अम्बिका प्रसाद खतिवडा, वन कुकुर संरक्षण अभियन्ता
म कञ्चनजङ्घाको मान्छे । उत्तरवर्ती पहाडी जिल्ला ताप्लेजुङको नाङखोल्याङमा मेरो जन्म भएको हो । मैले मानव-वन्यजन्तु द्वन्द्वमा ब्याचलर गरिसकेको थिएँ ।
पोखरास्थित वनविज्ञान अध्ययन संस्थानमा स्नातकोत्तरको अन्तिम वर्षमा थिएँ, कुन विषयमा शोधपत्र तयार पारौँ भन्ने अन्योलमा थिएँ । यसक्रममा आफ्नै घरगाउँ पुगेको थिएँ । गाउँमा गाईबस्तुलाई कुनै अनौठो जीवले मार्ने एवम् खाने गरिरहेको हल्ला व्यापक थियो, जसमा सत्यता पनि रहेछ । स्थानअनुसार वन कुकुर, ठाडाकाने, मिल्के, ‘ढोले वा ‘एशिएटिक वाइल्ड डग’ भनिने जीवले गाईबस्तु खाइरहेको रहेछ । हाम्रातिर यसलाई मिल्के भन्छन् । समयक्रममा थाहा भयो कि, घरपालुवा जनवारलाई आक्रमण गरेका कारण मिल्केलाई मारिँदो रहेछ, विष ख्वाइँदो रहेछ ।
जैविक विविधताका दृष्टिले हरेक जीव महत्त्वपूर्ण छन् । पृथ्वीको समग्र हितका लागि प्राकृतिक वातावरण र स्वस्थ पारिस्थितिक प्रणाली अत्यावश्यक कुरा हो, वन कुकुर नहुँदा पारिस्थितिक प्रणाली पनि अस्वस्थ हुन्छ । यही सोचेर वन कुकुरको संरक्षणका लागि केही गर्नुपर्छ भन्ने लाग्यो । गाउँलेबाट सुनेको मिल्केको स्वभाव एवम् मिल्केको प्रसंग रामायणका समेत उल्लेख छ भन्ने किम्बदन्तीहरू सुन्नामा आएपश्चात् यो जीव पौराणिक कालदेखि अस्तित्वमा रहेछ भन्ने बोध भयो । तर, मानव-मिल्के द्वन्द्वका कारण यो घरगाउँमा देखिन छाडेको छ भन्ने थाहा पाएपश्चात् मलाई ‘मिल्के संरक्षण ’मा चाख लाग्यो । वनविज्ञानको विद्यार्थी भएकाले ‘कुनै पनि जीवको संरक्षणको लागि त्यस जीवको वृहत् अध्ययन आवश्यक छ’ भन्ने मलाई थाहा थियो ।


अनि के थियो, आफ्नै घरमास्तिर आँखाले नभ्याउने विकट पाखा र जंगललाई अलि नजिकबाट नियाल्ने अठोट लिएँ । यसका लागि विभिन्न ठाउँमा छात्रवृत्तिका लागि एप्लाई पनि गरेँ । सुरुमा असफलता नै हात लाग्यो, पछि केही आर्थिक जोहो गर्न सकेँ । जो यद्यपि अध्ययन लागि अपर्याप्त नै थियो, यद्यपि मैले वन कुकुरकै बारेमा मास्टरको थेसिस तयार पर्ने निधो गरेँ । यसपश्चात् म घर पुगेँ । ‘बल्ल बल्ल घर आइपुगेको छोरो फेरी जंगल पस्छु’ भन्दा आमा (सुशीला) र बुबा (देवीनारायण) हतोत्साहित पनि हुनुभयो । तर, आमाबुबालाई आफ्नो पक्षमा पारेँ । यसपश्चात् आमाले कागतीको अचार, गुन्द्रुक, सातु पोको पारिदिनुभयो । मैले जिपिएस, एउटा अटोफोकस क्यामेरा र १६ वटा क्यामेरा ट्र्याप (स्वचालित क्यामेरा) जुटाइसकेको थिएँ । अब बस्, यात्रा सुरुवात गर्न बाँकी थियो । यसपश्चात् वातावरण विषयका साथी राजेश सहित तापेथोकबाट भरिया आएका रेशम लिम्बूसहितका अर्का भरियालाई ३० किलो चामल, केही प्याकेट बिस्कुट र चाउचाउ बोकाएर मैले आफ्नो वन कुकुरको खोजतलासको यात्रा सुरु गरेँ ।
