मडेला, बर्दिया । देशमै नमुना कार्यको रूपमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाले विद्यालयको शैक्षिक सुधारका लागि सुरु गरेको ‘आमा अभिभावक शिक्षा कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नगरको विकास भनेको भौतिक संरचना निर्माण मात्रै हो भन्ने बुझाइ चिर्दै मानवीय विकासलाई प्राथमिकतामा राखेर नगरपालिकाले सञ्चालन गरेको उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
मङ्गलवार नगरपालिकाको वडा-७ स्थित सुन्दरपुरको शिवसुन्दर माध्यमिक विद्यालयमा बालविकासदेखि कक्षा ८ सम्मका १६१ जना आमा अभिभावकहरुका लागि आमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बालबालिकाको पहिलो शिक्षकको रूपमा रहेका आमा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो, जसमा मुक्त कमैया, थारु, सुकुम्वासी, दलित, जनजाति समुदायका आमा अभिभावकहरूको उपस्थिति रहेको थियो । पुस ९ र १० दुई दिन सार्वजनिक बिदा भए तापनि नगरपालिकाले सामुदायिक शिक्षा सुदृढीकरणका लागि आज आठौँ कार्यक्रम सम्पन्न गरेको हो ।



कार्यक्रमको सुरुवातमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले घरबाटै आफ्ना बालबालिकाहरूलाई शिक्षाप्रति कसरी लगनशील बनाउन सकिन्छ, पहिलो शिक्षकको रूपमा रहेका आमाहरूले कसरी आफ्ना छोराछोरीहरूलाई असल, व्यवहारिक, जीवनोपयोगी, स्वावलम्बी, निडर, क्षमतावान् बन्न सकिन्छ भन्ने कुराको उदाहरणसहितको २ घण्टा लामो प्रस्तुति दिएका थिए । उनले न.पा. काे सामान्य परिचय, प्राथमिकता र बाबुनानीहरुकाे शिक्षामा आमाहरुकाे भूमिकाकाे बारेमा प्रष्ट पारेका थिए ।


नगरपालिका शिक्षा शाखाका सुपरिवेक्षक नन्दराम अधिकारीले कार्यक्रमको सहजीकरण गर्दै सहभागी आमा अभिभावकहरूसँग विद्यालय, पठनपाठन, बाल सिकाइ अभ्यासहरू, खाजाको प्रबन्ध, विद्यार्थीले घरमा गएर गर्ने विभिन्न कामकारवाहीहरूबारे गुनासा एवं सुझावहरू सङ्कलन गर्ने तथा बालबालिकाको शिक्षा सुधारप्रति आमा अभिभावकहरू प्रतिबद्ध हुनुपर्ने बताए । “विद्यार्थी भाइबहिनीहरूलाई स्कुलले मात्रै होइन, अभिभावकले पनि उत्तिकै चासो दिनुपर्छ । उनीहरूको सरसफाइ, ड्रेस कसरी ल्याएका छन्, कस्ता साथीसँगीहरूसँग सङ्गत गरिरहेका छन् जस्ता कुराहरूमा निगरानी गर्नुपर्छ”, उनले भने ।


