जोखिम न्यूनीकरणमा इन्जिनियरहरूको योगदानको स्मरण
काठमाडौं, वैशाख ११ – सन् २०१५ को विनाशकारी गोर्खा भूकम्पको दसौँ वार्षिकोत्सवको अवसरमा आज शुक्रबार नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) को नेतृत्वमा ‘भूकम्प नबिर्सौं र्याली’ (Forget Not Earthquake Rally) आयोजना गरिएको छ।
नेपाल इन्जिनियर्स एसोसिएसनको कार्यलयबाट सुरु भई इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक हुँदै पाटनढोका भएर पुन: नेपाल इन्जिनियर्स एसोसिएसन आई र्याली सम्पन्न भएको थियो।


जनस्तरमा अझै कायम रहेको भूकम्पीय जोखिमप्रति स्मरण गराउँदै, विपद्–पूर्व तयारी, जोखिम न्यूनीकरण र दिगो पुनर्निर्माणमा प्राविधिक समुदायको भूमिकालाई सार्वजनिक रूपमा उजागर गर्ने उद्देश्यले र्याली आयोजित भएको हो।
कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन (NEA), नेपालिज आर्किटेक्ट्स सोसाइटी (SONA), स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल (SEANep) र नेपाल जियोटेक्निकल सोसाइटी (NGS) सहित विभिन्न पेशागत संघ–संस्थाहरूको संयुक्त सहभागिता थियो। यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA), शहरी विकास तथा भवन निर्माण विभाग (DUDBC-CLPIU), ललितपुर महानगरपालिका, इन्जिनियरिङ अध्ययन संस्थान (IOE), राष्ट्रिय भूकम्प प्रविधि समाज (NSET), नेपालका इन्जिनियरिङ कलेजहरूको संघ (AECON) लगायत सरकारी तथा गैरसरकारी संस्थाहरूको समेत सहकार्य रहेको थियो।


भूकम्प नबिर्सौं र्यालीमा इन्जिनियरिङ स्कुल तथा कलेजका विद्यार्थीहरू, स्थानीय निकायका प्रतिनिधिहरू, महिला तथा आमा समूहहरू, इन्जिनियरिङ क्षेत्रका संघसंस्थाहरू, सामाजिक तथा सांस्कृतिक संघसंस्थाहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा सहभागीहरूले भूकम्पीय जोखिम न्यूनीकरण र आपत् तयारीमा अझ सशक्त प्रतिबद्धता जनाउँदै, विगतका सफल प्रयासहरू, कमजोरीहरू, तथा नीति सुधारका उपलब्धिहरूको पुनरावलोकन गर्नु आवश्यक रहेकोमा जोड दिएका थिए।
नेपाल जियोटेक्निकल सोसाइटीका अध्यक्ष मन्दिप सुवेदीले भूकम्पको बेला तर्सिने, तर पछि बिर्सने बानी त्याग्नुपर्नेमा जोड दिएका छन् । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी गोर्खा भूकम्पको दसौँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको ‘भूकम्प नबिर्सौं र्याली’मा बोल्दै उनले भूकम्पीय जोखिमलाई स्मरणमै सीमित नराखी, चेतनाको स्थायी अभ्यासमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन्।
“यो र्याली पीडादायक दिनको सम्झना मात्र होइन,” सुवेदीले भने, “हाम्रो समाजलाई फेरि एकपटक भूकम्पीय जोखिमबारे सतर्क गराउने, र हामी इन्जिनियरहरूको दायित्व तथा भूमिकालाई पुनः स्मरण गराउने अवसर पनि हो।” सुवेदीले उक्त र्यालीलाई केवल पदयात्रा नभई ‘एक सामूहिक प्रण’को रूपमा चित्रित गरे। “अबको समाज सुरक्षित र दिगो बनाउन, भविष्यका पुस्ताले हिजो जस्तै पीडा नभोगून् भन्ने उद्देश्यले हामीले यो कदम चालेका हौँ,” उनले भने।


