ललितपुर: गायक तथा संगीतकार योगेश्वर अमात्यले ललितपुर बुङमतीमा रहेको कार्यविनायक मन्दिरको सुनको छाना र गजुरका लागि आवश्यक सुन बराबरको रकम सहयोग गरेका छन् ।
समाजसेवामा समेत सक्रिय अमात्यलगायत सम्पदा जोगाउने कर्म र दानधर्ममा विश्वास राख्नेहरूले १३ सय वर्षभन्दा पुरानो मानिने उक्त मन्दिरको लागि सहयोग गरेका हुन् । सुनको छाना र गजुरका लागि १ सय ८ तोला सुन र अन्य सरसहयोगमा मन्दिरको स्वरुप फेरिएको हो । जसमा गायक तथा संगीतकार अमात्यले सुनको छाना र गजुरका लागि आवश्यक सुन बराबरको रकम सहयोग गरेका हुन् ।
कायम भएको समयको बजार मूल्यअनुसार हेर्दा उनको सहयोग १ करोड २० लाख ६१ हजार ५ सय ७७ रूपैयाँ बराबर हुन्छ । ‘हामीले कार्यविनायक मन्दिरमा छाना र गजुर सुधार गर्नका लागि सार्वजनिक रुपमा सहयोगको आह्वान गरेका थियौँ । योगेश्वर अमात्य दाइले पनि मन्दिरमा आउँदा सहयोगको अपिल पढेर नै सहयोग गर्नुभएको हो’, कार्यविनायक मन्दिर पुजारी संघका कोषाध्यक्ष सुरेश तुलाधरले बताए ।
‘यहाँ मन्दिरमा राखिएको फ्लेक्समा आँखा झट्ट पर्नेवित्तिकै म पनि सहयोग गर्छु भनेर योगेश दाइले फोन गर्नुभयो । कुरा अघि बढ्दै जाँदा ल म आफै नै सबै हालिदिन्छु भन्नुभयो । अरूतिर जोहो गर्न पनि नपर्ने भयो । त्यसपछि राष्ट्र बैंकमा गएर प्रक्रिया अघि बढायौँ र गएको बिहीबार काम सम्पन्न भएको छ’ तुलाधरले भने । ‘पुजारी संघका पदाधिकारी, वडा कार्यालयका प्रतिनिधि, प्रहरी प्रशासन राखेर असार ९ गतेबाट सुनको काम सुरु गरेको हो । नेपाल राष्ट्र बैंकको टक्सारबाट सुन ल्याएर काम गरेका हौँ, हरेक विषय टिपोट गरेका छौँ । भिडियो फोटोहरू खिच्दै टिपोट उठाएर काम भएको छ । समुदायको सबै सहभागी भएर काम गर्दा पारदर्शी पनि हुने भयो र सबैको सहभागिता पनि हुने भयो’ उनले भने ।
‘अमात्य लगायत अन्य भक्तहरूले पनि सहयोग गर्नुभएको छ । ज्यालालगायत विविध खर्चमा अन्य सहयोगबाटै काम भएको हो । सुनमा पनि अरू भक्तजनहरूले कसैले १० लाल कसैले २० लाल सहयोग गर्नुभएको छ । सबै काम सक्दा डेढ तोला सुन बचेको छ, बैठक बसेर सायद मन्दिरको कोषमा नै राख्छौँ ।’ यस्तो ऐतिहासिक पुरातात्विक महत्वको सम्पदामा आफूले सहयोग गर्न पाउँदा र काम सम्पन्न हुँदा खुसी लागेको हाल काम विशेषले बेलायत रहेका गायक अमात्यलाई उद्धृत गर्दै कार्यविनायक मन्दिर पुजारी संघका कोषाध्यक्ष तुलाधरले सुनाए ।
‘अन्तिम दिनको काम भइरहँदा पनि उहाँलाई भिडियो च्याटमार्फत सबै देखाएको थिएँ, मन्दिरको काम राम्ररी भयो भनेर उहाँ खुसी हुनुभएको थियो’ तुलाधरले भने । ‘जब सन्ध्या हुन्छ’ गीतमार्फत चिनिएका गायक अमात्यले करै करले, अहिले चाहिँ द्रव्यको आशामा, क्या बोर भयो, लैजा चरी, लोग्ने मान्छे भएर, दसैँ नै हो कि यो मेरो दशा, तिम्रो आँखा हेर्दै… जस्ता दर्जनौँ चर्चित गीत गाएका छन् । गायन होस् या जीवनशैली सबैमा पृथक पहिचान बनाएका अमात्य सभ्यता, सम्पदाको जगेर्नामा निरन्तर सक्रिय छन् । गुठी विधेयकको समयमा भएका आन्दोलनमा होस् या पुरातात्विक धार्मिक महत्वका हराएका मूर्ति खोज्नदेखि उपत्यकाका सम्पदा संरक्षणमा निरन्तर आवाज उठाउँदै आइरहेका छन् । विभिन्न विषयका सौखिन अमात्य मणि, रत्नलगायत विषयमा पनि विशेष चासो राख्छन् । गीत संगीततर्फ नलागेको भए ‘आफू ज्वेलर बन्थेँ’ भन्ने विषय उनले एक अन्तर्वार्ताका क्रममा बताएका समेत थिए ।भक्तपुरका लिच्छवी राजा नरेन्द्र देवको करुणामय लोकेश्वरसँग जोडिएको धार्मिक ऐतिहासिक विश्वासहरूमा यो मन्दिरको ऐतिहासिक धार्मिक कथन जोडिएको छ।



























































Discussion about this post