हाम्रो गन्तव्य याम्फुदिन थियो । वि.सं. २०६७ को साउन २६ को बिहान ८ बजे थालेको सो यात्राले सुकेटार, देउराली, फावाखोला हुँदै सिकैचाको काडेभञ्ज्याङ पुगेपश्चात् साँझको ७ बजे विश्राम लियो । दोस्रो दिन बिहानको यात्रा तेर्सो, उकालो लाग्दै तेल्लोक, पेदाङ, फुम्फेडाडा हुँदै मामाङ्खेको लक्ष्मी मावि (१७९७मिटर उचाइ) नजिक पुग्यो । मुसलधारे पानी पर्न सुरु भयो । चिसो स्याँठले मुटु उस्तैगरी चिथोरिरहेको थियो । भोक र थकाइले उस्तै ‘लत्तु’ भएका थियौँ । हामीले हरिया मकैसँग त्यो रातको चिसो स्याँठलाई पोलेर खायौँ ।
तेस्रो दिन, ६ घण्टाको उस्तै सकसपूर्ण यात्रापछि हाम्रो टोलीले याम्फुदीन-८ टेक्ने दुर्लभ साहस जुटायो । कञ्चनजङ्घा संरक्षण क्षेत्रका तत्कालीन नर्सरी नाइके तार्सदीप गुरुङलाई हामी आइरहेको पूर्व जानकारी भएकाले धेरै सहज भयो । उनी हिउँचितुवा संरक्षण समितिका सदस्य एवम् समितिले चलाएको पशुधन बीमा कार्यक्रमबारे जानकार भएकाले वन्यजन्तु सम्बन्धित घटना टिपोटमा उनको राम्रै दक्षता थियो । यसकारण, वन कुकुरको खोजी कार्यमा उनको सहयोग प्राप्त हुने नै भयो । गुरुङसँगको कुराकानीपश्चात् थाहा हुन् आयो कि, एक साताअघि मात्रै स्थानीय टासी लामाले आफ्नो माउ गाई र चौरीको बाछो वन्यजन्तुले मार्यो भन्दै क्षतिपूर्ति माग्दै निवेदन दर्ता गराएका रहेछन् । सो छलफलको क्रममा हामीसँग जोडिएका स्थानीय कञ्चनजङ्घा माविका प्रअ कुमार माबोले हिउँ चितुवाले भन्दा पनि मिल्केले यो घटना घटाएको दाबी पेश गरे । यसपश्चात् मैले राहतको श्वास फेरेँ, हिमाली स्याँठको माथिल्लो यात्रा सुरु गर्ने कार्यमा ढिलाई नगर्ने मनसुवा बनाएँ । भोलिपल्ट, हामीसँग आउनुभएका दुवै भरिया फुङलिङ फर्किएका कारण तार्सदीप, टासी लामा, लाक्पा सेर्पा र नयाँ दुई भरिया दाजुहरू सहितको हाम्रो जम्बो टीम अलि माथिको भोटे गाउँतर्फ अघि बढ्यो । जसोतसो अर्को दिन दिनको यात्रामा याङ्मुङखर्क पुगेर बिसायौँ । घनघोर पानी परिरहेकै थियो, पहिरो खसिरहेकै थियो । हामीले त्यहीँको एक गोठमा जेनतेन सो रात बितायौँ ।


अम्बिका प्रसाद खतिवडा, वन कुकुर संरक्षण अभियन्ता
