बुटवल । ४४औं विश्व पर्यटन दिवसको अवसरमा आज रुपन्देहीको बेलहिया नाका र लुम्बिनीमा विदेशी पर्यटकलाई स्वागत गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) लुम्बिनीले बेलहिया नाकाबाट पहिलो प्रवेश गर्ने ५ जना विदेशी पर्यटकलाई स्वागत गरेको हो ।
सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको स्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो ।
विदेशी पर्यटकमाझ सकारात्मक सन्देश प्रवाह गर्न जापानी मूलका ५ अमेरिकी नागरिकलाई नेपाली संस्कृति अनुसार ढाका टोपी, रातो टीका र खादा लगाइदिएर स्वागत गरेको नाट्टाकी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । उनले आज दिनभरि नै पर्यटन दिवस हर्ष उल्लासका साथ मनाउने तयारी गरिएको बताइन् ।
यस्तै ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा बुधबार बिहान पर्यटकलाइ स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवी प्रवेशद्वारमा स्वागत गरेका हुन् । लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले संयुक्त रूपमा पर्यटकलाइ खादा र उपहार दिएर स्वागत गरेका हुन् ।



























































Discussion about this post