बर्दिया । ४४औं विश्व पर्यटन दिवस मनाउन आज बर्दियाको ठाकुरबाबा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । मंगलबार सूचना जारी गरी नगर अस्पताल बाहेक अन्य सबै पालिका मातहतका कार्यालयहरुमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकालेले सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीलाई अनिवार्य रुपमा कार्यक्रममा उपस्थिति हुन आग्रह पनि गरेको छ । नगरप्रमुख तिलकराम लम्सालले बिहान ११ बजेदेखि मन्दिर प्राङगणमा कार्यक्रम भएको छ ।


ठाकुरबाबा नगरपालिका, पर्यटन परिषद्, लुम्बिनीको आयोजनामा ठाकुरद्वारा–९ मा पर्यटन दिवस मनाउन लागिएको हुँदा पर्यटन दिवसको महत्व बुझाउन सार्वजनिक बिदा दिइएको लम्सालले बताए । कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित अन्य मन्त्री र माननियहरुको उपस्थिति रहनेछ ।
‘लुम्बिनी प्रदेशको प्रमुख गन्तब्यको रुपमा विकास हुँदै गरेको बर्दिया नै हो,’ नगरप्रमुख लम्सालले भने ‘त्यसमाथि ठाकुरबाबाको संस्कृति र प्रकृतिका कारणले विश्वभर आफ्नो पहिचान बनाउन सफल भएको छ ।’
ग्रिन डेष्टिनेसन अफ वर्ल्डमा सय औं स्थानमा र एसिया प्यासिफिकको घुम्नै पर्ने दशौं स्थानमा बर्दिया जिल्ला सूचिकृत रहेको हुँदा यसको प्रचारप्रसार थप व्यापक बनाइ यसको महत्व सबैलाई बुझाउने उदेश्यले सार्वजनिक बिदा दिएर उत्सवका रुपमा मनाउन थालिएको मेयर लम्सालले जानकारी दिए । ‘बर्दियावासीले जति फाइदा लिनुपर्ने हो त्यति फाइदा लिन सकिरहेका छैनौं,’ उनले भने‘ त्यस्तै कुराहरुको महत्व दर्शाउन र प्रचारप्रसार गरी यहाँको पर्यटन पर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।’


होटल संघ नेपाल, बर्दिया च्याप्टरका अध्यक्ष एवम् थारू होम रिसोर्टका सन्चालक मोहनलाल चौधरी सरकारले विशेष ध्यान दिने हो र लुम्बिनी आउने पर्यटकलाई बर्दियासम्म ल्याउन सकिने बताउँछन्, “पर्यटकहरूले नयाँ कुरा हेर्न खोज्छन्, त्यसैअनुसारको आतिथ्यता चाहन्छन् । त्यसका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र यहाँका होटलहरू तयार छन्, तर सरकारले चिनेको छैन”, उनी अगाडि भन्छन्, “अन्तर्राष्ट्रिय क्षेत्रले चिनेको र देशले बिर्सिएको ठाउँ बर्दिया हो । म बर्दियाको परिचय यसरी दिन चाहन्छु ।”
लुम्बिनी र बर्दियाको व्यावसायिक क्षेत्रबीच सहज आवतजावतका लागि पर्यटनको पूर्वाधार, व्यावसायिक सञ्चार एवम् नीतिगत प्रोत्साहनको कमीका कारण बर्दिया पश्चिम नेपालको पर्यटन उद्योगको रूपमा स्थापित हुन् नसकिरहेकाले यसबारे प्रदेश सरकारसँग कुराकानी गरिने उनले बताए । चौधरी पर्यटन दिवसका दिन सन्चालित यस कार्यक्रमले बर्दियाको पर्यटन प्रवर्द्धनलाई सघाउने बताउँछन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज बाघको प्रमुख बासस्थान मध्यको एक हो । यहाँ हात्ती, बाघ, चित्तल लगाएतका दुर्लभ वन्यजन्तु हेर्न जाने पर्यटकको संख्या बर्सेनी बढ्दै जान थालेको छ। निकुञ्जकै कारण बर्दियामा पछिल्लो समय स्तरिय होटेल, होमस्टेहरू खुलेका छन् ।





























































Discussion about this post