विद्यालयका प्रअ सुरेन्द्र चौधरीले शैक्षिक भवन एवं कक्षाकोठाको सरसफाइ र क्षमता विकासमा विद्यालय प्रशासन प्रतिबद्ध रहेको बताए । कार्यक्रममा आमा अभिभावकहरूले केही बालबालिकाहरू अपाङ्ग एवं अशक्त भएको, केही बालबालिकाहरू दुर्व्यसनी तथा लागुऔषधमा फस्न पुगेको तथा अङ्ग्रेजी सिकाई र समय तालिका निर्माण हुनुपर्ने बताएका थिए, जसलाई तत्काल सुधार गर्दै लैजाने प्रतिबद्धता समेत चौधरीले जनाए ।
यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि तथा नगरपालिका उपप्रमुख बीना कुमारी भट्टराईले आमा अभिभावकहरूले वृहत् चासो व्यक्त गरेमा बोर्डिङभन्दा सामुदायिक विद्यालयहरूले राम्रो नतिजा निकाल्न सक्ने बताइन् । “तपाईँहरू, विद्यालय, शिक्षकहरू र हामीहरू (नगर)ले एकापसले व्यहोरिरहेका समस्याहरू एकार्कालाई साझा गरेर बालबालिका शैक्षिक प्रगतिका खातिर कार्यक्रमहरू सन्चलान गर्दै गएमा ठाकुरबाबाको शैक्षिक प्रगति दिनानुदिन बढ्दै जान्छ”, उनले अगाडि भनिन्, “वडा नम्बर सात भनेको मुक्त कमैया, सुकुम्वासी, थारु समुदायको बाहुल्यता भएको क्षेत्र हो । यहाँ कालिकोट, जुम्लाबाट बसाइ सराइ गरी आएकाहरू पनि हुनुहुन्छ । गरिब तथा मध्यम वर्गका किसानहरू यहाँ बस्छौँ । यसर्थ पनि हामीले यहाँ १० कक्षासम्म शिक्षालाई नि:शुल्क गरेका छौँ ।” उपप्रमुख भट्टराईले आर्थिक रूपले विपन्न परिवारले पालिकाले अवगत गराएको खण्डमा विपन्न विद्यार्थीको पोसाक, मासिक शुल्क, कापीकलम लगायतका वस्तुहरू पालिकाले उपलब्ध गराउने तथा स्वास्थ्यमा समस्या भएका विद्यार्थीको उपचार समेत गरिदिने बताइन् ।


उपप्रमुख भट्टराईले १०-४ समयमा विद्यार्थीहरूको गतिविधि निगरानी गर्ने काम विद्यालय र शिक्षकहरूको भएको बताउँदै अगाडि भनिन्, “नगरपालिकाले सबैभन्दा धेरै लगानी शिक्षामा गरेको छ । लगानीअनुसारको प्रतिफल किन आएन भन्नेबारे हामी सबैले सोच्न जरुरी छ ।”
कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख तिलकराम लम्सालले चुनावताकै जनताहरूले सार्वजनिक शिक्षाको विषय उठाएको हुँदा पालिकाले त्यसलाई पहिलो प्राथमिकता राखी १-१० सम्म निःशुल्क शिक्षा कार्यक्रम लागू गरेको बताए । सोहीअनुरूप नगरपालिकाले कुल बजेट ४२-४५ प्रतिशत रकम शिक्षाकै लागि विनियोजन गरेको तथा हालसम्म ८३ वटा सुविधासम्पन्न कक्षाकोठाहरू निर्माण गरिसकेको उनले बताए । “शिक्षक व्यवस्थापनतर्फ वार्षिक साढे ५ करोड रुपियाँ तलबमा मात्रै खर्च गरिसकेका छौँ । साढे ५ करोडले १ किलोमिटर पनि बाटो बन्दो रहेनछ”, उनले अगाडि भने, “मान्छेले के सोच्दा रहेछन् भने बाटो बनेपछि मात्रै विकास हुन्छ भन्ने सोच्छौँ तर हामीले के सोच्यौ भने शिक्षालाई राम्रो बनाएको खण्डमा मानवपूँजी निर्माण हुने र तत्पश्चात् अझ राम्रा कामहरू गर्न सकिन्छ भन्ने बुझाइले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका हौँ ।”


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा-७ का वडाध्यक्ष कलम बहादुर विष्टले समाज आज पनि साँझको समयमा हिँड्न नसक्ने अवस्थामा रहेको हुँदा यस्ता कार्यक्रमप्रति अभिभावकहरू थप गम्भीर र चनाखो हुनुपर्ने जोड दिए । उनले भने, “विद्यालयमा सरहरूले पढाउनु भयो\भएन ? विद्यार्थीका लागि सिकाइ शिक्षा सही ढङ्गले भयो/भएन भन्नुस् । तपाईँहरूले भन्न सक्नुपर्छ, भन्नुस् । वडा कार्यालय र समग्र नगरपालिका यहाँहरू सहयोग गर्न तयार छ ।”


































































Discussion about this post