काभ्रे: काभ्रेस्थित बेथानचोक क्षेत्र प्राग ऐतिहासिक कालमै बसोबास क्षेत्र रहेको सम्भावना भेटिएको छ । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको अन्वेषणको क्रममा पालिकाको वडा नम्बर २ मा रहेको शिव पार्वती गुफामा प्राग मानिसको बसोबासको सम्भावना भेटिएको हो ।
केन्द्रको टोलीले ३ महिना लगाएर गरेको पालिकाको सांस्कृतिक तथा पुरातात्विक अध्ययनको क्रममा त्यस क्षेत्रमा प्राग मानिसको बसोबासको सम्भावना रहेको भन्दै व्यवस्थित अध्ययनको आवश्यकता औंल्याएको छ । वडा नं २ को कामीखोरियाको खोचमा रहेको प्राकृतिक गुफा ४० वर्ष पहिले ललितपुरबाट आएका एक शिकारीले पत्ता लगाएको भनिन्छ, यद्यपि त्यसभित्रको विस्तृत अध्ययन भने भएको थिएन ।
गुफाभित्र ढुंगाबाट बनेका प्राकृतिक आकृति छन् । चुनढुंगाबाट बनेको प्राकृतिक गुफामा शिवपार्वतीको मूर्तिजस्तो देखिने शिला रहेकाले स्थानीयले गुफालाई शिवपार्वती गुफा नामाकरण गरेका हुन् । करिब ३० मिटर लम्बाइमा रहेको गुफा भिरालो आकारमा छ । साँघुरो मुख र विविध बाटो हुँदै भित्र पुग्न सकिने गुफाको अन्तिमबिन्दुमा पुग्दा करिब २०/२५ जना सजिलै अट्न सक्ने खाली भूभाग छ ।
फ्रान्सको इरासमस मुण्डसबाट प्राग मानवको संस्कृतिसम्बन्धी विषयमा विद्यावारिधि गरिरहेका विक्रम श्रेष्ठकाअनुसार प्राकृतिक गुफामा मानव बसोबास गरेको पत्ता लगाउने दुईवटा आधार हुने गर्छ । एउटा त्यहाँ रहेका चट्टानको वैज्ञानिक विधिबाट प्रयोगशाला परीक्षण गरेर र अर्को उनीहरूको बसोबासको प्रकृतिलाई अन्यत्रका गुफासँग तुलनात्मक अध्ययन गरेर त्यो गुफामा प्राग ऐतिहासिक मानवहरू बसोबास गरे नगरेको यकिन गर्न सकिन्छ ।
कुनै पनि गुफामा मानव बसोबास रहनको लागि पानीको स्रोत, गुफाको तल्लो भागमा समथर भूभाग, खानाको लागि जंगली जनावर र कन्दमुलको व्यवस्था, गुफाको प्रवेशद्वार सानो भए पनि भित्र खुला र बस्न मिल्ने क्षेत्र एवं गुफाभित्र पर्याप्त अक्सिजनको व्यवस्था हुनु आवश्यक छ । अन्यत्रको गुफामा पाइने यी सबै विशेषताहरू यो गुफामा समेत भेटिएकोले गुफामा मानव बसोबासको सम्भावना देखिएको हो ।




























































Discussion about this post