठी आफ्नी खोलो सावारी भित्रमा पुरुबेसी ३ जन्याको उनारी समेत मुरी गरी चढाएको तस्को पुजा- हारी वैद् देवधरज वाडालाई बकस नीत्यैनैनीले पूजा गर्नु तसको सेखि वाहीरह पाको गुठी भोगगरे” यो लालमोहर वैद्य धनराज वाँडालाई बकस नीत्यैनैनीले पूजा गर्नु तसको सेखि वाहीरह पाको गुठी भोगगरे”
यो लालमोहर वैद्य धनराज वाडालाई वि.सं. १८४९ वैशाखमा मा श्री ५ महाराजाधिराज रणबहादुर शाह (१८३४-१८५५) मा बक्सेका हुन् । (स्रोत: रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण (०३२ साल), पुरातत्त्व विभाग)
२०३२ सालमा विभागद्वारा देवीप्रसाद लम्साल, बलराम चित्रकार र राधेश्याम भट्टराईद्वारा ‘रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण’ गरिएको थियो, जसअनुसार, “शिलरूप माईको मूतिका वरिपरि उनका गण रहेका थिए । ती कुनै अंगप्रत्यंग अर्थात् मूति नै छन् त कुनै शिला रूपमा रहेका थिए । अग्लो थुम्कोमा अवस्थित सो मन्दिरको भित्री भाग १.९५ x १.८४ मिटर छ भने बाहिरी घेरा ३.४७ × ३.४७ मिटरको रहेको थियो । हाल नयाँ मन्दिर नयाँ संरचनामा बनिसकेको हुँदा यसमा फेरबदल आएको छ ।
स्पष्टोक्ति: विभागद्वारा गरिएको अनुसन्धानमा भ्रमणमा उतारिएको लालमोहर, तामपत्र एवं घण्टाभिषेकमा र सो अध्ययनको व्यहोरामा ‘ज्वालामुखी, ज्वालामाई’ मात्रै भेटिनु दुख:द छ । विभागबाट पुरातात्त्विक अध्ययन गरिँदा यस्ता विवादबारे सम्बोधन नभएको पाइन्छ । सँगै, हामीसँग ऐतिहासिक घण्ट र सिंह दुवै नहुनुले त्यसको तथ्यजाँच गर्न नसकिने अवस्था पनि रहेको छ । तर, त्यसो भन्दैमा जलमूखीदेवीलाई ‘ज्वालामूखीदेवी’ भन्न हतारिनुहुँदैन ।



४. पूजा र गुठ:
माईका पुजारीवंश परम्परागत रूपमा बाँडाहरू हुन्छन् । पूजा बिहानबेलुका अटूट हुन्छ । मन्दिरमा नित्य पूजाआजा चलाउनका लागि दुई किसिमका गुठीहरूको व्यवस्था गरिएको छ । पूजारी र दमाई (वाजे) हरूका निम्ति सरकारी गूठको राम्रो प्रबन्ध छ । करिब २२४ मुरी माटोको गुठी व्यवस्था भएपनि यसले मन्दिरको संरक्षण तथा संवर्द्धनमा खासै उल्लेख्य काम गरेको देखिँदैन ।
जलमूखीको मन्दिर परिसरमा नित्य पूजाआजा चल्ने व्यवस्था छ । यसबाहेक दसैँको बेला गरिने नवरात्री पाठ, महाअष्टमीमा गरिने बली पनि यस मन्दिरको अर्को विशेषता हो । बर्सेनी धान्य पूर्णिमाका दिन विशेष पूजा गर्ने प्रथा हालसम्म छँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन र पञ्चमीका दिन तथा फागु पूर्णिमाका साँझ यो मन्दिरमा मेला लाग्ने गर्दछ । मेलामा, काठमाडौं, छिमेकी पालिका, गोरखादेखि नुवाकोटसम्मका श्रद्धालुहरू आउने गर्दछन् । कार्तिक शुक्ल पूर्णिमाका दिन र पञ्चमीका दिन श्रद्धालु भक्तजनहरूले बाबियोले बनेको डोरीमा रङ्गीचङ्गी फूल उनेर त्यसलाई डोलीमा राखी पञ्चेबाजा बजाउँदै, गाउँदै र नाच्दै मन्दिर आउने चलन छ । मन्दिरको वरिपरि फूलको डोली बाँधेर बडाँ दिने गर्दछन् । अन्य श्रद्धालु गृहिणीहरू रातभरि जाग्राम बसेर तेलको बत्ती बाल्दछन्, कतिपयले यो मन्दिरमा महाद्विप पनि बाल्दै आएका छन् । मानिसहरूले भजन, कीर्तन, नाचगान गर्दछन्, जलमूखीदेवीको नाममा पूजाआजा तथा गौदान गरेपछि मात्र फूल विसर्जन गरी घर जाने चलन थियो । तर हिजोआज भने ती चलन चलनमै सीमित जस्तो भएको स्थानीय बुढापाकाहरू बताउँछन् । जाँडरक्सी, होहल्ला झैँझगडाका कारण यस्तो संस्कार र चलन मेटिँदै गएको उनीहरूको दाबी छ ।






