- प्रेम बास्तोला, राजेन्द्र भट्ट
धादिङवेशी: नेपालभरि नै सचेतना जगाउँदै आएका सालक विज्ञ एवं जिल्ला वन धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले समुदायस्तरमा सालक संरक्षणका लागि सचेतनामूलक अभियानलाई धादिङमा तीव्रताका साथ अगाडि बढाएका छन् । नेपालमा धादिङ जिल्लामा सबैभन्दा बढी सालक पाइने र सबैभन्दा बढी चोरी पैठारी हुने भएकाले संरक्षणका उनले यस्तो सचेतना अभियानलाई तीव्रता दिएका हुन् ।
मनोहरीबाट सरुवा भई जिल्ला वन कार्यालय धादिङ आएलगत्तै उनले सालक संरक्षणका लागि आफ्नै कार्यालय परिसरबाट समुदायस्तरमा सचेतना अभियान सुरु गरेका हुन् । ३ महिनाकै अवधिमा आचार्यले धादिङ जिल्लाभरि नै विभिन्न माध्यमबाट सालक संरक्षण, सालकको महत्त्व, चोरीसिकारी नियन्त्रण एवं सजायका विषयमा स्पष्ट हुने गरि सचेतना अभियान चलाइरहेका छन् ।


आचार्यले जिल्ला वन कार्यालय धादिङको कम्पाउन्ड वालमा सालकको चित्र मात्रै बनाएनन्, हरित पार्क नाम दिएर सो स्थानमा आकर्षक दुई वटा सालकका प्रतिमा समेत स्थापना गरेका छन् । जसमा एक जोडी वयस्क सालकका जोडी प्रतिमाको बिचमा धमिराको ढिस्को समेत स्थापना गरेका छन् । कार्यालयमा आउने सेवाग्राहीले सालकको प्रतिमा देखेर त्यसको महत्त्व बुझ्ने हेर्ने, तस्बिर खिच्नेलगायतका क्रियाकलापले सालकको महत्त्व बुझ्ने प्रमुख आर्चायको विश्वास छ ।
आचार्यले कार्यालयभन्दा बाहिर पनि समुदायको बढी आउजाउ हुने धादिङवेशीका अन्य सरकारी कार्यालय एवं विद्यालयका गेटमा सालकको तस्बिर सहित सालक तस्करी गरे दण्डसजाय हुने कानुन उल्लेख गरि फ्लेक्स प्रिन्टहरू झुन्डाएका छन् । धादिङ जिल्ला अस्पताल, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय धादिङ, नीलकण्ठ नगरपालिका, बालमन्दिर माध्यमिक विद्यालय लगायतका स्थानमा उनले सालकसम्बन्धी फ्लेक्स प्रिन्टहरू झुन्डाएका हुन् । आचार्यले त्यसका अलावा ३ महिनाको अवधिमा भ्रमण गरेका स्थानहरू, सामुदायिक वन, कबुलियती वन, जिल्ला वन मातहतका अन्य वन क्षेत्र तथा इकाईहरूमा समेत सचेतनामूलक अभियान थालिसकेका छन् ।


आचार्यका अनुसार, धादिङ जिल्लामा मात्र नभएर दुर्लभ मानिएको सालक बागमती प्रदेशका १३ वटै जिल्लामा पाइन्छ । यसबारेमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई समेत जानकारी गराएको उनले बताए । आफूले मुख्यमन्त्रीलाई सालक संरक्षणका लागि आवश्यक कार्यक्रम ल्याउन सुझाएको उनले जानकारी दिए । “एक सिङ्गे गैँडा चितवन र पर्सा पाइएला । पाटेबाघ वा अन्य ठुला जन्तु चितवन,पर्सा निकुञ्जमा भेटिएलान् । रेडपाण्डा, कस्तुरी रसुवा,नुवाकोटमा भेटिएला तर, सालक यस्तो जीव हो जो बागमती प्रदेशका १३ वटै जिल्लामा पाइन्छ”, उनले अगाडि भने, “यसकारण सालकलाई हरेक जिल्लाका पालिकाहरूले अपनत्व लिई संरक्षणका लागि साझा नीति तथा कार्यक्रम बनाउन आवश्यक छ ।” यस कार्यले सालकसम्बन्धी अध्येता एवम् सालक पर्यटनको विकास गर्न सकिने उनको बुझाइ छ । सालकलाई बागमती प्रदेशले गौरवको प्राणीको रूपमा घोषणा गर्न सकिने उनले बताए ।


