काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गमका विमानस्थलमा अत्यावश्यक, उद्धार तथा विशेष प्रकारका जहाज/हेलिकप्टर उडानमा प्रतिबन्ध नलगाइएको बताएको छ ।
पछिल्लो समय नेपाली आकाशमा हवाई दुर्घटना बढेपछि प्राधिकरणले साउन १६ गते उडान सुरक्षामा कडाइ गर्दै उडान तालिका स्वीकृत गर्दा उडान हुने विमानस्थलको ‘अपरेसन आवर’ भित्र रही सम्बन्धित वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, आन्तरिक विमानस्थल तथा व्यवस्थापन निर्देशिका २०७९ मा विभिन्न विमानस्थलमा निर्धारण गरिएको अपरेसन आवरको समयभन्दा अघि र पछि विशेष गरी जुलाई, अगस्ट र सेप्टेम्बरसम्म अतिरिक्त सयम उडान सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेको थियो । यस व्यवस्था विरुद्ध आलोचना भएपछि आइतबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले अत्यावश्यक सेवाका लागि कुनै रोकटोक नरहेको जनाएको हो ।
विमानस्थल सञ्चालन गर्न तोकिएको समयभित्र नियमित उडान भइरहेको र अत्यावश्यक, उद्धार तथा विशेष प्रकारका जहाज/हेलिकप्टर उडानमा कुनै प्रतिबन्ध नलगाइएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । त्यस्तै, आन्तरिक उडानमा ९० प्रतिशत दुर्घटना इनरूट वेदर (जहाज उडान हुने रूट) का कारण जहाज बादलभित्र छिरेकाले दुर्घटना भइरहेको महानिर्देशक अधिकारीले बताए ।
प्राधिकरणले यसको जोखिम नियन्त्रणका लागि नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको हो । तर, प्राधिकरणले गरेको व्यवस्थापछि केही पर्यटन व्यवसायीले यसको विरोध गरिरहेका छन् ।


























































Discussion about this post