नेपाली खानाको स्वाद विश्वलाई चखाउँदै खानाका परिकार बनाउने विधिहरूको अध्ययन, अभिलेखीकरण र प्रचारप्रसार गरी खाद्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याइरहेका चालिसे नेपाली परिकारलाई अन्तर्राष्ट्रिय तहमा पुर्याउने खाद्य दूत हुन् ।
नेपाली खाना भन्ने बित्तिकै हामीमध्ये धेरैले ‘दालभात र तरकारी’ मात्र सम्झन्छौँ । तर दालभात, गुन्द्रुक र ढिँडो मात्र हाम्रो खानाको पहिचान हो त ? होइन ।
हाम्रो देशमा १२६ भन्दा बढी जातजाति छन् । उनीहरूका आआफ्नै परिकार छन् । यी सबै रैथाने खानाहरू नेपालीको पहिचान हो । गाउँघरमा सीमित खानालाई रेस्टुराँको मेनुमा ल्याउने काम चुनौतीपूर्ण हुन्छ । तर, सो चुनौतीपूर्ण यात्रामा प्रतिबद्ध व्यक्ति हुन्, कर्पोरेट सेफ कुमार चालिसे । उनी नेपाली खानाको स्वाद विश्वलाई चखाउँदै खानाका परिकार बनाउने विधिहरूको अध्ययन, अभिलेखीकरण र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्याइरहेका छन् । यसकारण भन्न सकिन्छ, चालिसे नेपाली परिकारलाई अन्तर्राष्ट्रिय तहमा पुर्याउने खाद्य दूत हुन् ।
चालिसे आफैँ कुशल भान्छे त हुँदै हुन्, त्यसबाहेक कुशल प्रशिक्षक पनि हुन् । उनी कहिले होटेल व्यवस्थापन तालिममा सक्रिय हुन्छन् त कहिले होमस्टे तालिममा । बरोबर गाउँघरतिर डुलिरहन्छन् । हिमाल, पहाड र तराईका खानालाई एउटै मेनुमा ल्याइसकेका छन् उनले । उनीसँग उनकै ४५० भन्दा बेसी नेपाली रैथाने परिकारहरूको सूची छ । उनी आफ्नो पाक कलाकै कारण विश्व घुमिरहेका छन् भने नेपाली मौलिक परिकारको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा विस्तार गराउन अहोरात्र खटिरहेका छन् ।
अष्ट्रेलिया, मलेसिया, स्विट्जरल्याण्ड, जर्मन, चीन, मकाउ, हङकङ, बंगलादेश, कतार, फ्रान्स जापान, लन्डन, म्यानमार, कोरिया, स्पेन, रुस, भारत, पाकिस्तान, दुबई जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना प्रेमीहरूको बजारमा नेपाली खानाको प्रवर्द्धन एवम् खाद्य गुणस्तरबारे वकालत गर्दै आइरहेका चालिसेको परिचय यतिमै सीमित छैन, उनी जम्बुदीप बैंक्वेट चेन, गेट कलेज, रोयल सिंगी होटेल र बाजेको सेकुवाका लागि हेड शेफ समेत रहिसकेका छन् । हाल उनी चिकेन स्टेसन, नेपालसँग कर्पोरेट शेफको रूपमा संलग्न छन्, जहाँ ४५ चेन रेस्टुरेन्टहरूको खाना र रेसिपीहरू तयार पार्ने एवम् चिकेन स्टेशनलाई नेपालमा प्रख्यात रेस्टुरेन्ट बनाउने लक्ष्य राखेर