अर्को बिहान भिजेको झोला खोल्यौँ । सुकाएनौँ मात्रै क्यामेरा ट्र्याप झिकेर एक/दुई किलोमिटरको दूरीमा क्यामरा बिछ्याउने काम सुरु गर्यौँ । वन कुकुर हिँड्ने बाटो पहिल्यै पहिल्याएका कारण यस काममा थोरै सहजता महसुस भयो । तर, मुसलधारे झरीले रोकिने नाम लिएको होइन । अरू साथीहरू झरीकै कारण बाहिरिए, टासी र लाक्पासहित हामी तीनले यस कामलाई अन्जाम दियौँ । छातामुनि छेकिएर क्यामरा फिट गर्दै अघि बढ्नु बहुत सकसपूर्ण कुरा थियो, तर हामीले काम फत्ते गरेरै छाड्यौँ ।
सामेवा देउरालीदेखि नयाँझोडेनी डाँडासम्म क्यामेरा ट्र्याप राख्दै गएपछि फर्कन भने साह्रो गाह्रो परेको थियो । ल्हासेको पहिरोले हामी तीन जनालाई धन्नै तानेको थियो । नयाँझोडेनी डाँडाबाट फर्कँदा रात परिसकेकाले पनि बाटो पहिल्याउन कठिन थियो, त्यसमाथि ठुलो पहिरो खसिरहेको थियो । ढुंगाहरू गुड्किरहेका थिए । भयंकर अँध्यारो थियो । मेरो सहयोगीले लाइट बिर्सिएछन् । मसँग मात्रै एउटा लाइट थियो । मैले ‘तपाई हिँड्नुहोस् म तपाईँलाई पछ्याउँदै आउँछु’ भनेँ । उनी अघिअघि म पछिपछि गर्दै पहिरोमा हिँड्यौँ । तर, त्यो भयानक परिस्थितिमा पनि बाँचियो । त्यसपछि राती १२ बजे गएर गोठमा सुतियो । त्यसको १० दिनसम्म म उठ्न पनि सकिनँ । लेक लागेछ, शरीर पनि चिसो भएछ । विस्तारै शरीरले आराम पाउँदै गर्यो ।
मिल्के क्यामरा ट्र्यापमा पर्ने पर्खाइमा लेकाली भेगको चिसो स्याँठ खाँदै गोठमा बसिरहनुभन्दा उसको मलमूत्र पहिल्याउँदै हिँड्नु ठिक हुने लागेर म सो काममा पनि अगाडि बढेँ । भरिया दाजुहरू छक्क पनि पर्नुभयो, “वन कुकुर दिसापिसाब खोज्ने कस्तो पढेलेखेको मान्छे होला ?’ भनेर उहाँले सोच्नु पनि भयो होला । तर, म यही कामको लागि त्यहाँ पुगेको थिएँ । ‘वन कुकुर’ भन्दा आज त संरक्षणविद्हरू नै ‘के अरे ?’ भन्छन्, त्यतिबेला नेपालको लागि वन कुकुर साह्रो नौलो कुरा थियो । तर, गोठको बास बस्दै चौँरी, भेडा, गाइ-बाख्रा चराउँदै तिनीहरूबाटै आर्थिक उपार्जन गर्दै आएका त्यस भेगका स्थानीयहरूसँग भने मिल्केबारे जानकारी थियो । उनीहरू मिल्केका रुपरंग र सामान्य विशेषताहरू बताउन सक्थे ।


बिस्तारै हिँड्न सक्ने भएपछि क्यामेरा ट्र्याप चेक गर्दै-गर्दै जाँदा सम्मेवा देउराली (३,७५२ मिटर उचाइ) भन्ने ठाउँको १२ नम्बर क्यामेरामा मिल्के फेला पर्यो । सम्भवतः यति उचाइ वन कुकुरको भेटिएको यो नै पहिलो रेकर्ड हो । सम्मेवा देउराली जङ्सन् जस्तो थियो, त्यहाँ धेरैतिर जाने बाटो थियो । सम्मेवा देउराली फोकस गरेर राखेको क्यामरामा प्रष्टतासहित