सालक संरक्षणका लागि सर्वसाधारणमा जनचेतना नहुनाले सालकको खपेटाको अवैध बिक्रीका लागि चोरीसिकारी बढ्दै गएकोप्रति आचार्यले चिन्ता व्यक्त गरे । केही साताअघि ठुलो परिणाममा सालकको खपटासहित तस्करीमा संलग्न व्यक्ति पक्राउ हुनुले सालक थप खतराको सूचीमा रहेको स्पष्ट हुने उनी बताउँछन् । “खपटाको परिणाम हेर्दा ३०० भन्दा बढी सालक मारिएको स्पष्ट हुन्छ । ठुला जनावरका लागि मात्रै होइन, अति सङ्कटापन्न सालक संरक्षणका लागि राज्यले विशेष कार्यक्रम ल्याउन जरुरी छ “, उनले भने । एउटा वयस्क सालकको शरीरमा ७०० ग्रामदेखि डेढ किलोसम्म खपेटा हुने आचार्यले बताए ।


तस्करीले मात्र नभई साँघुरिँदै गएको वासस्थान, वन क्षेत्रको अतिक्रमण, वासस्थानमा अत्यधिक मानवीय गतिविधि र वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण एवं प्राकृतिक आहाराको कमी हुँदै जानुले सालक झन् लोपोन्मुख अवस्थामा पुगेको आचार्यले बताए ।
विश्वभर नै हरेक वर्ष फेब्रुअरी महिनाको तेस्रो शनिवार सालक दिवस मनाउने गरिन्छ । यस वर्ष धादिङमा विशेष कार्यक्रम राख्ने योजनासमेत रहेको आचार्यले बताए ।


सालक कस्तो जनावर हो ?
सालक शान्त स्वभावको स्तनधारी जनावर हो । यो प्याङ्गोलिन (Pangolin) को नामबाट पानि चिनिन्छ । जीवविज्ञान अन्तर्गत सालकलाई वर्गीकरण गर्दा Order: Pholidota मा राखिएको छ, जसको अर्थ खपटा भएको जनावर (Scaled animal) भन्ने हुन्छ । विश्वभर पाइने ८ प्रजातिमध्ये नेपालमा दुई प्रजातिका सालक पाइन्छन् । ती हुन् : तामे सालक अर्थात् इन्डियन प्याङ्गोलिन (Manis crassicaudata) र कालो सालक अर्थात् चाइनिज प्याङ्गोलिन (Manis pentadactyla) ।
यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा खपटा हुन्छ । सालकलाई विभिन्न स्थान–समुदायअनुसार फरक–फरक नामले चिनिन्छ । तराईमा यसलाई ‘हिलेमाछो’ वा ‘सालमछरी’ भनिन्छ भने पश्चिम पहाडतिर यसलाई ‘भकुण्डे भुत’ भनेर चिनिन्छ । लमजुङ क्षेत्रमा यसलाई ‘पाखेमाछो’को नामले चिनिन्छ । सालकको साँघुरिदै गएको लाम्चो शरीर हुन्छ र थुतुनो र पेटको भाग बाहेक सबैतिर एकआपसमा खप्टिएका खपटाले ढाकेको हुन्छ । खपटामुनि पहेंला जगरजस्ता रौँ पनि हुन्छन् । सालकका आँखा साना हुन्छन् र बाक्लो परेलाले ढाक्ने गर्छ । सालकको दाँत हुँदैन । जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलन सक्छ । यसको रङ माटोसँग मिल्दोजुल्दो देखिन्छ ।


