दैलेख: कर्णालीमा हवाई उडान नियमित गरिदिन कर्णाली प्रदेश सरकारले नेपाल नागरिक उड्यन प्राधिकरणलाई पत्र पठाएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्राधिकरणलाई पत्र लेख्दै कर्णालीमा नियमित उडानका लागि आग्रह गरेको हो ।
साउन १२ गते प्राधिकरणले हवाई दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न भन्दै विशेषगरी दुर्गमका विमानस्थलमा दिउँसो साढे १२ बजेपछि व्यवसायिक/चार्टर उडान गर्न नपाइने नियम लागू गरेको थियो ।
वर्षातको समयमा सडक अवरुद्ध भइरहने हुँदा प्राधिकरणको उक्त निर्णयले कर्णालीमा अत्यावश्यक तथा आकस्मिक खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा प्रवाह, प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार प्रभावित भएको छ । त्यस्तै, ती जिल्लामा हुने दुर्घटनाका घाइते, बिरामी र गर्भवतीको उद्धारमा समेत समस्या भएको छ ।
प्रदेश सरकारले प्राधिकरणलाई पठाएको पत्रमा भनिएको छ,‘साउन १२ को निर्णयानुसार अपरेशन आवरको समय भन्दा अघिपछि विशेष गरि जुलाई, अगस्ट र सेप्टेम्बरसम्मको अवधीमा अतिरिक्त समयमा उडान सञ्चालन गर्न अनुमति नदिने भन्ने बुझिन आएकोले यसबाट कर्णाली प्रदेशका नागरिकको दैनिक जीवनयापनमा समेत कष्टकर हुने देखिन्छ ।’
कर्णाली प्रदेशका जिल्लामा मौसमको अनुकूलता हेरी हवाई उडान सञ्चालन नियमित गर्न प्राधिकरणलाई आग्रह गरिएको हो । यसैगरी, नेकपा एमालेले नागरिक उड्यन प्राधिकरणले गरेको उक्त निर्णय खारेज नगरेसम्म कर्णालीमा संसद चल्न नदिने जनाएको छ ।



























































Discussion about this post