काम गरिरहेका छन् । यसका साथै, उनीसँग बेल्ली मोमो/क्याफेरिना, सिभिल मल फुड कोर्ट, बाजेको भेन्चर, मार्को पोलो होटेल, मोजो बुटिक होटेल, प्रिमियर होटेल, टाइम्स स्क्वायर फुड कोर्ट, सिटी सेन्टर फुड कोर्ट, पुजन होटेल जस्ता बहुमुखी खानाका राष्ट्रिय कम्पनीहरूमा सल्लाहकारको रूपमा काम गरेको अनुभव समेत छ । यसकारण कुमार चालिसे नेपाली रैथाने स्वादको प्रचारक एवम् एक विराट व्यक्तित्व हुन् भन्दा अतिशयोक्ति हुँदैन ।
सन् १९९८ देखि काठमाडौंको एउटा होटेलमा प्रशिक्षार्थीका रूपमा आफ्नो पाक यात्रा सुरु गरेका चालिसेको पाक यात्रामा निखरता भने दुबईको ग्राण्ड मुभ होटेल र दुबई के-पोर्ट इनमा शेफको रूपमा काम गरेसँगै सुरु भएको थियो । यसपछिका दिनहरूमा उनले विश्वका खानाका पारखीहरूमाझ नेपाली परिकारहरू पस्किएर सकारात्मक प्रतिक्रिया बटुल्ने कार्यमा नै आफूलाई अग्रसर गराए । सन् २०१३ मा ३२ देशहरू सहभागी भएको मकाउ महोत्सवमा उनको नेपाली खानाको स्टलले सबैभन्दा धेरै खाना बिक्री गर्यो, जसबापत उनले उत्कृष्ट शेफ प्रदर्शन पुरस्कार प्राप्त गरे । सन् २०१४ मा स्विट्जरल्याण्डको चुरखुर -पाससुग महोत्सवमा करिब २,००० जनालाई मोमो र चटामरी चखाएबापत त्यहाँका पत्रपत्रिकाको पृष्ठमा छाए । यसैगरि, सन् २०१६ मा भएको सिद्नु फुड फेस्टिभलमा ‘एक दिने पपअप रेष्टुरेन्ट’ खोलेर नेपाली खाना प्रस्तुत गरे, जसकारण सन् २०१७ मा स्वीस होटेल एसोसिएसनले उनलाई नेपाली खानाको पप-अप रेष्टुरेन्ट सञ्चालनका लागि स्विजरल्याण्डको थुन सहरमा बोलायो, गेट कलेजको सहयोगमा त्यहाँ पनि उनी आफ्नो प्रभाव छाड्न सफल भए । यसबाहेक, चालिसे वर्ल्ड शेफ एसोसिएसनले आयोजना गरेको म्यानमार भ्रमणमा १० हजार मानिसलाई खाना खुवाउने, वर्ल्ड शेफ विथवाउट बोर्डर र सीमान्तकृत समुदायका महिलालाई विभिन्न खाना बनाउन तालिम दिने जस्ता परोपकारी कार्यमा पनि संलग्न भइसकेका छन् । उनी सन् २०१८ र २०२० को फर्स्ट कस्मोपोलिटन, र कर्पोरेट शेफबाट समेत सम्मानित छन् ।
चालिसे देशभरका विभिन्न होटेल, रेष्टुरेन्ट, कलेज र संस्थाहरूमा खाद्य स्वच्छता सिकाउने प्रशिक्षक त हुन् नै, सिटीईभिटीबाट मूल्याङ्कनप्राप्त विभिन्न रेस्टुरेन्ट र होटेलहरूमा स्टाफ प्रशिक्षण र सीप मूल्याङ्कन गर्ने प्रमाणित मूल्याङ्कनकर्ता समेत हुन् । सन् २०१६ देखि २०१९ सम्म शेफ एसोसिएसन नेपालमा कार्यकारी बोर्ड सदस्य समेत रहेका चालिसे सन् २०१९ मा नेपाल