तामे सालक (इन्डियन प्याङ्गोलिन)
तामे सालक, हल्का पहेलो–रातो वर्णको सालक हो । यो प्रजाति हिमालयको दक्षिणी भेगमा समथर तथा कम भिरालो जमिनमा पाइन्छ । यो नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशमा समेत पाइन्छ । तामे सालक सबै प्रकारका उष्ण प्रदेशीय वन र घाँसेमैदानमा पाइन्छ । तामे सालक विशेष गरी समुद्र सतहबाट करिब १,००० मिटर उचाइसम्ममा पाइन्छ । यसको शरीरको तौल ९–११ किलोग्राम, शरीरको लम्बाई ६०–७५ से.मि. र पुच्छरको लम्बाई ४५ से.मि. हुन्छ ।
कालो सालक (चाइनिज प्याङ्गोलिन)
कालो सालक, हल्का कालो वर्णको सालक हो । यो प्रजातिको सालक नेपालको पूर्वी क्षेत्रलगायत पूर्वी भारत, चीन, लाओस, थाइल्याण्ड, भियतनाम, म्यानमार र बङ्गलादेशमा पनि पाइन्छ । यो तल्लो पहाडी भेगमा प्राकृतिक वन नभएको वनक्षेत्रमा समेत पाइन्छ । यो प्रजाति मुख्यतयाः उष्ण प्रदेशीय वन र उपोष्ण प्रदेशीय वन मा पाइन्छ । कालो सालक विशेष गरी समुद्र सतहबाट करिब १,०००—२,५०० मिटर उचाइसम्ममा पाइन्छ । यसको तौल करिब ९ किलोग्राम, शरीरको लम्बाई ४८–५८ से.मि., पुच्छरको लम्बाई ३३–३८ से.मि. हुन्छ ।
तामे सालकका कत्ला फिक्का पहेँलो हुन्छन् भने कालो सालकका गाढा फुस्रा हुन्छन् । तामे सालकमा शरीरको मध्यभागको चारैतिर ११ वटादेखि १३ सम्म कत्ला हुन्छन् भने कालो सालकमा यी कत्ला १५ देखि १८ को सङ्ख्यामा हुन्छन् । तामे सालकको थुतुनो अलि चूचो परेको र कालो सालकको चेप्टो परेको हुन्छन् । नेपालमा तामे सालकभन्दा कालो सालकको भौगोलिक फैलावट बढी देखिएको छ । तामे सालक नेपालमा निकै कम सङ्ख्यामा मात्र देखिन्छ ।


वासस्थान
नेपालमा सालक समुद्र सतहबाट करिब २,००० मिटरसम्मको उचाइमा विशेषगरी सालको जङ्गलमा सालक पाइने गरेको छ । यस जनावरको वितरण (Distribution) पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा निकै बढी रहेको छ । यस जनावरका मुख्य वासस्थान पूर्वी तथा मध्यनेपालका चुरे पहाड तथा उत्तरी साल वन र त्यसको आसपासका वन क्षेत्र हुन् । नेपालका ६१ जिल्लामा सालक पाइन्छ । सालक दुलो खनेर जमिन मुनि बस्ने र आहारको खोजी गर्ने गर्छन् । सालक आहाराको खोजीमा रातमा मात्र निस्कने गर्छ । सालक दिउँसो दुलोमा बस्छ र आहाराका लागि रातको समयमा बडी क्रियाशील हुन्छ । यसर्थ, सालकलाई रातमा सक्रिय हुने जीव (Nocturnal animal) भनिन्छ । यो जनावर आफूलाई कतैबाट आक्रमण वा खतरा महसुस भएमा त्यसबाट जोगिन भकुण्डोको आकारमा थुतुनो केन्द्रमा पारेर गुडुल्किएर डल्लो पर्छ । यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले गुडुल्किरहन सक्छ । खतरा महसुस नभएमा बिस्तारै गुजुल्टोबाट आफूलाई फुकाउँछ । यो जनावर पुच्छरको सहायताबाट रुखको हाँगामा झुन्डिन पनि सक्छ ।
किसानको साथी (Friends of Farmer)
सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ तर यसले कमिलालगायत साना कीरा र तिनका अण्डा पनि खान्छ । एउटा वयस्क सालकले एक दिनमा लगभग २०,००० धमिरा र किरा–कमिला खान्छ भनेर अनुमान गरिएको छ । यसको शरीर खपटाले ढाकिने र प्रमुख आहारा कमिला धमिरा हुनाले यसलाई स्केली एन्टएटर (Scaly anteater) पनि भनिन्छ । यसले अन्नबाली, पशुचौपाया र मानिसलगायत कसैलाई पनि हानि नोक्सान गर्दैन । सालकले किसानको बालीनाली नोक्सान गर्ने, किरा धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा गर्ने हुँदा सालक मानवसमुदायका लागि हितकारी जीव हो । सालकले जमिनको प्राङ्गारिक माटो खनेर जमिनको ऊर्वराशक्ति बढाउँछ । यसका साथै जमिनभित्रको माटो खुकुलो बनाई जमिनभित्र वर्षातको पानी छिरेर जमिनको चिस्यान कायम गर्न मद्दत पुर्याउँछ र यसले प्राकृतिक सन्तुलनमा पनि महत्वपूर्ण सहयोग पु¥याउँछ । त्यसैले सालकलाई किसानको साथी (Friends of Farmer) भनेर भन्ने गरिन्छ । तर ज्ञानको अभावमा निर्दोष सालक मारिएका छन् ।


