मुस्ताङ: मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालनमा आएको छ ।
अँधेरीखोलामा सडक माथिबाट पहिरो खसेपछि अवरूद्ध भएको ७६ किलोमिटर दुरीको उक्त सडक आज बिहान १० बजेदेखि सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।
आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले पानी व्यवस्थापनका साथै थुप्रिएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको जानकारी दिए । ‘सडक खुलेपछि रोकिएका सवारी साधन गन्तब्यतर्फ लागेका छन्,’ उनले भने, ‘मौसममा सुधार आएपछि सडक मर्मत र पहिरो पन्छाउने काम गर्न सकियो ।’
बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार पानीले बगाउन सक्ने माटो र खस्न सक्ने ढुंगा डोजर लगाएर खसालिएको छ । ‘अडिन सक्नेलाई चलाएको छैन् । गेगर बगाएपछि पहिरो खस्ने ठाउँमा चटृान भेटिएको छ,’ उनले भने । भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले नयाँ अभ्यास गरेको उनले बताए ।
पहिरो व्यवस्थापन गर्न प्रयोग भएको खोल्साको पानीलाई पाइपमार्फत सुरक्षितरुपमा खोल्साबाट बगाइएको छ । पहिरो पन्छाउनका लागि साउन २८ गतेदेखि ३२ गतेसम्म बेनी–जोमसोम सडकको घुमाउनेताल–बेगखोला खण्डमा पूर्णरुपमा यातायात बन्द गरिएको थियो । बैसरीको पहिरोले सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको थियो । रासस
बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा पहिरोमा परेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते भएका थिए । पहिरोले पुरेको जिप निकालिएको छ । सवारी धनीसमेत रहेका शेरपुञ्जाको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।



























































Discussion about this post