यसैगरी, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) का अध्यक्ष तथा विपद् विज्ञ आमोदमणि दीक्षितले ९ हजारभन्दा बढी नेपालीले ज्यान गुमाउनुमा भूकम्पभन्दा कमजोर संरचना जिम्मेवार रहेको बताए। “उनीहरूलाई मारेको भूकम्प थिएन, उनीहरू कमजोर घर र संरचनाका कारण मारिएका हुन्,” दीक्षितले भावुक हुँदै भने, “यदि उनीहरूले बोल्न पाउँथे, भनेका हुने थिए — बलियो घर भएको भए हामी बाँच्थ्यौं।”
र्यालीमा दीक्षितले त्यो भयावह क्षणको पीडा र त्यसपछिको सामाजिक सहनशीलता, आत्मबल तथा पुनःउत्थान क्षमताको प्रशंसा गरे। “हामी भग्नावशेषको छायाँबाट उठ्यौं, बाँचेका छौं, र अब अघि बढ्ने अठोटमा छौं,” उनले भने।
“हामी इन्जिनियरहरूको दायित्व भनेको केवल संरचना बनाउनु मात्र होइन, समाजलाई सुरक्षित बनाउनु हो,” दीक्षितले थपे। उनले अझै पूर्णरूपमा पुनर्निर्माण हुन नसकेका जलस्रोत, आवास, संरचना तथा ऐतिहासिक सम्पदाहरूको पुनःनिर्माणमा पनि राज्य र प्राविधिक क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।


यसैगरी, नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुभाषचन्द्र बरालले २०७२ को विनाशकारी भूकम्पले इन्जिनियरहरू मात्र होइन, आम जनसमुदायलाई पनि गम्भीर पाठ सिकाएको बताएका छन्। गोर्खा भूकम्पको दसौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘भूकम्प नबिर्सौं र्याली’मा बोल्दै उनले प्रभातफेरी कार्यक्रमको मुख्य उद्देश्य जनचेतना अभिवृद्धि गर्नु र इन्जिनियर समुदायलाई थप सजग बनाउनु रहेको बताए।
“२०७२ सालको भूकम्पले ठूलो जनधनको क्षति गर्यो तर त्यसले हामी इन्जिनियरहरूलाई गहिरो पाठ पनि सिकायो,” बरालले भने, “२०७२ अघि हामीसँग पर्याप्त ज्ञान थिएन, क्षतिको आँकलन गर्न सक्ने क्षमता पनि थिएन। हामीले भूकम्पबारे केवल सुनेका थियौँ। तर त्यो भूकम्पले हामीलाई यथार्थमा ल्यायो र ठूलो ज्ञानको ढोका खोलिदियो।”


उनले पछिल्ला १० वर्षलाई नेपाली इन्जिनियरिङ क्षेत्रका लागि अत्यन्तै शिक्षाप्रद समयको रूपमा स्मरण गरे। “त्यसबेलाका बढी प्रभावित ३१ जिल्लामध्ये १४ मा गम्भीर क्षति पुगेको थियो। ती जिल्लामा अहिले भूकम्प प्रतिरोधी घर र संरचनाहरू निर्माण भइरहेका छन्, जुन सुखद परिवर्तन हो,” उनले भने। उनले अझै पनि नेपाल भूकम्पीय जोखिममा रहेको र चेतनामूलक कार्यक्रम बाँकी जिल्लामा प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिए। “केही जिल्ला मात्रै सचेत भएर पुग्दैन। मुलुकका अन्य जिल्लाहरूमा पनि व्यापक जनचेतना र नीतिगत सहकार्य आवश्यक छ,” उनले बताए।
जीओ टेक इन्जिनियर कल्पना अधिकारीले २०७२ को भूकम्पलाई एक महत्त्वपूर्ण पाठको रूपमा लिँदै भूकम्प प्रतिरोधात्मक संरचनाहरूको निर्माण, नीतिगत सुधार र तयारीमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिइन्। उनले भनिन्, “हामीले भूकम्पपछि कति भूकम्प प्रतिरोधात्मक घर बनाए, र नीतिगत रूपमा कति अगाडि बढ्यौं, यो पनि विचारणीय कुरा हो।”
अधिकारीले यस घटनासँगका पीडाहरू र घाउहरू हामीले बिर्सी सकेका हो कि भन्ने चिन्ता व्यक्त गर्दै भनिन्, “हामीले त्यो पीडा र घाउहरू बिर्सिदै गएको हो कि, त्यो सम्झनका लागि फेरि त्यस्तो विपद् आउनुपर्ने हो?” अधिकारीले यस्ता घटनाहरूलाई नबिर्सन र भविष्यका लागि पूर्वतयारी, रेस्क्यु, र रेस्पोन्समा तयारी राख्नुपर्नेमा समेत जोड दिइन्।


आयोजकहरूले देशभरका सबै पालिकाहरूमा ‘भूकम्प नबिर्सौं’ जस्ता जनचेतनामूलक कार्यक्रम आयोजना गर्न आह्वान गर्दै, यस्तो प्रयासले जनस्तरमा दीर्घकालीन जोखिमप्रति चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।


कार्यक्रममा फोटो प्रदर्शनी समेत गरिएको थियो।

































































Discussion about this post