सरकार, एनएसटीबी तथा स्विस डेभलपमेन्ट कर्पोरेशन (एसडीसी)को सहयोगमा सञ्चालित नेशनल स्किल कम्पिटिशन इन कुकुरीमा राष्ट्रिय संयोजकको रूपमा उपस्थित भए । यस अलावा, उनी वर्षौँदेखि खाना पकाउने प्रतियोगिताहरूमा निर्णायकको भूमिकामा निर्वाह गर्दै आइरहेका छन् । चालिसे कुलिनरी आर्ट्स ट्रेनिङ, किचेन सेटअप, नयाँ खाना विकास लगायतका कार्यहरूमा नेतृत्वदायी भूमिका समेत निभाउने गर्दछन् ।
चालिसे हाल प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (CTEvt) का लागि खाद्य उत्पादनसम्बन्धी पाठ्यक्रम विकास गर्ने कार्यमा लागिरहेका छन् । गेट कलेज, काठमाडौं र ग्लोबल कलेजमा बीएचएमका विद्यार्थीहरूलाई खाद्य उत्पादन अध्यायपन गराइसकेका चालिसे हाल काठमाडौंको एपोलो इन्टरनेशनल कलेजमा अध्यापन गराउने गर्दछन् । उनी विगतका वर्षहरूमा विभिन्न कलेज र संस्थाहरूमा खाद्य उत्पादन सम्बन्धी अतिथि लेक्चर रहिसकेका छन् ।
विश्व पाक बजारको आफ्नो अनुभव र स्वखोजको नतिजास्वरूप सँगालेको आफ्नो ज्ञानलाई उनी १० वर्षभन्दा बढी समयदेखि शिक्षण पेशामा समेत संलग्न छन् । उनले हन्ड्रेड रेसिपी गाइडबुक, स्टेप्स अफ कुलिनरी आर्ट्स, फूड हाइजीन र पोर्क कुलिनरी जस्ता खाद्य पुस्तकहरू प्रकाशित गरिसकेका छन् । स्टेप्स अफ कलिनरी आर्ट्स नामक पुस्तकलाई प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण तालिम परिषद् (CTEvt)द्वारा Reference Book पाठ्यक्रमको रूपमा अनुमोदन भइसकेको छ । यस पुस्तकलाई विभिन्न कलेजहरूले होटेल व्यवस्थापनतर्फको विद्यार्थीहरूका लागि अध्यापन गराउन स्वीकृति दिइसकेको छ ।
विश्वका खानाका पारखीहरुमाझ नेपाली परिकार पुर्याई सकारात्मक प्रतिक्रिया बटुलिरहेका पाकशास्त्री कुमार चालिसेसँग टूर न्यूजले ‘नेपालको खाद्य पर्यटनसम्बन्धि कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सारसंक्षेप:
“नेपाली स्याउ, कोदो, अदुवाबाट बनेका रक्सी पेरिस र पोर्चुगलका वाइनभन्दा कम छैनन् । हेलम्बुको स्याउ र जिरीको आलुको स्वादले इटलीको पिज्जाको मजा बिर्साइ दिन्छन् । पाल्पाको चुकौनीसँग काठमाडौंको नेवारी खानाले कुन चाहिँ पर्यटकको मन प्रसन्न हुँदैन होला ? भक्तपुरको जुजु धौसँग इटहरीको केरा र जनकपुरको चिउरा मिसाएर हार्दिक स्वागत र बिदाई गर्दा पर्यटक प्रसन्न नहुने भन्ने प्रश्नै आउँदैन । भौगोलिक बनावटअनुसार नेपाली खानपानमा यति धेरै विविधता छ । यो सानो कुरा होइन नि !
