२ महिनाभित्र ११४ वटा मन्दिर, १११ वटा हिटी (ढुङ्गेधारा), १० वटा कुवा, र ६ वटा पोखरीको सफाइ गरिएको छ भने ४ वटा हिटीको पुनरुत्थान, मर्मत, र पुनःनिर्माणको कार्य सम्पन्न भएको छ। यो काम महानगरपालिकाको स्वर्णिम योजना ‘सम्पदा मर्मत तथा संरक्षण’ कार्यक्रम अन्तर्गत भइरहेको हो। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ११४ साना ठूला मन्दिरहरूको सरसफाइ गरिएको छ, जबकि अघिल्लो आर्थिक वर्षभरि ३३३ वटा मन्दिरहरू सफा गरिएका थिए।
सफाइको क्रममा मन्दिरका प्राङ्गण, बत्ती बाल्ने ठाउँ, घण्टी, पर्खाल, परिक्रमा मार्ग, बार, र अन्य फोहोर भएका स्थानहरू सफा गरिएको छ। मन्दिरहरूको इट्टामा सिलिकन र ड्युरासिल रङ लगाइएको छ। मन्दिरमा पूजाजन्य सामग्री, पातपतिङ्गर, दियो र पालाको खिया, तेलको दाग, रङ तथा अविरका दागहरूलाई सरफ, पिताम्बर, तार ब्रस, झाडु, र पुछ्ने कपडाको प्रयोग गरी सफा गरिएको हो।
यस कार्यमा १० जना सुपरभाइजर र १०० जना सरसफाइ कर्मचारीहरू संलग्न छन्। सुपरभाइजरहरूले वडा कार्यालयसँग समन्वय गरी सफाइ गराउने जिम्मेवारी लिएका छन्। यस अभियानमा अपाङ्गता भएका ४० जना (बोल्न र सुन्न नसक्ने) र सिसडोल क्षेत्रका ६० जना व्यक्ति सहभागी छन्।
सफाइ अभियान दैनिक बिहान ७ बजे सुरु हुन्छ र ८ घण्टा सञ्चालन हुन्छ। साथै, हिटी र कुवाहरूको पनि सरसफाइ गरिएको छ। २ महिनामा १११ वटा हिटी, १० वटा कुवा र ६ वटा पोखरीको सफाइ सम्पन्न भएको छ। ४ वटा पोखरीको पुनरुत्थान तथा सौन्दर्यीकरण पनि गरिएको छ, जसमा करिब ३२ लाख रुपैयाँ खर्च भएको छ।
चालु आर्थिक वर्षको असार मसान्तसम्ममा १२ वटा हिटी पुनःनिर्माणका लागि सम्झौता गरिएको छ, जसमा गंगाहिटी, भैरव हिटी, बाँहिटी, बाँकोट हिटी लगायतका स्थानहरू समावेश छन्। यी सम्पदा क्षेत्रहरूको पुनरुत्थान र मर्मतको कार्यमा विभिन्न वडाहरूमा सम्झौता गर्ने प्रक्रियामा काम भइरहेको छ।




























































Discussion about this post