स्वास्थ्य, समानता र न्यायको विषयमा महिला समुदायको आवाज पुनःस्थापनाका लागि सशक्त हस्तक्षेप
काठमाडौं: लागुऔषध प्रयोगकर्ता महिलाहरूको मानव अधिकार सुनिश्चितता, न्यायमा समान पहुँच, सामाजिक समावेशीकरण, सुरक्षित मातृत्व, महिला स्वास्थ्य, महिनावारी सरसफाइ र मर्यादित महिनावारीजस्ता महत्त्वपूर्ण विषयहरू केन्द्रित रही बालुवाटरस्थित वाइल्डलाइफ कन्जरभेसन नेपालको सभाहलमा गम्भीर र सार्थक संवाद सम्पन्न भएको छ।
‘आफ्नो आवाज र निर्णयमा अधिकार पुनःस्थापित गर्दै (Reclaiming Voices and Choices)’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रम दृष्टि नेपाल, ज्ञानवोध, आमा सुरक्षा नेपाल र अनटोल्ड पिरियड स्टोरीजको संयुक्त आयोजनामा तथा ओजस्वी नेपाल, स्वासा नेपाल र महिला मानव अधिकार रक्षक, जिल्ला सञ्जाल काठमाडौंको सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रममा मानव अधिकारका क्षेत्रमा सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधि, चिकित्सक, अभियन्ता, महिलाको हकहितका पक्षमा काम गर्ने समूह तथा सरोकारवालासहित करिब ६० जना सहभागी थिए।
दुईवटा प्यानल छलफलसहित पाँचवटा स्टलमार्फत कमेडी, खेल तथा विविध गतिविधिको आयोजना गरिएको थियो।


कार्यक्रमको प्रारम्भिक सत्र: महिलाको स्वायत्तता र सुरक्षित मातृत्वमाथि गहन बहस
कार्यक्रमको प्रारम्भिक सत्रमा महिलाको स्वायत्तता, निर्णय लिने क्षमता, स्वास्थ्य सेवामा पहुँच र समाजमा व्याप्त लैंगिक विभेदका विषयमा गहिरो बहस र विमर्श गरियो। समान अधिकार, समावेशी स्वास्थ्य सेवा र सुरक्षित मातृत्व सुनिश्चितताजस्ता मुद्दाहरूलाई केन्द्रमा राखी, गहन अन्तरक्रिया र दृष्टिकोणको आदान–प्रदानसहित सत्र सम्पन्न भयो।
पहिलो प्यानल छलफलको संयोजन आमा सुरक्षा नेपालले गर्दै मातृत्व स्वास्थ्य, महिलाको स्वास्थ्य अधिकार र सम्मानजनक जीवनका सवालमा ध्यान केन्द्रित गर्यो। वक्ताहरूले सुरक्षित मातृत्वलाई महिलाको मात्र नभई समग्र समाजको साझा उत्तरदायित्वको रूपमा बुझिनुपर्ने कुरामा विशेष जोड दिए।


सत्रका प्रमुख वक्ताहरू डा. गौरी प्रधान, डा. पुरुषोत्तम अधिकारी, डा. नेहा नायक र डा. मनु कार्कीले मातृत्व स्वास्थ्यका चुनौतीहरू, नीति सुधारको आवश्यकता तथा जनचेतनाको भूमिकाबारे आफ्ना अनुभव र विश्लेषण प्रस्तुत गरे।
उनीहरूले सबै नागरिकका लागि स्वास्थ्य सेवामा सहज पहुँच, मातृ मृत्युदर घटाउने रणनीति, ग्रामीण तथा सीमान्तकृत समुदायमा सूचनाको पहुँच विस्तार र संस्थागत सहकार्यका विविध पक्षमा सक्रिय कदम चाल्नुपर्नेमा जोड दिए।