खाना र पर्यटन एकआपसमा जोडिएका हुन्छन् । कुनै पनि देशको पर्यटनले प्राकृतिक सुन्दरता वा सांस्कृतिक सम्पदासँग मात्रै होइन, त्यस देशको रैथाने खाना, रहनसहन र भेषभूषासँग पनि प्रत्यक्ष सरोकार राख्दछ । पर्यटकहरू नखाई घुम्दैनन्, यो वास्तविकता हो । यही तथ्य बुझेरै थाइल्याण्ड, भियतनाम, कम्बोडिया, इटाली, फ्रान्स तथा भारतले आफ्नो रैथाने परिकारहरू पस्किएर पर्यटक तान्दै आइरहेको छ । प्राकृतिक, सांस्कृतिक र भाषिक विविधता भएको नेपालसँग खानामा पनि विविधता छ किनभने यहाँ १२६ भन्दा जातजातिका आआफ्ना संस्कृति अनुसारका परिकारहरू छन् । तपाईं किराँती समुदायको घर पुग्नुभयो भने त्यहाँ ‘वाचिप्पा’ को नयाँ स्वाद पाउनुहुन्छ, उच्च हिमाली क्षेत्रमा बस्ने शेर्पा समुदायमा आगन्तुक बनेर जानुभयो भने ‘थेन्दुक’ को स्वाद चाख्न पाउनुहुन्छ । धरान पुग्नुभयो भने कालो बङ्गुरको परिकार र इलाम पुग्नुभयो भने ‘बम्बइसन’को स्वाद लिन सक्नुहुनेछ । राउटेको आफ्नै स्वाद छ, चेपाङको आफ्नै रेसिपी छ । धनाढ्य परिवारका परिकार र नेवार समुदायले वर्षभरमा खाने ८४ व्यन्जनको पृथक विशेषता छ ।
विश्वमा अहिले घुम्नसँगै मिठो खानाको लागि भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्दो छ । टर्की, इजिप्ट, मलेसिया, इन्डोनेसिया, पराग्वे, इटली, थाइल्याण्ड, जापान, स्पेनलगायत देशहरूले खाना पर्यटनकै कारण देशको अर्थतन्त्रमा टेवा पुर्याइरहेका छन् । मुस्ताङको थकाली खाना, मलेखुको माछा र पोखराको मार्फा मात्रै होइन, देशभरका विभिन्न खानाले स्वदेशी/विदेशी मञ्च पाउन सक्ने ल्याकत राख्छन् र यसमार्फत आर्थिक उपार्जनका विभिन्न आयामहरू अगाडि सर्नेछन् । किनभने नेपाली स्याउ, कोदो, अदुवाबाट बनेका रक्सी पेरिस र पोर्चुगलको वाइनभन्दा कम छैनन् । हेलम्बुको स्याउ र जिरीको आलुको स्वादले इटलीको पिज्जाको मजा बिर्साइ दिन्छन् । पाल्पाको चुकौनीसँग काठमाडौंको नेवारी खानाले कुन चाहिँ पर्यटकको मन प्रसन्न हुँदैन होला ? भक्तपुरको जुजु धौसँग इटहरीको केरा र जनकपुरको चिउरा मिसाएर हार्दिक स्वागत र बिदाई गर्दा पर्यटक प्रसन्न नहुने भन्ने प्रश्नै आउँदैन । भौगोलिक बनावटअनुसार खानपानमा यति धेरै विविधता ? यो सानो कुरा होइन नि !