५. पहिरोको जोखिममा मन्दिर
जलमूखीदेवी मन्दिर भएको पहाडको टुप्पोको ठिक उत्तर पश्चिमतर्फ डरलाग्दो भिरालो छ । भिरालोमा सल्लाका रुखहरू भएपछि पहिरोको जोखिम उच्च रहेको ज्वालामूखी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष किशोर सेढाई बताउँछन् । सानोतिनो बजेटले मन्दिर आउने भक्तजनहरूका लागि चारै तर्फ कङ्क्रिटको सिटी बनाउने काम भएपनि मन्दिरलाई पहिरोबाट जोगाउनका लागि व्यवस्थित मजबुत वाल लगाउन नसकिरहेको सेढाईले बताए । ऐतिहासिक मन्दिरलाई प्रवर्द्धन गर्ने हो भने पालिकाको मात्रै नभई देशकै एउटा उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बन्नेमा आफू विश्वस्त रहेको उनले बताए । तर ऐतिहासिक धार्मिक महत्त्व बोकेको मन्दिर भएको क्षेत्रलाई सधैँभरि पहिरोको जोखिमबाट जोगाई राख्न सक्ने अवस्था नरहेको उनले बताए ।
प्रदेश सरकार र स्थानीय पालिकाको केही बजेटले मन्दिरमा भीडभाड बढी हुँदा भक्तजनहरू नखसुन् भनेर सामान्य प्रोटेक्सन वाल लगाएपनि पहिरो नै रोक्ने गरिएको वाल निर्माण गर्न नसकेको सेढाईले बताए । उनले यो मन्दिरलाई पहिरोबाट जोगाउनका लागि व्यवस्थित वाल निर्माण गर्न सङ्घीय र प्रदेश सरकारले विशेष बजेटको व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन् ।
यसैगरी, हालसालै पुनर्निमाण सम्पन्न यस मन्दिरको दायाँतिर एउटा पाटी रहेको छ । सो पाटीमन्दिरमा पूजा गर्न र बत्ती बाल्न जाग्राम बस्न आउने भक्तजनहरूको सजिलो लागि निर्माण गरिएको देखिन्छ, तर यस पाटीका कारण मन्दिरको क्षेत्र साँघुरो भएकाले वडाले त्यस पाटीलाई अलि पर सार्ने काम समेत गरिरहेको छ ।


६. यसरी पुगिन्छ जलमूखी मन्दिर
जिल्ला सदरमुकाम धादिङवेशीबाट करिब दुई घण्टाको पैदलयात्रा अथवा सवा घण्टाको बस यात्रापछि मन्दिर नजिकै पुग्न सकिन्छ । जलमूखी मन्दिर पुग्नुअघि गोलादेवीको पनि दर्शन गर्न सकिन्छ ।
मन्दिरको तल्लो भागबाट करिब ३० मिनेटको पैदलयात्रा वा साना सवारी साधनमार्फत मन्दिरको पाउमै पुग्न सकिन्छ । त्यहाँबाट करिब ७ मिनेट रेलिङ सहितको सिँढी उक्लेपछि पहाडको टुप्पोमा रहेको जलमूखी मन्दिर पुग्न सकिन्छ । मन्दिर रहेको पहाडको टुप्पो वरिपरि घना सल्लाघारीले र गुराँसका बोटहरूले ढाँकेको छ भने मन्दिर प्रवेश गर्नुपूर्व फूलपाती चढाउने देउराली समेत रहेको छ ।




