पोखराः हिमाल पारीको जिल्ला मुस्ताङको पवित्र तिर्थ स्थल एवं पर्यटकीय गन्तव्य कागबेनीमा गत साउन २९ गते आएको बाढीले करिब एक अर्ब भन्दा बढीको क्षति भएको छ । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका ४ मा पर्ने कागबेनीमा आएको बाढीले २९ घर तथा भवनमा पूर्ण क्षति, २० वटा घर तथा भवनमा आंशिक क्षति सहितका अन्य भौतिक क्षति हुँदा करिब एक अर्ब भन्दा बढीको क्षति हुन पुगेको कागबेनी बस्ती पुनः निर्माण तथा संरक्षण समितिका अध्यक्ष थेन्जोक छेप्तेङ गुरुङले बताए ।
उनले भने “हामीले यति वेला ठुलो क्षति व्यहोर्नु पर्यो, भाग्यवश हाम्रो मानवीय क्षति हुन बाट बचाउन सफल भयौँ, घरबार विहीन भएका बाढी प्रभावितहरूको लागि तत्काल राहत आवश्यक परेको छ, यसमा हामीले पनि जनस्तरबाट राहत सङ्कलनको अभियान सुरु गरेका छौँ । ” केही दिन अघि माज्ञ गठन भएको समितिको खातामा हालसम्म करिब स्वदेश तथा विदेशबाट गरी २० लाख रुपैयाँ आर्थिक सहयोग सङ्कलन भएको अध्यक्ष गुरुङले जनाए ।
स्वदेश तथा विदेशमा रहनु हुने सबै सहयोगी मनहरू माझ आव्हान गर्दै उनले आफूहरूलाई परेको पीडामा मलमपट्टी लगाउन सबैको केही न केही सहभागिता हुने विश्वास लिए ।


हाल बाढीले आंशिक क्षति भएका घर तथा भवनको सफाई अभियान चलेको छ । उक्त सफाई अभियानमा मुस्ताङ पुगेका सरकारी कर्मचारी देखि सुरक्षाकर्मी, मुस्ताङका विभिन्न गाउँ गाउँबाट आमा समूह, क्लब तथा विभिन्न संघ संस्थाहरूको सहभागितामा सफाई अभियान भई रहेको अध्यक्ष गुरुङले बताए । एक सय घर भएको उक्त बस्तीमा हाल ४ सय भन्दा बढीको बसोबास भएको उनले जनाए । पूर्ण क्षति र आंशिक क्षति भएका घर परिवारका सदस्यहरु उहाँका आफन्त तथा छिमेकीको घरमा हाल बस्दै आएको उनको भनाई छ । खानेपानी, बिद्युत्, टेलिफोन, सिँचाई, पुल लगायतका मानव जीवनलाई आवश्यक पर्ने बस्तुहरूलाई बाढीले प्रभावित बनाएपछि हाल त्यसलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको अध्यक्ष गुरुङले बताए ।
माथिल्लो मुस्ताङ सडक खण्ड हाल सञ्चालन भएको बताउँदै उनले म्याग्दी खण्डका केही ठाउँमा पहिरो गएका कारण अझै पोखरा तथा म्याग्दीबाट कागबेनी पुग्न समस्या रहेको छ । आफूहरूले सङ्कलन गरेको राहत आवश्यकताको आधारमा चरण चरणमा राहत वितरण गर्ने योजना बनाएको उनले जनाए ।


पहिलो चरणमा कागबेनी खोलालाई पहिलाकै धारमा फर्काउने गरी खोलाको ट्याक खोल्ने काम भएको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले बताए । आफूहरूले अब तत्काल बचेको कागबेनीको घर सहितको बस्ती संरक्षणको लागि मेसिन प्रयोग गरी मर्मत संहार र सफाई गर्न लागिएको प्रवक्ता गुरुङको भनाई छ । मुस्ताङको जोमसोम, मार्फा लगायतको क्षेत्रमा जमिनमा चिरा पर्दै भासिन थालेको स्थानीयले गुनासो गरेका छन । कागबेनी बस्तीको केही घरमा लेदो सहितको बाढीले आंशिक क्षति पुगेकोले त्यसको सफाई अभियान अझै तीन हप्ता जसो लाग्ने भएको छ । पालिकाले पनि राहत सङ्कलन अभियान सुरु गरेको छ पालिकाको राहत कोषमा करिब ४ लाख रुपैयाँ हालै सङ्कलन गरेको प्रवक्ता गुरुङको जनाए ।



























































Discussion about this post