तर, दुर्भाग्यसाथ भन्नुपर्छ, नेपालको खानाको परिकार पर्यटनसँग प्रत्यक्ष जोड्न सकिएको छैन । नेपाल आएका पाहुनाहरूलाई कहाँ-कहाँ घुमाउने भने निश्चित गरिएझैँ कहाँ-कहाँ पुग्दा के-के खुवाउने भनेर निश्चित गरिँदैन । पुगेको ठाउँमा जे भेटिन्छ त्यहिं खुवाएको या होटेलले आफ्नो इच्छाअनुसार खुवाइरहेका छौँ । नेपाली पर्यटकीय गन्तव्यस्थलहरूमा पक्कु, थाली, चुकौनी, समयवजी, बँदेल तारेको, सेकुवा, छोयला, करेसाबारी, खल्पी, सुकुटी, सेल रोटी, क्वाँटी, च्याउको रस, गुन्द्रुक झोल, तामा झोल, कोदो झोल, पिँडालु झोल, ग्वार्चा, भुटुवा, खिर, दहीच्युरा लगायतका विभिन्न मौलिक नेपाली खानाहरू विदेशीले देख्न नपाइरहेको तितो यथार्थ हाम्रोसामू रहेको छ । बुङ्गुर खान सधैँ धरान नै जानुपर्छ भन्ने भाष्य गलत भाष्य हो वा चुकौनी खान पाल्पा नै पुग्नुपर्छ भन्ने पनि होइन । यस कुरामा पनि तालेमल मिलिरहेको छैन । अर्को विसंगत कुरा- विदेशी पाहुनाहरू नेपाल घुम्न आउँदा बलजफ्ति पिज्जा, बर्गर, पास्ता जस्ता खानेकुरा खाइरहेका छन्, जसमा उनीहरूको कुनै इन्ट्रेस्ट देखिँदैन । हामी नेपाली खानामा दालभात-तरकारी एवम् थकाली बाहेक परिकार नै छैन जस्तो गरिरहेका छौँ, वास्तवमा त्यो साँचो होइन । हामीले मेन कोर्स, एपिटाइजर, डेजर्टका रूपमा नेपालमै उपलब्ध रैथाने स्वादहरूलाई मेन्यूमा समावेश गराउनै सकेका छैनौँ । हामीकहाँ वर्षमा लाखौँ विदेशी आउँछन् । ती विदेशीलाई नेपाली खाना चखाउन सक्ने हो भने उनीहरूले नेपाली स्वादबारे त्यत्ति सङ्ख्यामा आफ्ना आफन्तलाई भन्नेछन् । ‘माउथ पब्लिसिटी’बाटै नेपाली खानाको प्रचार सम्भव छ ।
नेपाली खाना विशेष छन्
नेपालले खाद्य पर्यटनको सम्भावनाहरूलाई औँल्याउन सकिरहेको छैन । हामी अझै पनि आफ्नो रैथाने स्वादप्रति अविश्वास एवम् हेलाभाव प्रकट गरिरहेका छौँ ।
हाम्रो खानामा विविधता छ । मसलाको प्रयोग कम हुन्छ । तरमताजा अवस्थामा नै पस्किने गर्दछौँ । अझ, हाम्रो खानामा पोषणका सबै तत्त्व पाइने गर्दछ । नेपाली परिकार विश्वका अन्य परिकारभन्दा निकै भिन्न किसिमले तयार गरिने एवम् पस्किने गरिन्छ, जो युरोपेली खाना पारखीहरूका लागि नयाँ-नौलो साबित भइरहेको छ । यसले पर्यटक अकार्षित गरिरहेको छ । नेपालमा उत्पादित कोदो, गहुँ लगायतका अन्नबाली, फलफूल, तरकारीहरू बाट थुप्रै प्रकारका खाना तयार गर्न सकिन्छ, अझ हामीकहाँ विभिन्न मसलाप्रदायक खाद्य सामाग्रीको भण्डार छ । मार्सी भात, हिमालयन दाल, माछाको झोल, करेसाबारीको साग, टिम्बुर र कुखुराको लेदो, काँक्रोको अचार, आलुको परिकार, नेपाली सलादका