दुई वटा मिल्के परेको रहेछ । अन्य क्यामरामा चौँरी र चराहरू परिरहेका थिएँ, यसमा भने प्रष्टतासहित दुई वटा मिल्के परेको रहेछ । यसपछि त मेरो तनमनमा बेग्लै ऊर्जा प्रवाह भयो । बिरामी जिउले ताजगी महसुस गर्यो । हर्षले उन्मुक्त भएँ । यो रमाइलो कुरा छ कि आजसम्म प्रत्यक्ष रूपमा मैले मिल्केलाई देख्न पाएको छैन । तर, उसले खाएर छोडेको गाइवस्तु, उसका पदमार्गहरू, दिसा देखेको/ भेटेको एवम् त्यसबारे नापजाँच एवम् ‘ऐनालाइसिस’ गरेको छु । दिशाको एनालाइसिस गर्दा लगभग २२ प्रतिशत उनीहरूको ‘डाइट’मा याकको अंश भेटिएको छ ।
समुदायद्वारा व्यवस्थित पशुधन बीमा योजना (सिएमएलआइएस)
क्यमरा ट्र्यापमा मिल्के परेपछिका दिनहरूमा पनि मैले मिल्केकै बारेमा थप खोज एवम् मिल्के संरक्षणका लागि जनचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेँ । मिल्के लोपोन्मुख हुनुमा मानव-मिल्के द्वन्द्व प्रमुख कडी भएकाले यसको समाधानका प्रयासहरू आवश्यक थियो । यसैक्रममा, मैले कन्चनजङ्गा क्षेत्रमा कार्यरत रहँदा समुदायद्वारा व्यवस्थित पशुधन बीमा योजना कार्यक्रम सञ्चालन गरेँ । वन कुकुरको संख्या निरन्तर खस्किरहेको हुनाले वन कुकुर र स्थानीय समुदायबिच दिगो सह-अस्तित्त्वलाई प्रवर्द्धन गर्न उद्देश्य स्वरूप यस योजना सुरु गरेको हुँ । त्यसअघि, सन् २००५ मा डब्ल्यूडब्ल्यूएफ नेपालसँगको सहकार्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हिउँचितुवातर्फ सिएमएलआइएस कार्यक्रम ल्याइसकेको थियो, मैले सो योजनामा वन कुकुरलाई पनि सामेल गराएँ । वन कुकुर क्षेत्रमा यो कार्यक्रम विश्वकै नमुना कार्यक्रम मानिने गरिन्छ । मैले सन् २०१३ मा कन्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँगको सहकार्यमा तपोथोक, लेलेपको तल्लो भेक र याम्फुदिनमा तीन वटा योजना सञ्चालनमा ल्याएका थियौँ, तीमध्ये दुई वटा वन कुकुर र एउटा हिउँचितुवाप्रति समर्पित थियो । वन कुकुर तथा हिउँ चितुवाहरूबाट हुने पशुधन हानी नोक्सानीको क्षतिपूर्ति प्रभावित गोठालाहरूले पाउने भएकाले सिएमएलआइएसलाई उनीहरूले स्वागत गरे । जसकारण त्यस क्षेत्रमा हाल पनि क्यानिड्स परिवारमा पनि क्युन वर्गको अन्तिम प्रतिनिधिका रूपमा रहेको वन कुकुरको हत्या रोकथाम बल पुगिरहेको छ । स्थानीय बासिन्दाहरूको लगनशीलता एवम् क.सं. क्षे. व्यवस्थापन परिषद्, नेपाल सरकारको हातेमालो तथा पिपल्स ट्रस्ट फर इन्डेनजर स्पेसिज, रुफोर्ड स्मल ग्रान्ट्स फाउन्डेसन, नेसनल जिओग्राफी र स्नो-लियोपार्ड नेटवर्कको सहयोगकै कारण सो सफलता हात पारिएको हो ।


