सिन्धुलीः सिन्धुली जिल्लाको दुधौली नगरपालिका–२, हत्पते लङ्गुर खोलाको मधुगङ्गा महादेव मन्दिर पछिल्लो समयमा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
प्रत्येक वर्ष साउनभरि मेला लाग्ने उक्त मन्दिरमा यो वर्ष पनि छिमेकी जिल्लासहित भारतका विभिन्न स्थानबाट पहेँलो, गेरु रङको वस्त्र लगाई हजारौँ श्रद्धालु भक्तजन आएका छन् । छिमेकी जिल्ला सर्लाही, महोत्तरी, सिराहा, रौतहट, बारा, पर्साका अतिरिक्त भारतका सीतामढी, मधुवनीलगायत सहरका भक्तजनका लागि यो मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बन्दै आएको छ ।
यस मन्दिरमा साउन महिनाभरि बोलबम मेला लाग्ने भए पनि सोमबारका दिन भक्तजनको उपस्थिति धेरै हुने गरेको छ । निराहार बसी शुद्ध मनले महादेवको दर्शन गरेमा मनले चिताएको पूरा हुने विश्वासले भक्तजन आउने गरेका हुन् ।
मन्दिरका पुजारी लोकबहादुर थापाले यो वर्ष साउन लागेकै दिनदेखि पहेँलो गेरु रङको वस्त्र लगाई आएका श्रद्धालु भक्तजनको उपस्थितिमा मेला लाग्न सुरु भएको बताए। उनले भने, “सन्तान, धन, शिक्षा प्राप्ति र कुनै पनि रोगबाट मुक्त हुन भक्तजन महादेवको दर्शनका लागि आउने गरेका छन् । महादेवप्रतिको विश्वासले नै भक्तजनको भिड लाग्ने गरेको हो ।”
भक्तजनकै सहयोगबाट हालसम्म मन्दिर परिसरमा सात वटा धर्मशाला निर्माण भइसकेको छ । स्थानीयका अनुसार जङ्गलको कुनामा रहेको महादेव मन्दिरमा जान गत वर्ष कमला नदीमा पक्की पुल निर्माण सम्पन्न भएसँगै सजिलो भएको छ ।
भक्तजनबाट बर्सेनि सातदेखि १० लाख रुपियाँसम्म भेटी मन्दिरमा जम्मा हुने गरेको छ । उक्त भेटीबाट मन्दिर परिसरमा धर्मशाला निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
पक्की पुल निर्माण हुनुअघि तराईबाट आउने भक्तजनले कमलामाई नगरपालिका–१४, चन्दनपुरमा पुगेपछि कमला नदी पार गर्नुपर्ने बाध्यता थियो, जसका कारण बर्सेनि दुई(चार जना भक्तजनको कमला नदीले बगाएर ज्यान जाने गरेको स्थानीयले बताएका छन् ।
यस वर्ष मेलाको व्यवस्थापन दुधौली नगरपालिका आफैँले मिलाएको छ । सडकको ठाउँ ठाउँमा स्वास्थ्य शिविर, सुरक्षाकर्मी परिचालन, स्टललाई व्यवस्थित गर्ने, स्वयम्सेवक परिचालन, सौर्य बत्ती जडान, पार्किङको व्यवस्थालगायतको तयारी गरिएको दुधौली नगरपालिका–२ का वडाध्यक्ष रितेश राउतले जानकारी दिए।
मधुगङ्गा महादेव मन्दिरलाई प्रमुख धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नगरपालिकाले बृहत् गुरुयोजना नै बनाई त्यसै अनुसार काम गर्न सुरु गरेको उनको भनाइ छ । भक्तजन हिँड्ने बाटोको दायाँबायाँ राखिएका नाङ्ले किराना पसल मेलाका कारण निकै फस्टाएका स्थानीय बासिन्दा रेखराज दाहालले जानकारी दिए। यो खबर गोरखापत्रमा प्रकाशित भएको छ ।




























































Discussion about this post