गोरखा: गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गरिने भएको छ ।
बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कुलदेवता मानेर पूजा गर्दै आएको उक्त अलौलिक शिलालाई भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको हो । गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपीपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो । गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतीकका रुपमा लिँदै आएका थिए ।
गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी सङ्घसंस्था, घरधनी र बुद्धिजीवीको आइतबार सर्वपक्षीय बैठक बसेर क्वार्ज किष्टललाई गोरखा दरबार परिसरभित्रै सुरक्षितसाथ भगवती शिलाका रुपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरेको हो ।
५२ किलो तीन सय ३० ग्रामको उक्त औलौकिक शिला मन्दिरमा राखिएपछि यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत थप आकर्षण गराउने नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले बताइन् । बरामद गरिएको क्वार्ज किष्टल कहाँ राख्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला गोर्खाली जनताको चाहना र भावनाअनुसार नै दरबार परिसरमा राख्न स्थानीय सरकारसहित सरोकारवाला सहमत भएको उनले बताइन् ।
खानी तथा भूगर्भ विभागमा राखे पनि पनि राज्यकै हुने र गोरखा दरबारमा राखे पनि पनि राज्यकै सम्पत्तिको हुने हुँदा उक्त शिलालाई जिल्ला बाहिर पठाउन नहुनेमा गोरखास्थित सङ्घसंस्था, बुद्धिजीवी, घरधनी, नागरिक समाजका अगुवाको पनि चाहना थियो । आफ्नो घरबाट बरामद गरिएको उक्त क्वार्ज क्रिष्टललाई गोरखकाली मन्दिर परिसरभित्रै नै राख्नुपर्ने र समयसमयमा आफूहरूले पूजा गर्न पाउनुपर्ने घर धनीले पनि इच्छा व्यक्त गरेका थिए ।
भूगर्भविद्को टोलीले दुई दिन लगाएर उक्त परीक्षण गरेको थियो । विभागको टोलीले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन तथा सङ्कलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमार्फत आग्रह गरेको थियो । परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य पत्थर भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए ।



























































Discussion about this post