काठमाडौंः दिगो वन व्यवस्थापनमा नमूना कार्य गर्दै आएको तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समूहले शनिबारदेखि काठ दाउरा उत्पादन तथा रोजगारी प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रमको उद्घाटन सव डिभिजन वन कार्यालय, देवघाटका प्रमुख कृष्णराज भट्टको उपस्थितिमा भएको हो । १३ दिनसम्म चल्ने यस कार्यक्रमले दिगो वन व्यवस्थापन, रोजगार सृजना, र पर्यावरण संरक्षणलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको समूहका अध्यक्ष डिल्ली गिरीले जानकारी दिए ।


कार्यक्रमका उद्देश्य र विशेषता
कार्यक्रमको मुख्य उद्देश्य दिगो वन व्यवस्थापनलाई बलियो बनाउँदै स्थानीय उपभोक्ताहरूलाई रोजगार सृजना गर्नु रहेको अध्यक्ष गिरीले बताए ।अध्यक्ष गिरीका अनुसार, कार्यक्रमले १० हेक्टर क्षेत्रफल वनमा गोडमेल, पात पत्तिङ्गर र झाडी सफाइ गर्नेछ । सफाइ गर्दा संकलित सामग्रीलाई जैविक मलमा परिणत गरिने छ । वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) को सहयोगमा स्वीकृत वार्षिक कार्ययोजना अनुरूप कार्यक्रम सञ्चालन भइरहेको हो ।


कार्यक्रममा सो समूहमा आवद्ध ३४२ घरधुरीका ६८४ उपभोक्ताहरूले २ दिन फिल्डमा खटिने छन् । उनीहरुले गोडमेल, झाडी सफाइ, र दाउराका रूपमा प्रयोग हुने साना लाठाहरू संकलन गर्ने अध्यक्ष गिरीले जानकारी दिए ।
संकलित झाडी र पातपत्तिङ्गरलाई जैविक मल बनाउन प्रयोग गरिनुका साथै संकलित लाथ्राहरूलाई वन समूहले नियम अनुसार घाटगद्धी गरी न्यून शुल्कमा उपभोक्ताहरूलाई वितरण गरिने अध्यक्षले बताए ।
अध्यक्ष गिरीका अनुसार, १३ दिनमा वन क्षेत्र सफाइ गरेपछि डढेलोको जोखिम घट्नुका साथै वनको स्वास्थ्यमा सुधार आउनेछ ।
मधुवन सामुदायिक वनले देशभरका २२ हजारभन्दा बढी सामुदायिक वनहरूका लागि प्रेरणादायी कार्य गर्दै आएको छ ।


वन संरक्षणको प्रथागत अभ्याससँगै कुस, अम्रिसो, बेसार खेतीलाई प्रवर्द्धन गर्दै पर्यावरणीय र आर्थिक लाभ लिईरहेको अध्यक्ष गिरीले जानकारी दिए ।
पानीका मुहान संरक्षण र पर्यावरणीय सन्तुलनलाई ध्यानमा राखेर योजनाबद्ध दिगो वन व्यवस्थापन मधुवन निरन्तर लागि परेको अध्यक्ष गिरीको भनाई छ ।
मधुवनले स्थानीय उपभोक्ताको स्वास्थ्यमा ध्यान राख्दै खुला व्यायामशाला सञ्चालन गरी पर्यटकहरूको आकर्षण बढाउने प्रयास गरेको अध्यक्ष गिरीले बताए ।


अध्यक्ष गिरीका नेतृत्वमा मधुवन सामुदायिक वनले स्थानीय समुदायको आर्थिक, सामाजिक, र स्वास्थ्य क्षेत्र सुधार गर्न थुप्रै नमूना कार्यहरू गर्दै आएको छ ।
दिगो वन व्यवस्थापन र रोजगारी सृजनालाई एकैसाथ अघि बढाउने यो कार्यक्रमले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुका साथै वन संरक्षणमा टेवा पु¥याउनेछ । मधुवन सामुदायिक वन उपभोक्ता समूहको यो प्रयास नेपालका अन्य सामुदायिक वनहरूका लागि समेत अनुकरणीय नमूना बन्न सक्ने केही समय अगाडि मात्रै सो वनको अध्ययन अवलोकन गरेका देशभरका १५ पालिकाका प्रमुख उपप्रमुखहरुको निश्कर्ष छ ।







































































Discussion about this post