- जीवनपानी


ज्येष्ठ मासको मध्य दिनको साँझ चिया खाइरहँदा राजु भाइ (राजु झल्लु प्रसाद)ले आफ्नो आगामी यात्राको चर्चा गरे । घुमिहिँड्ने उनी कहिले कता, कहिले कता पुगिरहेकै हुन्छन् । पुराना, लावारिस पुरातात्त्विक, ऐतिहासिक संरचना र संस्कृतिलाई अस्थिपञ्जर बन्न दिनु हुँदैन भन्दै कुर्लिएका उनी हालसालै धादिङको सिद्धलेक गाउँपालिका – ४ स्थित आरुवासमा अवस्थित ‘जोगी कुटी’ पुगेर आएका थिए । ‘जोगी कुटी’को बेवारिस अवस्थालाई उनले सामाजिक सञ्जालमा राखेका कारण त्यसबारे बुझ्न त्यसदिन मैले उनलाई कल गरेको थिएँ । साँझ ६ बजे आसपास हाम्रो भेट जुरेको थियो ।
औपचारिक कुराकानीपश्चात् उनले बताएकी, उनी क्यानडीड स्पेसलिस्ट ग्रुपअन्तर्गतको ढोँले वर्किङ ग्रुप (डीडब्ल्यूजी)ले गर्न गइरहेको ‘ढोँले वर्किङ ग्रुपका लागि १८ गते बिहान नेपालस्थित राष्ट्रिय प्रकृति संघको क्षेत्रीय कार्यालय सौराहातिर प्रस्थान गर्दै रहेछन् । उनका अनुसार, जेठ १८-२४ गतेसम्म सौराहामा हुने सम्मेलनमा वन कुकुर संरक्षणका काम गरिरहेका विश्वभरका १५ जना वन कुकुर संरक्षणकर्मीहरू उपस्थित हुने रहेछन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सह-आयोजक रहने यस सम्मेलनमा नेपाल वन प्राविधिक संघले सम्मेलन सफल पार्न सहयोग गर्दै रहेछ । यस सम्मेलनमार्फत वन कुकुरको अध्ययन, वितरण, संख्या, प्रत्यक्ष निगरानी, वासस्थानको विविधता निर्धारण एवम् स्थानीय समुदायसँग अन्तरक्रियात्मक जनचेतनामूलक कार्यक्रम हुने उनले मसँग साझा गरे । सम्मेलन वन कुकुर-मानव द्वन्द्वका विभिन्न आयामहरू, वन कुकुर संरक्षणका मौजुदा विधिको मूल्याङ्कन एवम् त्रुटिरहित बनाउनेतर्फ केन्द्रित हुने उनको दाबी छ ।
राजुका अनुसार, दक्षिण एसियाली क्षेत्रमा पाइने वन कुकर (ढोँले) आइयूसिएनको रेड लिस्टमा ‘अति संकटापन्न जाति’को रूपमा सूचिकृत बाघपछिको अति दुर्लभ स्तनपायी जनवार हो । क्यानडीड स्पेसलिस्ट ग्रुपअन्तर्गतको ढोल वर्किङ ग्रुप (डीडब्ल्यूजी)का अनुसार विश्वभर वन कुकुरको घनत्व ४,५००-१०,५००को संख्यामा हुनसक्छ, जसमध्ये ९४९-२,२१५ वटासम्म वयस्क उमेर समूहका वन कुकुर रहेको अनुमान वन कुकुरको क्षेत्रमा काम गरिरहेका संरक्षणकर्मीहरूले गरेका रहेछन् । विशेषतः चीनको दक्षिणी भाग, भारत, भुटान, नेपाल म्यानमार, थाइल्यान्ड, कम्बोडिया, लाओस्, मलेसिया र इन्डोनेसियामा वन कुकुरका विभिन्न प्रजातिहरू देखिएका रेकर्डहरू प्राप्त भएका रहेछन् ।


