- डा. मोहनप्रसाद तिमल्सिना
बडामहाराजधिराज श्री ५ पृथ्वीनारायण शाहका शब्दमा नेपाल चार जात छत्तीसवर्णको साझा फूलबारी हो । यसै क्रममा विश्लेषण गर्दा धादिङ्ग जिल्लामा धेरै प्रकारका जातजातिहरुको बसोबास परापूर्वकालबाट हुदै आएको छ । विशेषतः बूढीगण्डकी, आँखु र त्रिशुली नदीका किनारामा रहेका ठूला–ठूला टारहरुमा कुमाल जातिको बसोबास छ । सल्यानटार, जोगीटार, पिपलटार, रातमाटा, माझीटार र शसाह वेशीमा यिनीहरुको बढी बसोबास छ । आजको नेपालको जात वर्गीकरणमा जनजातिमा पर्ने यो वर्ग अशिक्षित, परम्परावादी र आफ्नै खालका सम्बन्धतामा रमाउन चाहने वर्ग विशेष हो ।


भित्री मधेश तराई र पहाडका फेदीमा बसी विशेषत: माटाका भाँडावर्तन बनाउने कुलीन परम्परा रहेको जातिका रुपमा पनि कुमाललाई चिनिन्छ । कुमाल शब्द संस्कृतको कुम्भकार शब्दबाट बनेको परिवर्तित रुप हो । कुम्भकारको अर्थ घडा बनाउने भन्ने हुन्छ । भोजपुरी भाषामा कुमाललाई ‘कुम्हार’ भनिन्छ । गीतामा समाजका व्यक्तिहरु र तिनले गर्ने कर्मका आधारमा चार वर्णमा जात विभाजनको कुरा उल्लेख भएको छ । यसबाट कुमाल कुम्भकारबाटै बनेको शब्द भन्ने पुष्टि हुन्छ । यिनीहरु माझी बोटे, थारु र कताकति मगरहरुसंँग मिल्दा जुल्दा नै देखिन्छन् ।
धादिङ्गका कुमालहरुको आगमनको विषयमा पनि विभिन्न चर्चा र आङ्कलनहरू छन् । प्रारम्भमा काठमाडौं र तराईतिरका कुमालहरु हिउँंद महिनामा समथर ठाउंँमा गएर माटाका भाँडा बनाउने गर्दथिए, कालान्तरमा त्यतै बस्न थालेका हुन सक्छन् । तराईबाट धादिङ्गका समथर टारहरुमा आएर बसोबास गरेका भए पनि तिनीहरुको सम्बन्ध थारु जाति सँगै पनि हुन सक्छ । यिनीहरुको मङ्गोलियन आकृति देखिए तापनि मूलतः आर्यजाति नै हुन्, त्यसैले भाषा धर्म र संस्कार पनि आर्यकै ग्रहण गरेका छन् । जे भए पनि आजसम्म कुमाल जातिको वंश परम्पराको अनुसन्धान नभएकाले यसै भनी ठोकेर भन्न सकिदैन ।
व्यवसायः
धादिङ्गका कुमालहरुको व्यवसाय माटाका भाँडा बनाउने होइन । यिनीहरु कृषि कार्यमा संलग्न छन् । माटका भाँडा बनाउने घरेलु सीप यिनीहरूमा छैन । आ–आफ्ना जग्गाजमीनमा खेती गर्ने, पशुपालन गर्ने, सानोतिनो व्यापार गर्ने र शहर बजारमा ज्यामी काम गर्ने जस्तो व्यवसाय गरेर धादिङ्गका कुमालहरुले आफ्नो जीवीकोपार्जन गरिरहेका छन् । कुमालहरुको बस्ती घना हुन्छ । अशिक्षाका कारण मादक पदार्थमा बढी आम्दानी खर्च गर्नु यिनीहरुको संस्कार जस्तै छ । त्यस्तै, श्रमजीवी भएकाले आरा चिर्ने, काठको काम गर्ने, घर बनाउने, भारी बोक्ने, निमेक गर्ने, जाँडरक्सी बेच्ने मात्र होइन, बूढी गण्डकी र आँखुको किनारमा बस्ने कुमालले माछा मार्ने काम पनि गर्दछन् । रुढीगत जीवन मान्यताका कारण झारफुक, टुनामुना, तन्त्रमन्त्र र लामा आदिमा यिनीहरुको बढी विश्वास छ ।


