प्रेम बास्तोला
काठमाडौंः नेपालको पर्वतिय पर्यटनलाई अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गर्न जोड दिने ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को नीति अनुरुप यस वर्ष थप नयाँ पदयात्रा क्षेत्रको पहिचान गरि त्यसको निर्माणमा आवश्यक योजना अघि बढाइएको छ ।
टानले सडक सञ्जालको विस्तारका कारण छोटिँदै गएको अन्नपूर्ण सर्किट र मनास्लु सर्किटमा पदयात्रीको पदयात्रा अवधि लम्बाउनका लागि आवश्यक योजना अघि सारेको छ । त्यसका लागि गोरखा जिल्लाका बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका र लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकालाई समेटेर ‘बौद्ध हिमाल– हिमाल चुली ग्रेट लेक सर्किट ट्रेलको डिजाइन, विकास र प्रवद्र्धन गर्नका लागि टानका अध्यक्ष निलहरी बाँस्तोलाको सहभागीतामा लमजुङ जिल्लाको दोर्दी गाँउपालिकामा आयोजित संयुक्त कार्यक्रममा ५ वटै गाउँपालिका र टानका बीचमा संयुक्त समझदारीपत्रमा हस्ताक्षर भएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए ।
सो योजना अघि बढाउनका लागि प्रत्येक गाउँपालिकाबाट ८ लाख लगानी गर्नेगरि टान र गाउँपालिका बीचमा साझेदारी सम्झौता सम्पन्न भई पहिलो चरणको अन्वेषण र योजना तर्जुमाको प्रारम्भिक कार्यहरु सम्पन्न भइसकेको महासचिव सापकोटाले बताए ।


त्यसैगरि सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकालाई पर्यटकीय गन्तव्यका साथै खुम्बु तथा मेरा उपत्यका प्रवेश गेट वे को रुपमा विकास गर्ने लक्ष्य अनुरुप माप्य दुधकोशी गाउँपालिका र ट्रेकिंग एजेन्सिज्एसोसिएसन अफ नेपाल (टान) वीच मिति २०७९ चैत्र ५ गतेका दिन समझदारी पत्रमा हस्ताक्षर भएको महासचिव सापकोटाले बताए । सो बैकल्पिक पदमार्गको विकास र प्रवद्र्धका लागि अन्वेषण भ्रमण सम्पन्न गरिसकिएको उनले जनाए ।
२५ दिनबाट करिब १० दिनको पदयात्रामा खुम्चिई सकेको राउण्ड अन्नपूर्ण ट्रेलको गरिमालाई पुर्न स्थापना गर्नका लागि बैकल्पिक पदयात्रा मार्गहरुको पहिचान, विकास तथा प्रवद्र्धन गर्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई अनुरोध गरिएको उनले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई टानका अध्यक्ष बाँस्तोलाले भेटगरी गोरखामा भेटी सो क्षेत्रमा बैकल्पिक पदयात्रा मार्गहरुको पहिचान, विकास तथा प्रवद्र्धन गर्नका लागि माग पेश गरिएको महासचिव सापकोटाले जानकारी दिए ।
महासचिव सापकोटाका अनुसार काभ्रेपलाञ्चोकको चौंरी देउराली गाउँपालिका र टानका वीचमा समझदारी पत्रमा हस्ताक्षर भई तिमालबाट चौंरी देउराली हुँदै सैलुङ जोड्ने पदयात्रा मार्गको विकास र प्रवद्र्धन गर्ने कार्यका लागि चौंरी देउराली गाउँपालिकाको १० लाख लगानीमा आवश्यक कार्य अगाडि बढाइएको छ । सो योजनामा टानको प्राविधिक सहयोगमा गाउँपालिकाको पर्यटन गुरुयोजना तयार गर्ने र तिमाल–चौंरीदेउराली–सैलुङ पदयात्रा मार्गको ट्रेकिङ नक्सा तयार गर्ने कार्य भइरहेको सापकोटाले बताए ।


काठमाडौँ उपत्यका वरपरका डाँडाका धारहरुलाई समेटेर शिवपुरी, तारेभीर, मुलखर्क चिसापानी, जरसिंहपौवा, ढाव, नगरकोट, साँगा, नमोबुद्ध, फुल्चोकी, गोदावरी, हात्तिवन, फर्पिङ, चित्लाङ, चन्द्रागिरि, रामकोट, नागार्जुन, टोखा, ककनी लगायतका स्थानहरुलाई जोडेर नेपाल मण्डला सर्किट ट्रेलको अध्ययन, डिजाईन, प्याकेजिङ, विकास तथा प्रवद्र्धन गर्ने अभियान अघि सारिएको सापकोटाले बताए ।
सो अभियान अन्तर्गत टानका अध्यक्ष बास्तोलाको सहभागीतामा नगरकोट नाल्दुम पर्यटन विकास समिति र टानका बीचमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । अन्य स्थानीय निकायसँग समेत समझदारी र सहकार्य गरी अगाडि बढ्ने कार्य निरन्तर जारी रहेको महासचिव सापकोटाले बताए ।
महासचिव सापकोटाका अनुसार टानको सहकार्यमा काठमाडौंदेखि नजिकको क्षेत्रमा २०२२ अक्टोबर २९ देखि नोभेम्बर २१ सम्म गाड्डचेम्पो हिमालको सफल आरोहण भएको छ । टानको सदस्य कम्पनी गरिमा भोएज ट्राभल एण्ड टुर प्रा. लिले जुगल हिमाल रेन्जमा पर्ने (गाम्छेम्पो पिक ६६८७ मिटर) मेलम्ची सिन्धुपाल्चोक पाँच पोखरीदेखि रसुवा लाङटाङ सम्मको दिगो पदयात्रा मार्ग पनि पहिचान भएको छ ।
टानको प्रवद्र्धनात्मक सहयोगमा यो नयाँ पदमार्गको पहिचान हुने कार्य सम्पन्न भएको सापकोटाले जानकारी दिए । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन सफल हुने र एक आकर्षक पदयात्रा मार्ग बन्न सक्ने अपेक्षा गरिएको उनको विश्वास छ ।



























































Discussion about this post