दोस्रो सत्र: लागुऔषध प्रयोगकर्ता र एचआईभी संक्रमित महिला समुदायका अधिकार र समावेशीकरणका लागि छलफल र वकालत
दृष्टि नेपालले नेतृत्व गरेको दोस्रो सत्रमा, “लागुऔषध प्रयोग गर्ने महिला, एचआइभी सङ्क्रमित महिला तथा अन्य अन्तरविषयगत पहिचान बोकेका महिलाहरूका लागि महिलावादी आन्दोलनभित्र सुरक्षित स्थान सिर्जनाको महत्त्व” भन्ने विषयमा केन्द्रित रहेर गम्भीर छलफल गरिएको थियो।
मूलधारको महिलावादी आन्दोलनभित्र यस्ता समूहहरूका अधिकारको सुनिश्चितताका लागि आवाज उठाउने र उनीहरूका निर्णयमा अधिकार पुनःस्थापित गर्ने उद्देश्यका साथ “आफ्नो आवाज र निर्णयमा अधिकार पुनःस्थापित गर्दै” भन्ने नारासहित यो सत्र सन्चालन गरिएको थियो। यस सत्रले महिलावादी आन्दोलनभित्र सबै खालका महिलाहरूको समावेशिता र न्यायपूर्ण स्थानको खाँचोलाई प्राथमिकतामा राख्दै छलफलको दायरा फराकिलो बनाएको थियो।
यस सत्रको प्यानलमा, राष्ट्रिय मानव अधिकार आयोग लैङ्गिक समानता र सामाजिक समावेशीकरण शाखा प्रमुख गीताकुमारी दाहाल, महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल अध्यक्ष गीता थापा, दृष्टि नेपालबाट प्रतिनिधित्व गरेका सोना सुर्खेती र सर्मिला खड्का प्यानलिष्टका रूपमा रहेका थिए। सो प्यानललाई स्वासा नेपाल कार्यकारी निर्देशक तथा महिला मानव अधिकार रक्षक रेणुका सूर्यले सहजीकरण गरेकी थिइन्।


कार्यक्रमको सुरुवातमा दृष्टि नेपाल सदस्य सरिता गुरुङले “लागुऔषध प्रयोगकर्ता महिलाहरूको मानव अधिकार सुनिश्चितता, न्यायमा समान पहुँच, सामाजिक समावेशीकरणमा जोड दिएकी थिइन्। उनले कलङ्क, हिंसा र भेदभावरहित समाज निर्माण गर्ने लक्ष्य लिइ सन् २००६ सालमा स्थापित भएको दृष्टि नेपालले समुदाय तहदेखि नीतिगत तहसम्म वकालत/पैरवी गर्दै आइरहेको छ” भन्दै संस्थागत परिचय दिएकी थिइन्।
राष्ट्रिय मानव अधिकार आयोग लैङ्गिक समानता र सामाजिक समावेशीकरण शाखा प्रमुख, गीताकुमारी दाहालले लागुऔषध प्रयोगकर्ता महिलाहरूको मानव अधिकार सुनिश्चितता, न्यायमा समान पहुँच, सामाजिक समावेशीकरणका लागि राष्ट्रिय मानव अधिकार आयोग सधैं सँगै रहेको र नीतिगत सुधारका लागि नेपाल सरकारलाई सवालहरूको सम्बोधन गर्न सिफारिस गर्ने गरेको बताइन्।


देशका ७ वटै प्रदेशमा १ लाख ३० हजार ४२४ लागुऔषध प्रयोगकर्ताहरूमध्ये ८ हजार ७३२ जना महिलाहरूले लागुऔषध सेवन गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै शाखा प्रमुख दाहालले भनिन्, “संवैधानिक अंगको रूपमा आयोगले सरकारी कामको अनुसन्धान, अनुगमन तथा सिफारिस गर्दै आएको छ। लागुऔषध प्रयोगकर्ता, विशेषतः महिलाको सवाललाई GESI को आँखाले हेर्न जरुरी छ।”
महिलाहरूको तथ्याङ्क एकदमै कम रहेको र समाजमा हेर्दा वास्तविक सङ्ख्या योभन्दा बढी हुने प्रक्षेपण गर्दै वास्तविक तथ्याङ्क पत्ता लगाउन दृष्टि नेपाल जस्तो यो सवालमा कार्यरत संस्थाहरूले सर्वेक्षण गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याएकी थिइन्।
त्यस्तैगरी, मूलधारको महिला आन्दोलनमा लागुऔषध प्रयोगकर्ता महिला र एचआईभी संक्रमित महिलाहरूको मुद्दा किन ओझेलमा परिरहेको छ भन्ने सहजकर्ताको जिज्ञासामा महिला मानव अधिकार रक्षक जिल्ला सञ्जालकी अध्यक्ष गीता थापाले नेपालको महिलावादी आन्दोलनको अवस्थाबारे प्रष्ट धारणा प्रस्तुत गरिन्। उनले भनिन्, “नेपालमा मूलधारको महिलावादी आन्दोलन नै छैन। यो आन्दोलन विभाजित छ र पुँजीवादी संरचनाबाट ग्रसित भएको कारण केही सीमित पहुँच र शक्तिमा आधारित समूहहरूको प्रभाव मात्र देखिन्छ।”
अध्यक्ष थापाले मानव अधिकारको हनन, अन्याय, अत्याचार र शोषणविरुद्ध आवाज नउठ्नु, साथै हिंसा पीडितले न्याय नपाउनु जस्ता घटनाहरूलाई मूलधारको महिलावादी आन्दोलनको कमजोरीको प्रतीकका रूपमा उल्लेख गरिन्।
लागुऔषध प्रयोग गर्ने महिला, एचआईभी संक्रमित महिला लगायतका समुदायहरूका मुद्दाहरू अझै पनि महिला आन्दोलनको मूल प्रवाहमा स्थापित हुन नसकेको स्वीकार गर्दै उनले भनिन्, “यद्यपि भुइँतहमा क्रियाशील महिला मानव अधिकार रक्षकहरूले यस्ता ओझेलमा परेका विषयहरूलाई निरन्तर सशक्त ढंगले उठाउँदै आइरहनुभएको छ, जुन स्वागतयोग्य छ।”
उनले थपिन्, “हामी समग्र महिलाहरूको अधिकारका लागि वकालत गरिरहँदा, लागुऔषध प्रयोगकर्ता महिला तथा एचआईभी संक्रमित महिला समुदायको पीडा र मुद्दालाई पनि उतिकै महत्त्वका साथ उठाइरहेका छौं। उहाँहरूमाथि भइरहेको हिंसा र भेदभावविरुद्ध स्पष्ट आवाज बुलन्द गरिरहेका छौं।”