यसप्रकार उनले वन कुकुर र सम्मेलनबारे निकै कुरा बताइसकेपश्चात् मैले उनले उल्लेख गरेका ‘वन कुकुर’को फोटो हेर्न चाहना व्यक्त गरेँ । उनले जस्तै टुर न्यूजको आगामी ‘वन कुकुर विशेषांक’को ब्यानर पेजमा अङ्कित फोटो देखाएँ, म झस्किएँ । उनी जुन जीवलाई ‘वन कुकुर’ भन्दै आइरहेका थिए, मेरो गाउँ (स्याङ्जा)तिर यसलाई फ्याउरो भनिने गर्दछ । यसप्रकार मैले ‘अरूले वन कुकुर भनिरहुन्, म फ्याउरा नै भन्छु’ भनेर आफ्नो प्रथम खण्डन गरेँ । उनले क्यानिड्स परिवारका थुप्रै प्रजाति ( स्याल, ब्वाँसो, वन कुकुर, फुस्रे फ्याउरो, भोटे फ्याउरो र रातो फ्याउरो) नेपालमा पाइने र तीमध्ये वन कुकुरको संख्या अत्यन्त न्यून (नेपालतर्फ करिब १०० को संख्यामा) रहेको समेत बताए ।
उनको यस दाबीप्रति पनि मैले आफ्नो विमति जनाएँ किनभने उनले फोटोमा देखाएको जीवलाई ‘फ्याउरा’ भन्दै, मान्दै मैले स्यासङ्जा र आसपासका पहाडी भेगमा आफ्नो बचपन बिताएको छु । र, यी जीवको संख्या आज निश्चित रूपमा कम भएको हुँदो हो तर १०० संख्या नै पुगिसकेको भने होइन कि ? मैले उनलाई भने पनि “फ्याउराहरू १०० संख्या होइन, अलि धेरै नै छन् । क्रमशः पातलिएका होलान् तर यति मात्रै त होइन । आज पनि मेरो गाउँ आसपास यी जीवहरूको आक्कलझुक्कल दर्शन पाइन्छ ।” यसपश्चात् उनले मलाई ‘हामीले वन कुकुर भन्दै आएको यस जीवलाई तपाईँले ‘फ्याउरा’ भन्नुभएको छ । तपाईँले तपाईँको फ्याउरासँगको साक्षात्कारका अनुभवहरू, यसका विशेषताहरू, आनीबानीहरू र आवाजहरूबारे मलाई लेखेर पठाउनुस्’ भने । सँगै उनले, ‘फ्याउराहरू पातलो हुनुको कारण के होला दाइ ?’ भनि विनम्रतापूर्वक जिज्ञासा समेत राखेका कारण सोही प्रश्नको जवाफ दिँदै यस लेखलाई अगाडि बढाउँछु ।


फ्याउराहरू किन पातलिए होलान् ?
२०५२ सम्म गाउँमा बस्ती बाक्लो थियो । सबैका गोठ र खोरहरू वस्तुभाउहरूले भरिभराउ थिए । खेतबारी बालीनालीले बाँझो रहनै पाउँदैनथ्यो । दिउँसो भैँसीहरूलाई बाहेक गाई, बाख्रा र भेडाहरू जङ्गल र जङ्गल नजिकका घाँसे चउरहरूमा चराउन लगिन्थे । बाक्लो बस्तीका कारण घाँसदाउराको जोहो जङ्गलबाट पनि गर्नुपर्थ्यो । फलतः उ बेलाको गाउँघरतिरको जङ्गल पातलो थियो । यसैकारण जङ्गलवासी पशुहरू अर्थात् बाघ, चितुवा आदिहरूको सङ्ख्या कम थियो । जति थिए, भएका बाघ र चितुवाहरूले दिउँसो चर्नलाई जङ्गल छिरेका गाईका साना बाच्छाबाच्छी र भेँडा बाख्राका पाठापाठीलाई झम्टन्थे, मार्थे र खान्थे । थोरै सङ्ख्याका तिनलाई यी घरपालुवा चौपाया आहाराका लागि प्रशस्त हुन्थ्यो । पाएसम्म बाघ र चितुवाले मांसाहारीहरूको भन्दा शाकाहारी जीवहरूको सिकार गर्न रुचाउँछन् ।
फ्याउराहरू पनि जङ्गलमै बस्थे । तिनीहरूले पनि जीवशिकार नै गर्थे र मासु नै खान्थे । घरपालुवा चौपाया पाएसम्म बाघचितुवाले फ्याउराको सिकार गर्दैनथे । यसर्थ, त्यतिबेला फ्याउराहरू सुरक्षित थिए । तैपनि बाघचितुवाका डरले उनीहरू आफ्नो ओढारबाट बाहिर निस्किँदैनथे । फलतः राति दिउँसोको आहाराले अघाएका बाघचितुवा शिकारका लागि त्यति डुल्दैनथे तथापि भोकाएका फ्याउराहरू गाईबस्तु तथा भेँडाबाख्राका गोठ र खोरतिर घाम अस्ताएपछि ७(८ को सङ्ख्यामा समूह बनेर आउँथे । तिनीहरूका समूहमा एउटा अगुवा हुन्थ्यो । बाँकी सबै उसको पछि ऊ हिँड्दा हिँड्थे, दौडिँदा दौडिन्थे, बस्दा बस्थे र कराउँदा शुरुमा अगुवा कराउँथ्यो त्यसपछि अगुवासँगै सबै एकैसाथ कराउँथे ।