सिएमएलआइएसको प्रभावकारिताका लागि आधारभूत प्रशिक्षण तथा हिसाबकिताब राख्ने, तालिम प्रदान गर्ने, नयाँ स्थापना गरिएका प्रत्येक सिएमएलआइएस (तीन वटै) लाई रु. ३ लाख को दरले अक्षय कोषको रूपमा रकम प्रदान गर्ने, अक्षय कोषलाई प्रयोग गर्न सकिओस् भनि जम्मा भएको रकमा ब्याज आउने र कोष वृद्धि गर्ने प्रबन्ध गरिएको छ । यसैगरि, सिएमएलआइएसमा घटना हुनु पूर्व र भइसकेपश्चात् संरक्षण जागरूकता सहित सतर्कतासाथ वस्तु चराउने, गोठ व्यवस्थापन (सुधारिएको खोर निर्माण) गर्ने, पशु स्वास्थ्य सेवाको स्थापना तथा समुदायमा आधारित हिउँचितुवा/वन कुकुर तथा तिनको आहारजन्य प्रजातिको अनुगमन गर्ने लगायतका कामहरू गर्ने गरिन्छ । झुटा दाबीहरूलाई निष्कासन गर्नका निमित्त समुदायमा आधारित प्रमाणीकरण संयन्त्रको समेत विकास गरिएको छ ।
वन कुकुर नहुँदा पारिस्थितिक प्रणाली अस्वस्थ हुनेछ
नेपालमा पाइने क्यानिड्स परिवार प्रजातिहरू जस्तै: स्याल, ब्वाँसो, फुस्रे फ्याउरो, भोटे फ्याउरो, रातो फ्याउरोमध्ये वन कुकुरको संख्या यद्यपि अत्यन्त न्यून छ । विश्व संरक्षण संघको प्रजातीय सङ्कटापन्न सूचीमा उल्लिखित विवरण अनुसार दक्षिण र दक्षिणपूर्वी एसियामा मात्र पाइने यस प्रजातिको वयस्क संख्या दुई हजार २१५ जति मात्र छ, जो सङ्कटापन्न स्थितिको जनाऊ घण्टी समेत हो । नेपालमा अहिलेसम्म कञ्चनजङ्घा संरक्षण क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा वन कुकुर सम्बन्धी अध्ययन-अनुसन्धान भएको छ । यतिले मात्र पुग्दैन ।
जलवायु परिवर्तनसँगै जैविक विविधताको विनाश सबैभन्दा महत्त्वपूर्ण वैश्विक वातावरणीय खतरा हो । यी दुवैले हामीले हाम्रै लागि निर्धारण गरेका दिगो विकासका लक्ष्यहरूको उपलब्धिलाई कमजोर तुल्याउन सक्छन् । विशेषगरी खस्किँदो सिमसार, वन विनाश, वन विखण्डन, पहिरो, क्षयीकरण र प्राकृतिक संसाधनहरूको अत्यधिक दोहन वन कुकुर संरक्षणतर्फ देखिएका मुख्य चुनौतीहरू हुन् । यसकारण विश्वको जैविक विविधता संरक्षण, पुनर्जागृति र दिगो व्यवस्थापनको रणनीतिक दृष्टिकोण र खाका तयार परिरहँदा अति सङ्कटापन्न वन कुकुर जस्ता साना स्तनधारी जीवहरूको सम्बोधित हुनुपर्दछ । जैविक विविधताको संरक्षण, जैविक विविधताका अवयवहरूको दिगो उपयोग र आनुवंशिक स्रोतहरूको निष्पक्ष र न्यायोचित वितरणबाट मार्फत जैविक विविधता संरक्षण हुन् सक्दछ । जैविक विविधता भनेको पारिस्थितिक