परिकारहरू नै उनीहरूलाई लोभ्याउन पर्याप्त छ । खोजिपसेमा यस्ता रैथाने स्वादहरू देशले भरिएको छ । हरेक गाउँसँग आफ्नो अलग्गै रेसिपी छ । हरेक गाउँको एक-एक खानाको प्रचार गरे मात्रै पनि ती ठाउँहरू पर्यटकीय गन्तव्य बन्न सक्छन् । नेपाली खाना स्थानीय पर्यटनको लागि वरदान साबित हुन् सक्छन् । मौलिक खानालाई गरिबको भान्सामा पाक्ने खानाका रूपमा होइन, आफ्नो छुट्टै पहिचान सहितको खाना रूपमा बुझ्न अत्यावश्यक भइसेकको छ ।
नेपाली खानाको प्रवर्द्धन राष्ट्रियतासँग जोडिएको छ
टर्की, इजिप्ट, मलेसिया, इन्डोनेसिया, पराग्वे, इटली, थाइल्याण्ड, जापान, स्पेनलगायत देशले झैँ खाना पर्यटनमार्फत नै नेपालको पर्यटकीय सम्भावनाको अर्को ढोका उघारिनु निश्चित छ । नेपाली खानाको प्रवर्द्धन राष्ट्रियतासँग पनि जोडिएकाले यसतर्फ राज्यको ध्यान जानसके ग्रामीण पर्यटनको विकास र विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमै नेपाली खाना संस्कृति र पहिचानलाई स्थापित गर्ने सकिने कुरामा कुनै शङ्कै छैन । मलाई विश्वास छ ५ देखि १० वर्षमा विश्वको जुन शहरमा खोजे पनि नेपाली रेष्टुरेन्ट पाउनेछ । मिथिला क्षेत्रमा अतिथिलाई सत्कारमा पस्किने मट्का चियादेखि विदाइमा डेजर्टका रुपमा खुवाइने पानसम्मका परिकारले त्यहाँको स्थानीयतालाई झल्काइरहेको छ । यस्ता उदाहरणहरू प्रशस्त छन् ।
नेपाल विश्वका खाना पारखीहरूलाई स्वागत गर्नको लागि क्षमतावान् छ, तर यसका लागि खाना पर्यटनको प्रभावकारी मार्ग निर्देशन चाहिन्छ । सरकारले खाद्य पर्यटन रणनीति अत्यावश्यक आवश्यकतालाई मनन गर्नुपर्छ ।
नेपाली रैथाने परिकारको पुस्तान्तरण नहुने डर छ
नेपालले खाद्य पर्यटनको सम्भावनाहरूलाई औँल्याउन सकिरहेको छैन । हामी अझै पनि आफ्नो रैथाने स्वादप्रति अविश्वास एवम् हेलाभाव प्रकट गरिरहेका छौँ । हाम्रो यही सामाजिक मनोविज्ञान बुझेर आधुनिक पूँजीपतिहरूले नेपालीहरूको खाना संस्कृतिमा दखल पुर्याउने विभिन्न कामहरू गरिरहेका छन् । फलतः हाम्रा भान्सामा पनि अचेल नेपाली परिकारभन्दा विदेशी परिकारले स्थान जमाइरहेका छन् । होटेल, रेस्टुराँमा पनि विदेशी परिकारको हालीमुहाली नै छ । जसले गर्दा हाम्रा खानाहरू बिस्तारै लोप हुने अवस्थामा आइसकेका छन्, यसबारे सचेत हुन् आवश्यक छ । युरोपेली पिज्जा-बर्गर वा भारतीय खानाहरूले नेपालका भान्छाहरूमा प्रवेश पाइरहँदा हाम्रा रैथाने परिकार आफ्नै भान्छादेखि बेदखल हुनु साह्रो नजाती कुरा हो । नेपाली रैथाने परिकारको खोजी, प्रवर्द्धन एवम् पुस्तान्तरण हुन् नसक्नु झनै दु:खद छ । खानाले आफ्नो परिचय परिभाषित गर्दछ भन्ने तथ्यलाई हामीले भुल्नु हुँदैन । यदि हामीले आफ्नो खानाको संस्कृति गुमाउँछौँ भने त्योसँगै हाम्रो परिचय पनि गुम्दै जानेछ ।