७. गोलादेवी:
यस मन्दिर पुग्नुअघि विश्वकर्माहरूको सुन्दर बस्तीबाट बायाँ लागेपछि मन्दिरको फेदीमा रहेको मुरलीभञ्ज्याङ आउँछ । साबिकको मुरलीभञ्ज्याङ गाविस को वडा नं. ९ को काफलपानी गाउँमा गुरुङहरूको बाक्लो बस्ती रहेको छ । यस दिशाबाट पनि जलमूखी मन्दिरमा पुग्न सकिन्छ ।
मन्दिर उक्लिनुअघि एउटा सानो मन्दिर छ, जसलाई ‘गोलादेवी’ भनिन्छ । गोलादेवी एउटा ठूलो गोलाकार शिला हो । कुनैबेला यो शिला उचाल्दा गानोगोला कम हुने तथा धर्म मिल्ने विश्वास गरिन्थ्यो । ठूलो शिला उचाल्दा धेरै जोखिम हुने भएकाले यतिबेला सो शिलालाई गाडेर राखिएको छ र त्यसैमा पूजाआजा गरिँदै आइएको छ ।


गोलादेवी मन्दिरलाई पार गरेर सिँढी उक्लिन थालेपछि जलमूखी मन्दिरको परिसरतर्फ लागिन्छ । सिँढीको उकालो चढ्दा लाग्ने थकानलाई मन्दिर परिसरभित्र पुगेपछि त्यहाँबाट देखिने मनोरम दृश्यहरूले बिर्साइदिन्छ । वसन्त ऋतुको समयमा फूलेका लालीगुराँसहरू र सो क्षेत्रमा मिठो आवाजले अलग्गै आनन्द दिन्छ । मन्दिर परिसरमा चल्ने सिरसिर बतासमा सुस्ताउनुको मज्जा बेग्लै हुन्छ ।
८. मन्दिरबाट गरिने दृश्यावलोकन
मन्दिर परिसरमा उभिएर आँखु र बुढीगण्डकीको काखमा लम्पसार परेर सुतेको सल्यानटार, धावा लगायत गोरखाका कैयन उत्तरपश्चिमी भूभागका अतिरिक्त धादिङ जिल्लाको पुरानो सदरमुकाम सुनौलाबजार, कुम्पुर, नीलकण्ठ, खाल्टे, ढोला, चैनपुर, धुवाँकोटदेखि उत्तरका विभिन्न पालिकाहरू मज्जाले एकसाथ हेर्न सकिन्छ । बूढापाकाहरू यहाँबाट चन्द्रागिरि समेत हेर्न सकिने बताउँछन् । मन्दिरको परिसरबाट गणेश हिमाल, लाङटाङ हिमाल तथा अन्नपूर्ण हिमशृङ्खलाहरू मुसुक्क हाँसेझैँ देखिन्छ ।




स्रोत-सन्दर्भ सूचिहरू:
१. रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण, पुरातत्त्व विभाग, २०३२
२. मुरलीभञ्ज्याङ र चैनपुरको सेरोफेरो: धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू, पर्यटकीय विम्बचित्रमा धादिङ, २०६८
३. पुराना कवि र कविता, बाबुराम आचार्य
४. जलमूखी मन्दिरको ऐतिहासिक विवेचना, राजु झल्लु प्रसाद, हिमालदर्पण, २०७९
५. देवी नेपाल: खण्डकाव्य के हो र कसरी लेखिन्छ ?, साहित्यपोस्ट, २०७९
६. वडाध्यक्ष किशोर सेढाईसँगको भेटघाट एवं स्थलगत अध्ययन ।
७. फोटो स्रोत: जलमूखी मन्दिर
थप फोटोहरू:















सुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण, पुरातत्त्व विभाग, २०३२ यहाँ पढ्न सक्नुहुनेछ




























































Discussion about this post