वाशिङ्गटन डिसी: अमेरिकाको वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासमा नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम युएसएआईडी र नेपाल पर्यटन बोर्डको प्रायोजनमा सम्पन्न भएको हो । दुई योजनाअन्तर्गत निर्मित तथा प्रसारित नेपालको पर्यटन प्रवर्द्धनका लागि निर्मित भिडियो प्रदर्शनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले सहभागीहरूलाई स्वागत गर्दै नेपालको सामाजिक आर्थिक विकास प्रयासमा निरन्तर सहयोग गरेकोमा युएसएआईडीको सह्राना गरेका हुन् । त्यस्तै, पीबीएस भिडियोका निर्माता डेनिस होली र ‘दिस इज अमेरिका एण्ड द वर्ल्ड’ कार्यक्रमका स्टेलरकावाजुल साजाकस र त्यसमा संलग्न सबैलाई धन्यवाद दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै युएसएआईडीकी उपसहायक निर्देशक अञ्जली कौरले नेपालमा कृषि, पर्यटन र सूचना प्रविधिजस्ता क्षेत्रको विकासमा युएसएआईडीको प्राथमिकता रहेको बताइन् । त्यस्तै, नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको साझेदारीमा यस वर्षको जुनमा सुरु गरिएको पर्यटन अभियान सफल भएकोमा खुशी व्यक्त गरिन् ।
पिबिएस च्यानलका कार्यक्रम प्रस्तोता तथा ‘दिस इज अमेरिका एन्ड द वर्ल्ड’ का कार्यकारी निर्माता डेनिस होलीले नेपालमा गएर भिडियो निर्माण गर्दाको अनुभव सुनाए ।कार्यक्रममा अमेरिकी विदेश मन्त्रालयका प्रतिनिधिहरू, अमेरिकी सरकारका विभिन्न निकायका अधिकारीहरू, नेपालका लागि पूर्वअमेरिकी राजदूत, ट्राभल एण्ड एडभेन्चर टुर विज्ञहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।



























































Discussion about this post