हामीले जसरी हिमाल, पहाड, तराईको कुरा गर्छौ, त्यसैगरि त्यहाँका खानाबाट पनि नेपाललाई पहिचान दिलाउने बेला भएको छ । नेपालका हरेक स्थानलाई खानाको नामले परिचित गराएर पर्यटनसँगै कृषि क्षेत्रमा पनि लगानी बढाउन सकिन्छ । नेपालका विभिन्न भेग, जाति तथा समुदायका खानाबारे आफ्नो प्रारम्भिक अध्ययनले त्यस्ता नेपाली खानाको विश्वबजारमा सफलताको राम्रो सम्भावना रहेको बताइरहेको छ, मेरो अनुभवले पनि त्यहीँ भन्छ । बीबीसी शेफ सन्तोष शाह लगायत व्यक्तिहरूका कारण नेपाली खानाबारे पछिल्लो समय बहस सुरु भएको छ, विदेशीहरूले नेपाली खानेबारे थोरबहुत जानकारी हासिल गरेका छन् । व्यक्तिगत प्रयासबाट गरिएका यी-यस्ता कदमहरूले अन्तर्राष्ट्रिय जगतमा पाककला र आतिथ्य सत्कारमा छुट्टै छाप छोडिरहेका छन् । बस् हामीले केही प्रयासहरू गर्नुपर्नेछ, त्यसपश्चात् नेपाल ‘सगरमाथा वा लुम्बिनीको देश मात्रै होइन, गुन्द्रुक र कटहरको दालको देश पनि हो’ भनेर विश्वमाझ चिनिनेछ ।
खाद्य पर्यटन रणनीति अत्यावश्यक छ
नेपाल विश्वका खाना पारखीहरूलाई स्वागत गर्नको लागि क्षमतावान् छ, तर यसका लागि खाना पर्यटनको प्रभावकारी मार्ग निर्देशन चाहिन्छ । सरकारले खाद्य पर्यटन रणनीति अत्यावश्यक आवश्यकतालाई मनन गर्नुपर्छ । सरकारले फूड टुरिजमलाई विशेष प्राथमिकता दिनुपर्छ । नेपालका खानेकुरा र यसका कथाहरूलाई विश्व खाना प्रेमीहरूमाझ पुर्याउनका लागि यी-यस्ता कामहरू गर्न सक्छौँ;
हाल ८० देशमा रहेका गैरआवासीय नेपालीमध्ये ९० प्रतिशत नेपाली होटेल व्यवसायमा आबद्ध छन् । रेष्टुरेन्टको नाम नेपाली भए पनि त्यहाँ नान, टिक्का, तन्दुरी लगायतका भारतीय परिकारको बाहुल्यता छ । नेपाल टूरिजम बोर्ड, शेफ एसोसियन अफ नेपाल, न्याथम, पाटा, पर्यटन मन्त्रालय, नेपाल राजदूतावास,हान आदिले संसारको विभिन्न रेष्टुरेन्टको मेनुमा मौलिक खानाहरू राख्न प्रेरित गर्नुपर्दछ ।
देश वा विदेशमा छरिएर रहेका भान्छेहरूलाई एकताबद्ध गर्न राष्ट्रले भूमिका खेल्नुपर्छ । नेपालका प्रमुख होटेलका भान्छेहरूलाई एकै ठाउँमा ल्याएर सञ्जाल बनाउन र शेफ समुदाय समक्ष सरकारले फूड टूरिजम सम्भावनाहरू केके हुन् सक्छन् भनेर वृहत् छलफल गर्नुपर्छ । खाना उत्पादन गर्ने किसानदेखि खाद्य व्यवसायीहरूसम्म मुख्य सहभागीहरूको रूपमा अगाडि आउनुपर्छ, स्थानीय उद्यमीहरूलाई पनि यस डिस्कोर्समा जोड्नुपर्छ ।
