– राजु झल्लु प्रसाद
आज विश्व हात्ती दिवस-२०८० । नेपालका तराई क्षेत्रका निकुञ्ज र संरक्षित क्षेत्रमा हात्ती भेटिन्छन् । आज विभिन्न निकुञ्ज र संरक्षित क्षेत्रहरूमा हात्तीलाई फलफूल खुवाउने, वृक्षारोपण गर्ने, चरा अवलोकन गर्ने, हात्तीको वासस्थान एवं संरक्षणका आगामी योजनाहरूबारे चर्चा-परिचर्चा गरिंदै छ ।
यस सन्दर्भमा हामी विश्वकै ठूलो एसियन हात्ती ‘राजागज’ को चर्चा गर्नेछौँ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा कुनै समय विश्वकै ठूलो एसियन हात्ती ‘राजागज’ हुने गर्दथ्यो । ०४९ सालमा बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलोपटक देखिएको राजागज बर्दियाको परिचय एवम् नेपालकै शान बनेको थियो । अन्तिम पटक ०६४ साल मङ्सिरमा सूर्यपटुवा गाविसको कैलाशीमा देखिएको ११ फिट ३ इन्च उचाइको सबैभन्दा ठूलो भाले एसियन हात्ती (Elephas maximus ) हाल देख्न सकिँदैन ।
राजागजको मृत्यु भइसकेको अनुमान गरिन्छ । बर्दिया राष्ट्रिय निकुञ्जमा राजागज देखिन छाडेको करिब डेढ दशक हुन् लागेको बर्दिया निकुन्जको वार्डेन अशोक भण्डारी बताउँछन् । “राजागजबारे धेरैले जिज्ञासा राख्नुहुन्छ, तर ऊ हराएपश्चात् उसको खोजिनिधी गरेका छैनौं । राजागजको मृत्यु भइसको हाम्रो अनुमान छ”, उनले भने ।


साढे दुई दशकअघि बेलायती वैज्ञानिक जोन ब्लम्सफोर स्नेलको नेतृत्वमा आएको टोलीले एसियामा पाइने घरेलु र जंगली गरी ६५ हजार हात्तीमध्येकै ठूलो राजागज भएको प्रमाणित गरेका थिए । टोलीले राजागजको पैतालाको गोलाई नाप २२.५ ईञ्च रहेको र यो नै संसारको सबैभन्दा अग्लो एसियाली हात्ती भएको बताएको थियो ।
राजागजको मृत्युको सम्बन्धमा अस्पष्ट दाबीहरू मात्रै छ, राजागजको भारतमा रेलले किचेर मृत्यु भइसकेको बताइन्छ तर, त्यसको आधिकारिक पुष्टि भएको छैन । यतिका वर्ष बितिसक्दा पनि विश्वमै ऐतिहासिक नाम कमाएको हात्तीको खोजतलास नहुँदा नेपालको हात्ती संरक्षणमा करोडौं खर्च गर्ने अन्तर्राष्ट्रिय स्तरका गैरसरकारी संस्था असफल सावित भएको स्थानीयको आरोप छ । बर्दियाबाट देशकै गौरव बोकेको प्राणी राजागज हराएपछि संरक्षणप्रेमीलगायत स्थानीय चिन्तित बनेका छन् ।
राजागजको सम्झनामा स्थानीय चोरी–सिकार नियन्त्रण युवा परिचालन अभियानका युवाले हात्ती बाँध्ने खमारी (स्तम्भ) निर्माण गरेका छन् । ‘विश्वकै ठूलो एसियन हात्ती राजागज हराएकाले सम्झनामा राजागज स्तम्भ निर्माण गरेका हौं’, चोरी-सिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले भने । उनका अनुसार एउटै सालको काठबाट बनाइएको स्तम्भ गाडिएको छ जसले राजागजको नाम जीवन्त राख्न मद्दत पुग्छ । बर्दिया विश्वकै दुर्लभ पाटेबाघको मात्र होइन, विश्वमै ठूला मानिने एसियन हात्तीका पनि महत्वपूर्ण आश्रयस्थल भएको आचार्यले बताए ।


निकुन्जका पूर्व वार्डेन रमेश थापाले गेरुवा नदी तटीय क्षेत्रमा गैंडा अनुगमनको शिलसिलामा २०६३ साल फाल्गुण १० गते गैंडा मचान भन्दा पश्चिम पट्टिको घोलमा राजागजको तस्बीर खिचेका थिए, जसलाई उनले राजागजको अन्तिम तस्बीर भएको दाबी गरेका छन् ।




























































Discussion about this post