यस्तै, दृष्टि नेपालको सदस्य सोना सुर्खेतीले लागुऔषध प्रयोगकर्ता महिलाको प्रमुख माग “निरअपराधीकरण” रहेको बताइन्। उनले यस समुदायमाथि हुने विभेद र हिंसा समाप्त गर्न र उनीहरूको मानव अधिकार सुरक्षित गर्न सरकार र अन्य सरोकारवाला निकायहरूमा सिफारिस गर्न पहलको आवश्यकता रहेको जोड दिइन्। सोना सुर्खेतीले यस विषयमा पहल गर्न मूल राष्ट्रिय मानव अधिकार आयोगलाई प्यानलबाटै अनुरोध समेत गरेकी थिइन्।
त्यस्तै, एचआईभी संक्रमित महिलाहरूका समुदायको मुद्दामा लामो समयदेखि वकालत गर्दै आएकी, दृष्टि नेपालको सदस्य सर्मिला खड्काले लागुऔषध प्रयोगकर्ता महिलालाई समाजले नकारात्मक दृष्टिकोणबाट हेरेको र लाञ्छना लगाउने गरेको कारण उनीहरू समाजमा खुलेर आउन नसकेको बताइन्। उनले थपे, “यहि कारण उहाँहरू स्वास्थ्य सेवा र अन्य सरकारी सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ।”


यस सत्रको छलफलको अन्त्यमा, दृष्टि नेपालकी संस्थापक अध्यक्ष परिना सुब्बा लिम्बुले “१६औं पञ्चवर्षीय आवधिक योजनाले लिएको ‘सुशासन, सामाजिक न्याय र समृद्धि’” को उद्देश्यलाई सम्बोधन गर्दै भनिन्, “देशको जनसंख्याको आधा भाग भएका महिलालाई जबसम्म राज्यका हरेक सेवा, सुविधा र सामाजिक समावेशीकरणमा सहज पहुँच हुँदैन, तबसम्म देशका विकासका लक्ष्यहरू पूरा हुन सक्दैन।”
संस्थापक अध्यक्ष लिम्बुले थपिन्, “सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिज्ञासमेत नेपाल सरकारले गरेको छ। यदि ६.७ प्रतिशत लागुऔषध सेवन गर्ने महिलाहरूलाई बिर्सिएर र उनीहरूमाथि विभेद गर्ने सोच राखेर काम गरिन्छ भने, नेपाल सरकारले लिएको प्रतिबद्धता र योजनाहरू कसरी पूरा हुन सक्छन्? यो सोचनीय कुरा हो।”
उनले यी सीमान्तकृत समुदायलाई पनि सँगै लिएर जान र उनीहरूको मानव अधिकार सुनिश्चितताको लागि यस सवाललाई निरअपराधीकरण गर्न पहल गर्न राष्ट्रिय मानव अधिकार आयोग र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल, जिल्ला सञ्जालजस्ता मूलधारको आन्दोलनको दायित्व रहेको र दृष्टि नेपाल जस्ता यो सवालमा पैरवी/वकालत गर्ने संस्थाहरूको पनि कर्तव्य रहेको बताइन् ।