प्रणाली, प्रजाति र अनुवंशहरूको विविधता हो, यसैकारण जैविक विविधतालाई जीविकोपार्जन र अर्थव्यवस्थाको आधार समेत मान्ने गरिन्छ । विश्वको अर्थव्यवस्थाको ४० प्रतिशत र गरिबहरूको ८० प्रतिशत आवश्यकता जैविक स्रोतबाट परिपूर्ति हुँदै आइरहेको छ । समग्र हितका लागि प्राकृतिक वातावरण र स्वस्थ पारिस्थितिक प्रणाली अत्यावश्यक कुरा हो, वन कुकुर नहुँदा पारिस्थितिक प्रणाली अस्वस्थ हुन्छ भनेर हामीले बुझ्न ढिलाई गर्नुहुँदैन ।


क्यानिड्स परिवारमा पनि क्युन वर्गको अन्तिम प्रतिनिधिका रूपमा रहेको वन कुकुर लोप भए जीवविज्ञानको एउटा महत्त्वपूर्ण पक्ष सधैँलाई नष्ट हुनेछ । परिणामतः जैविक विविधता संरक्षण तथा पारिस्थितिक प्रणालीमै अतुलनीय क्षति हुनेछ । लोप हुनु अघि नै जीवको संख्या वृद्धि गर्दा त्यसले जैविक विविधता संरक्षणमा सहयोग गर्ने, हराएको जीवनपद्धतिलाई फेरि ताजा बनाउने र विगतमा मानवले गरेका हानि सुधार्ने अवसर समेत प्राप्त हुनेछ ।
अन्त्यमा, क्यानडीड स्पेसलिस्ट ग्रुपअन्तर्गतको ढोल वर्किङ ग्रुप (डीडब्ल्यूजी)ले नेपालस्थित राष्ट्रिय प्रकृति संघको क्षेत्रीय कार्यालय सौराहामा सप्ताहव्यापी ‘अन्तर्राष्ट्रिय वन कुकुर’ सम्मेलन गर्दै छ, जुन वन कुकुर लगायतका लोपोन्मुख वन्यजन्तु संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण कडी साबित हुने छ । यस सम्मेलनमार्फत वन कुकुरको अध्ययन, वितरण, संख्या, प्रत्यक्ष निगरानी, वासस्थानको विविधता निर्धारण एवम् स्थानीय समुदायसँग अन्तरक्रियात्मक जनचेतनामूलक कार्यक्रम हुनेछ, जसमार्फत कुकुरको समग्र यथार्थ वस्तुस्थितिको चित्रण हुनेछ । सम्मेलन वन कुकुर-मानव द्वन्द्वका विभिन्न आयामहरू, वन कुकुर संरक्षणका मौजुदा विधिको मूल्याङ्कन एवम् त्रुटिरहित बनाउनेतर्फ केन्द्रित हुनेछ । यसर्थ सो सम्मेलनमा उपस्थित भई घट्दो प्राकृतिक संसाधनका क्रान विचलित वन कुकुर संरक्षण अभियानमाको हिस्सा बन्नुहुन सबैलाई आग्रह गर्दछु ।
नेपालबाट मात्रै होइन, विश्वभरबाटै वन कुकुरलाई लोप हुन दिनबाट जोगाउनका लागि अभियानमा लागेका नेपाल सहित १८ मुलुकका वैज्ञानिक र वन कुकुर संरक्षण अभियानकर्मीहरूको सम्मेलन यही ज्येष्ठ १८ गतेबाट ७ दिनसम्म चितवनको सौराहामा भएको थियो । सोही समय टुर न्यूज म्यागाजिनले तयार पारेको वन कुकुर अंकको अर्काइभ !
( राजु झल्लुप्रसादसँग कुराकानीमा आधारित)




























































Discussion about this post