संस्कारहरुः
धादिङ्गे कुमालको मानवीय वा परम्परागत संस्कार पनि अन्य समाजमा जस्तै छ । तिनमा विशेषतः छैटी नामाकरण, पास्नी, विवाह र मृत्यु संस्कार पर्व छन् । रजश्वला हुँदा छुवाछुत बार्ने चलन यो समाजमा छैन, जुन कुरा तराईका थारुसँग मिल्दछ । सामान्यतः रजस्वला हुँदा भात पकाउने काम भने गर्दैनन् ।
अन्य जातको जस्तै बालक जन्मिएको छैटौँ दिनमा गर्ने कार्यलाई धादिङ्गे कुमालले पनि ‘छैटी’ भन्दछन् । छैटौँ दिन भावीले भाग्यरेखा कोर्ने हुनाले जाग्राम बस्ने चलन छ । नामाकरण कार्यलाई न्वारन गर्ने भन्ने चलन छ । नामाकरणमा चेलीबेटी बोलाउने र बालकको नाम पनि उनीहरुले नै जुराउने चलन छ । त्यसो गरेका कारण चेलीबेटीलाई दान, दक्षिणा, कपडा र खाने कुरा दिनुपर्छ । कुमाल समाजका सुत्केरीले नौ दिनसम्म कसैलाई छुन हुँदैन । अन्य जातको जस्तो ब्राम्हण बोलाउने चलन यो जातमा छैन । पञ्चगब्यले अभिशेक गर्ने चलन पनि छैन ।
धादिङ्गे कुमालको विवाह प्रथा दुई प्रकारको छ, जसलाई मागी विवाह र तानी विवाह भन्दछन् । केटी पहिले भित्र्याएपछि मात्र जन्ति जाने चलन छ । मागेर गर्ने विवाह मागी विवाह हो भने, तानेर वा प्रेमपूर्वक गरिने विवाह तानी विवाह हो । मगरको दैलो उकाल्ने प्रक्रियासँग कुमालको जन्तजाने प्रक्रिया मिल्छ । केटीको आमालाई दुध लगेको रुपमा पेरुङ्गो सुराई, कपडा आदि धेरै चीज लानु पर्छ ।
कुमाल परिवारमा व्रतबन्धगर्ने परम्परा छैन, मगरको जस्तै छेवर गर्ने भन्दछन् । मामा आएर केटाको कपाल काटेपछि सबै आफन्त र चेलीबेटीलाई बोलाएर भोज ख्वाउने चलन छ । पेयपदार्थ नभईकन कुमालको कुनै पनि कार्य चल्दैन ।
धादिङ्गे कुमालको अन्तेष्टी पनि आफ्नै प्रकारको छ । अझ भनौं, यो मृत्यु संस्कार अन्य जातिको र केही कुमालको आफ्नै प्रकारको भएकाले सम्मिश्रण पाराको छ । लासलाई चलाउनु अगाडि चेलीबेटीले बाटो लिने गर्दछन्, यो काठमाडौंको नेवारको परम्परासँग मिल्दोजुल्दो छ । चिता बनाउने र जलाउने प्रक्रिया भने बाहुनको जस्तै हो । बेलुका मलामी घर फर्किएपछि जाँड खानु पर्छ । ढिकुरो उठाउने १० दिनमा ढिकुरो फोर्ने प्रक्रिया अन्य जातिको जस्तै हो । विशेषतः पैतालीस दिन बर्षी बार्ने चलन छ । क्रियापुत्रीले पनि बेलुका घर फर्किएपछि जाँड खानुपर्छ ।
श्राद्धको कार्यमा पनि धादिङ्गे कुमाल पछि परेका छैनन् । श्राद्धको अगाडिको दिन कपाल काट्ने, एक छाक खाने चलन छ तर, यिनीहरु पिण्ड भने गौं वा खिरको नभई मासको पिठाको दिने गर्दछन् । यसमा पनि बाहुन चाहिँदैन, चेलीबेटी भए हुन्छ ।
धादिङ्गे कुमालको सामाजिक परिपाटि विशेषतः ढोगभेट फुकाउने भन्ने चलन छ । आदरणीय व्यक्तिहरुलाई अभिवादन गर्दा तोरे वा तोरेहरू भन्ने चलन छ ।
यस प्रकारले हेर्दा धादिङ्गे कुमालहरुमा कतिपय परम्परा आफ्नै खालका भएपनि, केही बाहुनक्षेत्रीसँग मिल्ने खालका छन् । यदि साँच्चै देशलाई उठाउने हो भने यो अशिक्षित परम्परायुक्त सोझो जातिको विकास गर्न पर्ने कुरा स्वतः सिद्ध छ । प्रत्येक कुमालगाउंँमा विद्यालय, स्वास्थ्यचौकी र सीपमूलक तालिम केन्द्रको स्थापना गर्नुपर्दछ । विभिन्न गैह्रसरकारी संस्थाले यिनीहरुको तस्वीर मात्र देखाएर धेरै अर्थोपार्जन गरेका छन् तर यिनीहरुलाई त्यो कुरा थाहा छैन । त्यसैले आजका प्रत्येक नेपालीले अशिक्षा, अन्धविश्वास, गरीबी, पछौटेपना, आफ्नो अधिकारको अज्ञानता जस्ता कुराबाट कुमाललाई सचेत गराउन सक्यौं भनेमात्र धादिङले काँचुली फेर्ला भन्न सकिन्छ ।
सन्दर्भ ग्रन्थ सूचिः
१.अमर सिंह, अमर कोष, टंगाल गैरी धारा, काठमाडौं ।
२. आचार्य ब्रतराज, हाम्रो भाषा, इन्दु छापाखाना, ललितपुर, २०४० ।
३. तिवारी भोलानाथ, भाषा विज्ञान किताव महल इलाहावाद ई. १९७३ ।
४. पोखरेल बालकृष्ण, राष्ट्रभाषा, साझा प्रकाशन, दशौं सस्करण, २०५५ ।
५.पौड्याल हीरामणि, कुमाल भाषाको अध्ययन, इन्दिरा शर्मा पौड्याल, २०४३ ।
(आफ्नो माटो, स्मारिका–२, २०६१ आश्विनबाट साभार)




























































Discussion about this post