यस्तै, हरिण नेपालको सह-संस्थापक सुविज्ञा पौडेलले जलवायु परिवर्तन र नारीवादबीचको गहिरो सम्बन्धबारे महत्वपूर्ण चर्चा गरेकी थिइन्। उनले सहभागीहरूलाई जलवायु नीतिमा लैङ्गिक समावेशीताको आवश्यकता, महिला नेतृत्वको सशक्तीकरण र जलवायु सम्बन्धी आन्दोलनमा नारीवादी दृष्टिकोण अपनाउनु पर्ने उपायहरूबारे जानकारी दिइन्।
उनले जलवायु न्याय (Climate Justice) र लैङ्गिक समानताको संघर्षलाई आपसमा गाँसिएको विषयका रूपमा व्याख्या गर्दै भनिन्, “नारीवाद केवल लैङ्गिक समानताको लागि मात्र होइन, पर्यावरणीय न्यायको लडाइँका लागि पनि हो। महिलाहरू केवल जलवायु संकटकी पीडित मात्र होइनन्, उनीहरू यस संकटको समाधानको केन्द्रीय हिस्सा हुन्।”
महिलाद्वारा सञ्चालित व्यवसायहरूको आकर्षक प्रस्तुति
कार्यक्रमको एउटा विशेष आकर्षण बनेका थिए- महिलाद्वारा सञ्चालित व्यवसायहरूका आकर्षक स्टलहरू। महिलाले नेतृत्व गरेका यी साना तथा उदयमान उद्यमहरूले आफ्नो उत्पादन तथा सेवा प्रस्तुत गरेका थिए। Hatti Hatti Nepal, Agra Industries, Manai Dekhi Candles, Eco Sathi Nepal, Thrift by Dristi Nepal, Kehi Crafts आदि संलग्न थिए।


यी स्टलहरूले पुन: प्रयोगमा आधारित उत्पादन, वातावरणमैत्री सामग्री, हस्तकलाका वस्तुहरू, प्राकृतिक मैनबत्ती, पुन: लुगा प्रयोग प्रवर्द्धन, र स्थानीयस्तरमा उत्पादन भएका सामग्रीहरू प्रस्तुत गर्दै स्थानीय उत्पादन र महिला स्वावलम्बनको सन्देश प्रवाह गरे।


कार्यक्रममा सहभागीहरूले स्टलहरू अवलोकन गर्दै महिला उद्यमीहरूको प्रयासको प्रशंसा गरे। सहभागी उद्यमीहरूका अनुसार यस्ता कार्यक्रमहरूले उनीहरूको व्यवसायलाई मात्रै होइन, आत्मविश्वास र सामाजिक मान्यता बढाउन ठूलो सहयोग पुर्याउने छन्।


वातावरणमैत्री सन्देश बोकेको ‘Bring Your Own Mug’
कार्यक्रममा एक विशेष र वातावरणमैत्री पहलको रूपमा ‘Bring Your Own Mug’ अर्थात् “आफ्नो मग आफैं ल्याऔं” अभियानले सबैको ध्यान तानेको थियो।
Eco Sathi Nepal को यो पहलले प्लास्टिक र पेपर कपको प्रयोग घटाउने उद्देश्यसहित सहभागीहरूलाई कार्यक्रमस्थलमा चिया पिउन आफ्नै मग ल्याउन आग्रह गरेको थियो।


कार्यक्रमस्थलमा रहेको Chiya Munch ले स्वादिलो चिया सर्व गरेका थिए, जसलाई आफ्नै मगमा पिउँदा सहभागीहरूलाई वातावरणप्रति जिम्मेवार र सचेत बनाउने सन्देश पनि सँगै बाँडिएको थियो।
Eco Sathi Nepal की संस्थापक डा. मनु कार्की का अनुसार, “यस्ता साना प्रयासहरूले दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्छन्। ‘Bring Your Own Mug’ लाई आगामी सबै कार्यक्रमहरूको संस्कृति बनाउन सकिन्छ भन्ने उदाहरण हामीले प्रस्तुत गरेका छौं”, उनले भनिन्।


विशेष आकर्षणका रूपमा योजना थापा मगरले प्रस्तुत गरेको सशक्त सांगीतिक प्रस्तुतीले उपस्थित दर्शकलाई उत्साहित बनायो र कार्यक्रमलाई अझ सजीव बनायो।


सहभागीहरूको निष्कर्ष
सहभागीहरूले यस अभियानलाई रमाइलो, सजिलो र प्रभावकारी भन्दै खुसी व्यक्त गरेका थिए।सहभागीतामूलक छलफल, प्रेरणादायी कथनहरू र खुला अन्तरक्रियाले भरिएको कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रम बिहान १० बजे सुरु भई दिउँसो ३ बजे सम्पन्न भएको थियो।





































































Discussion about this post