यिनीहरू कराउँदा बढीमा १५/२० पटक कराउँथे । ‘फ्याओक्क्क्फ्या…..ओक्क्क्…’ को आवाजमा उनीहरू कराउँथे । तर एउटा अचम्मको कुरा कुनैबेला यिनीहरूको अगुवाले अर्कै आवाजमा करायो भने बाँकीले पनि त्यही आवाजको अनुकरण गर्थे । यिनीहरू यस्ता ४र५ थरिका बेग्लाबेग्लै आवाज निकालेर आफूलाई शत्रुबाट सुरक्षित र आहारालाई आफूतिर आकर्षण गर्ने गर्थे । राति खोरबाट पाठापाठी तानेर खान्थे । तर अचेल गाउँघर मान्छेविहीनजस्तै भएको छ । लहलह बाली झुल्ने खेतबारीका फाँट बाँझो र कति जङ्गलले ढाकिन थालेका छन् । गाउँका छोराछोरीहरू कति शहरमा त अधिकांश विदेशतिर पलायन भएका छन् । घरमा वृद्ध हजुरबुवा र हजुरआमा र केहीका बाआमा घर कुरेर बसेका छन् । वस्तुभाउ पाल्न उनीहरू सक्दैनन् । अतः अचेल गोठ र खोरहरू प्रायः रित्ता छन् । यस्तो बेलामा शाकाहारी रुचाउने बाघचितुवाले नपाएपछि वनका तिनै फ्याउराहरू र अन्य त्यस्तैहरूको सिकार गर्न थालेका हुनाले ती फ्याउराहरू हाम्रा बस्तीका वरिपरि देखिन छाडेका छन् । हुनसक्छ, यसैकारण पहिलाको दिनहरूका तुलनामा यतिबेला यिनीहरूको सङ्ख्या कम छ । घरगोठ रित्ता भएकाले पहाडी भेगमा मानव-फ्याउरा द्वन्द्व अहिले कम भएका हुन् सक्छन् ।
यिनीहरू ओढारबासी गुप्तजीव हुन्
सुख्खा र ओभानो ठाउँ यिनीहरू बस्नलाई रोज्जा ठाउँहरू हुन् । पहाडको भिरालो र ओभानो ठाउँ जहाँ सालघारी हुन्थ्यो, बस्नलाई यिनीहरूले मन पराउँथे। यिनीहरूका नङ्ग्रा र दाँत पत्थर खोस्रिन सक्ने खालका हुन्थे । भीरमा खोस्रिएर बनाएका यस्तै ओढारमा यिनीहरू दिनभरि ओढारको मुखबाट टाउको निकालेर बाहिर हेरेर बस्थे । दिउँसो मानववस्तीतिर निक्लेको भने मलाई थाहा छैन । मान्छेको नजिक उनीहरू प्रायः निश्चित दूरीमा रहने गर्थे । उबेला साँझ ढल्किनासाथ घरका छेउछाउतिर आउने र समूहमा कराउने यस्ता फ्याउराहरू धेरैपछि परार रामेछापको मन्थलीमा जाँदा कराएको सुनेको थिएँ । मन्थलीको वरिपरि जङ्गलमा यिनीहरू राम्रै सङ्ख्यामा छन् कि झैँ लागेको छ मलाई । यिनीहरूले कुखुराहरूलाई पनि खान्छन् ।


(नेपालबाट मात्रै होइन, विश्वभरबाटै वन कुकुरलाई लोप हुन दिनबाट जोगाउनका लागि अभियानमा लागेका नेपाल सहित १८ मुलुकका वैज्ञानिक र वन कुकुर संरक्षण अभियानकर्मीहरूको सम्मेलन यही ज्येष्ठ १८ गतेबाट ७ दिनसम्म चितवनको सौराहामा भएको थियो । सोही समय टुर न्यूज म्यागाजिनले तयार पारेको वन कुकुर अंकको अर्काइभ !)




























































Discussion about this post