लोप हुने कारण
- अवैध चोरीनिकासी एवं व्यापार सालक लोप हुनुको प्रमुख कारण हो ।
- नेपालमा अन्धविश्वासका कारण पनि सालकको शिकार हुन गरेको छ ।
- समुदायमा जनचेतनाको कमी, सरोकारवालाको कम चासो ।
- वन डडेलो, जलवायु परिवर्तन ।
- साँघुरिदै गएको बासस्थान, वनक्षेत्रको अतिक्रमण, यसको वासस्थानमा अत्यधिक मानवीय गतिविधि, वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण
- प्राकृतिक आहारको कमी हुँदै जानु ।
- बालीनालीमा विषादी प्रयोग हुने आदिले गर्दा सालकको सङ्ख्या घट्नुका थप कारण तथा चुनौतीका रूपमा रहेका छन् ।
नेपालमा सालकको संरक्षण एवं कानुनी प्रावधान
सालक नेपालको संरक्षित जनावर हो । संरक्षित क्षेत्रसँगै समुदायिक वनमा सालक बढी मात्रामा पाइन्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) ले तामे सालकलाई सङ्कटापन्न (Endangered) र कालो सालकलाई अति सङ्कटापन्न (Crtically Endangered) सूचीमा सूचीकृत गरेको छ । त्यसैगरी वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय व्यापार अभिसन्धि (CITES) को अनुसूची (Appendix) मा राखेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकसहित २७ प्रजाति स्तनधारी प्राणीलाई लोपोन्मुख सूचीमा राखी संरक्षिण गरिरहेको छ । त्यसैगरी यस ऐनको दफा २६ को उपदफा २ मा सालक मारेमा, घाइते बनाएमा वा यसको अङ्गको व्यापार गरेमा १ लाखदेखि ५ लाख रुपियाँसम्म जरिवाना वा १ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । पछिल्लो समय नेपाल सरकारको बाघ, गैंडा, हात्ती, कस्तुरी, हाब्रे जस्तै सालकलाई अति सङ्कटापन्न सूचीमा राखेर संरक्षणका काम प्राथमिकतासाथ अघि सारेको छ । हामीले जङ्गलमा सालक देखेमा यसलाई कुनै प्रकारको बाधा उत्पन्न नगराई आफ्नो बाटो जान दिने, यसैगरी यसको बासस्थान दुलोलाई खोतल्ने, चलाउने आदि नगर्ने, यदि कतै घाइते सालक देखेमा नजिकको वन कार्यालय, सामुदायिक वन समुह वा प्रहरी कार्यालयमा खबर गरिदिने गर्नु पर्छ । यदि नजानेर पनि घाइते सालकलाई चलाउने, घर लैजाने गरेमा यो पनि दण्डनीय अपराध हुने हुनाले यसको जानकरी सबैलाई हुन जरुरी छ ।
विश्वमै सालक प्रजाति गम्भीर जोखिममा परेकाले संसारभर फेबु्रअरी महिनाको तेस्रो शनिबार विश्व सालक दिवस (ध्यचमि एबलनयष्लि म्बथ) मनाइन्छ ।
सालक संरक्षण योजना
सालकको निरन्तर घट्दो सङ्ख्यालाई मध्यनजर गरेर राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संररक्षण विभागले यस जनावरको संरक्षणका लागिे प्याङ्गोलिन संरक्षण कार्ययोजना, २०१८—२०२२ (Pangolin Consercation ACtion Plan, 2018-2022) पनि लागू गरेको छ ।
यसमा मुख्यतः ४ वटा उद्देश्य राखिएका छन्, जसअनुसार;
- सालकको संरक्षणको अवस्था, वासस्थान, परिस्थिकीय प्रणालीको ज्ञानमा अभिवृद्धि गर्ने
- सालकको अवैध चोरी सिकारी तथा व्यापार नियन्त्रण गर्ने
- सालक संरक्षणका लागि बासस्थानको खोजी एवं व्यवस्थापन गर्ने
- सालक संरक्षणका लागि स्थानीय जनताको उत्तरदायित्वको वृद्धि गर्ने
सालक संरक्षणसम्बन्धि जनचेतनामूलक कार्यक्रमको भिडियो:
https://www.facebook.com/bishnu.acharya.900/videos/353769587298062



























































Discussion about this post