काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताएका छन ।
पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)को ४५ औँ साधारण सभामा मन्त्री किराँतीले बाह्रै महिना नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेमात्र नेपालको पर्यटन क्षेत्रले विकासको गति लिने बताए ।
“जेठदेखि भदौसम्मलाई हामी अफसिजन भन्दै आएका छौँ, अफसिजनमा पनि पर्यटक ल्याउन सक्नुपर्छ”, उनले भने । उनले मुलुकको राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटनले जुन गति लिनुपर्ने हो त्यो लिन नसकेको धारणा राखे ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानमा सरकार लाग्ने बताए । उनले पर्यटन क्षेत्र सम्बन्धित ऐन पुरानो रहेको भन्दै यसलाई समयसापेक्ष हिसाबले संशोधन गर्दै लैजानुपर्ने उल्लेख गरे ।


नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकास र विस्तारमा टानले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले कानुनको समस्या र महालेखा परीक्षक कार्यालयको अवरोधका कारण पर्यटन क्षेत्रको विकासमा काम गर्न बोर्डलाई समस्या परेको बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि निर्णय र काम गर्ने निकाय एउटै भए काम गर्न सहज हुने उल्लेख गरे ।
एसोसिएसनका अध्यक्ष निलहरि बाँस्तोलाले पर्वतीय पर्यटनको विकासमा ४५ वर्षको इतिहास बोकेको टानले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा पर्वतीय पर्यटन प्रवर्द्धनमा काम गरिरहेको उल्लेख गरे।
टानका पूर्व अध्यक्ष रमेश धमला, खुमबहादुर सुवेदीले पर्यटन क्षेत्रको मुद्दालाई समाधान गर्न सबै एकजुट हुनुपर्ने बताए ।



























































Discussion about this post