·खानाले भूगोल र संस्कृतिलाई जोड्न सक्छ । जोड्नु पनि पर्छ । त्यसैले मेनुमा विविधता चाहिन्छ । एउटा भान्छे वा होटेल/रेस्टुराँ भइसकेपछि खुरुखुरु चल्तीका परिकार मात्र पकाउने होइन, नयाँनयाँ परिकार सृजना पनि गर्नुपर्दछ । आफ्नो मेन्यूमा रैथाने परिकारहरू अनिवार्य गर्नु यसतर्फको पहिलो खुड्किला हुन् सक्छ । भनेको कुभिन्डो वा फर्सीले मेन्यूबुकमा महत्त्वपूर्ण स्थान पाउनुपर्छ ।
· रैथाने परिकारहरू चाख्दा विदेशीका जिब्रो रमाइरहेका छन्, उनीहरू अझ हाम्रा खानाहरूमा बानी पार्न आवश्यक छ । त्यसका लागि परम्परागत खाना प्लेटमा पस्कने शैलीमा परिवर्तन ल्याउनुपर्छ । शेफ भनेको ‘आर्टिस्ट’ हो । एउटै खानेकुरालाई कसरी फरक बनाउन सकिन्छ भन्ने शेफको कला हो । खानेकुरालाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा शेफमा निर्भर हुन्छ । होटेल तथा रेस्टुराँ सञ्चालक र भान्छेहरूले खानालाई माया गर्नुपर्छ । उनीहरूले आफ्ना ग्राहकलाई त्यसको महत्त्व बुझाउन सक्नुपर्छ ।
· नेपाली रैथाने खाना स्वदेशी तथा विदेशी राजदूत, निजामती कर्मचारी लगायतका व्यक्तिलाई एक चखाउने र उनीहरूबाट खानाको स्वादबारे प्रतिक्रिया लिने हो भने यसले सकारात्मक प्रचारप्रसार गर्दछ । सरकारले नेपाली खाना बनाउने सामग्रीको सहज उपलब्धताको वातावरण सिर्जना गर्नुपर्छ । सरकारले खाना, भान्सेमा प्राथमिकता दियो भने नेपाली खानाको प्रचार राम्रो हुनेछ ।
· जुन खानाले मानिसको जीवन बचाउँछ, त्यही खानाले मृत्युको मुखसम्म पनि पुर्याउन सक्छ । त्यसैले खाद्य सुरक्षाका लागि सरकारले मात्र नभई खाद्य उत्पादन, वितरण, व्यापार र उपभोगको चक्रमा रहेका प्रत्येक व्यक्ति संवेदनशील हुनुपर्ने हुन्छ । खाद्य सुरक्षाका आधारभूत पाँच तत्त्वहरू, खाना बनाउनु र खानुअघि व्यक्तिगत सरसफाइ, खानेकुरा तयारीमा तिनको पूर्व सफाइ, भान्साघरको सरसफाइ, प्याकेटबन्द खानेकुराको उत्पादन तथा उपभोग अवधिजस्ता विषयमा सचेतना अभिवृद्धि गर्नु आवश्यक छ ।
· हामीले आ-आफ्ना आमाको हातलाई चिनेका छैनौँ । हजुरआमाहरूबाट नेपाली रैथाने स्वाद सिक्न छुटाइरहेका छौँ । र सुखद पक्ष, अहिले महिला-पुरुष दुवै यो पेशामा आबद्ध भएका छन् । यो उपयुक्त बेला हो, यतिबेला नै हरेक व्यक्ति भोजन पर्यटन अभियन्ता बन्न सक्छ । विभिन्न माध्यमबाट नेपाली खाना संरक्षण एवम् प्रवर्द्धन गर्ने पुनीत कार्यमा सहभागी हौँ । अमेरिका बनाउने काम अमेरीकीले गरेका हुन्, र मलाई विश्वास छ, हामी नेपालीहरूमार्फत नै नेपाल बन्नेछ ।
विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।
Discussion about this post