काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
त्यस्तै, महाकाली नदीको जलसतह खतरा आसपास रहेको छ भने कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती तथा यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेका छन् । आज पाँचथर, इलाम, झापा, सङ्खुवासभा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, कास्की, लमजुङ, म्याग्दी, बाजुरा, सुर्खेत, दैलेख, अछाम, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने केही स-साना नदीको बहाव सामान्य रहने महाशाखाले पूर्वानुमान गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी वर्षा अझै केही दिन जारी रहनेछ । महाशाखाकाअनुसार आज र भोलि बदली तथा वर्षा हुने छ । अहिले सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको नजिक) अवस्थित रहेको महाशाखाले जनाएको छ । सोही मौसमी प्रणालीको प्रभावले बदली र वर्षा गराएको हो ।



























































Discussion about this post