आजकै दिनदेखि वन कुकुरको वासस्थान संरक्षण एवम् संख्या वृद्धितर्फ लाग्नेको निकट भविष्यमै ‘टाइगर टूरिजम’ सरह नै वन कुकुर पर्यटन नफस्टाउला भन्न सकिन्न । आजको दुनियाँलाई दुर्लभ चीजमा रुचि छ, वन कुकुर त अति दुर्लभ वन्यजीव हो ।
प्रकृति पथ प्रदर्शक संघ (नेचर गाइड एसोसिएसन), सौराहा चितवन राष्ट्रिय निकुञ्जभरि काम गर्ने गाइडहरूको संस्था हो । नेचर गाइड राजेन्द्र धामी त्यही संस्थाका वर्तमान अध्यक्ष हुन् । उनै धामीसँग वन कुकुरको सेरोफेरोमा रहेर टूर न्युजले गरेको कुराकानीको सम्पादित अंश:
तपाईँले कतिपटक वन कुकुर देख्नुभयो ?
हामीले पछिल्लो पटक कोरोना महामारीभन्दा केही अगाडि देखेका थियौँ । सजिलैसँग देखा परेका थिए । खोलाको छेउमा करिब ३/४ वटा थिए । त्योभन्दा अगाडी ‘मल्टिडेज वाकिङ’ गर्ने क्रममा देखेका थियौँ । त्यतिबेला सुरुङ खोलाभन्दा केही पर देखेका थियौँ ।
त्यसअघि पनि देखेको छु । कुनै कुराको अध्ययन चलिरहेको थियो, म त्यसमा स्वयंसेवकको रूपमा आबद्ध भएको थिएँ । त्यतिबेलासम्म म प्रोफेस्नल्ली नेचर गाइडका रूपमा आइसकेको थिइनँ । म सँगै रहेका अन्य जानकार व्यक्तिहरूले वन कुकुर हो भनेपछि मैले पनि थाह पाए । त्यो बेला देखेको वन कुकुरको झुन्ड अलिक दूरीमा थियो । रातो रातो किसिमका थिए । अहिले चाहिँ त्यति सहज तरिकाले देखिँदैन ।
देशी र विदेशी पाहुनाहरूसँग वन कुकुरको बारेमा कत्तिको कुरा हुन्छ ?
त्यति छैन । वाइल्डलाइफ सम्बन्धी थाह भएका पाहुनाले वन कुकुर पनि छ भन्दा ‘आहा’ भन्छन् । धेरैलाई थाह भने हुँदैन ।
तपाईँले देखे अनुसार वन कुकुरको बारेमा केही कुरा बताउनुहोस् न !
मैले देखेको वन कुकुरहरू घरगाँउमा पाइने कुकुरकै साइजका थिए, तर खोलाको छेउमा समूहमा थिए । हामीलाई देखेर दौडिए । शिकार गरिरहेका थिएनन् तर केही कुरालाई पछ्याइरहे जस्ता देखिन्थे । कागहरू पनि तिनीहरूको पछि लागिरहेका थिए ।
ठुला स्तनधारी जन्तुको संरक्षणका लागि विभिन्न कार्यक्रम भइरहेका छन्, तर वन कुकुर जस्तो संकटापन्न अति दुर्लभ जन्तुका लागि केही भइरहेको छैन । वन कुकुर संरक्षणका लागि के गर्नुपर्ने देख्नुहुन्छ ?
म तपाईँलाई नै प्रश्न गर्छु, वन कुकुर संरक्षणको चुनौतीहरू केके होलान् ? वन कुकुर दुर्लभ हुनुको कारण उसको शिकारमा कमी आउनु होला कि ? वासस्थान मासिएको पनि होला, जनचेतनाको कमी पनि भएको होला । यी यावत कुराहरू सम्बोधन गर्न सरोकारवाला निकायहरू स्थानीयवासीसँग मिलेर विभिन्न कार्यक्रमहरू ल्याउनुपर्छ । सामुदायिक सहभागिता,सामुदायिक स्वामित्व तथा सामुदायिक व्यवस्थापन लगायतका कुरालाई प्राथमिकतामा राखेर संरक्षण समिति, समूह तथा उपभोक्ताहरूले वन कुकुर संरक्षण अभियान नै चलाउनु पर्ने देख्छु । स्थानीय उपभोक्ता तथा संरक्षण समिति, समूहका पदाधिकारीहरूले धैर्य गुमाएनन् निकट भविष्यमै वन कुकर संरक्षणतर्फ पनि नेपालले ठुलो सफलता हात पार्न सक्छ । अति संकटापन्न तथा दुर्लभ प्राणी जसले प्रकृति सन्तुलन, अन्य जीवहरूबिचको सन्तुलनमा सहयोग पुराई पारिस्थितिक प्रणालीलाई कायम राखी निरन्तरता दिन सघाउ पुर्याउने भएकाले सम्पूर्ण नेचर गाइडहरूले पनि यस अभियानका सहयोग गर्नुहुनेछ भन्ने मलाई लाग्दछ ।
नेचर गाइड एसोसिएसन, सौराहाले वन कुकुरका विषयमा तालिम-गोष्ठी एवम् अन्तरक्रिया गर्दछ ?
हामीले हालसम्म त्यो गरेका छैनौँ । वन कुकुरकै लागि तालिम हुने एवम् संरक्षण गतिविधिहरू अघि बढाइन्छ भने हाम्रो सहयोग रहेनछ । टाइगर स्पेसलिस्ट, राइनो स्पेसलिस्ट भनेझैँ वाइल्ड डग स्पेसलिस्ट भनेर नेचर गाइडहरू उत्पादन गर्न सकिन्छ । गाइडको क्षमता पनि बढ्ने भयो । हामी त्यस्तो कुरालाई स्वागत गर्छौँ ।
प्रथमतः संरक्षण र स्थानीयता वृद्धिविकास हो, त्यसपछि पर्यटन हो । यी तीन कुरा एकापसमा अन्तरसम्बन्धित छन् । तपाईँ वन कुकुरलाई सौराहाको पर्यटन बजारमा ल्याउँदै हुनुहुन्छ भने वन कुकुरलाई प्राथमिकता राखेर कार्यक्रमहरू ल्याउनुपर्यो । आजकै दिनदेखि वन कुकुरको वासस्थान संरक्षण एवम् संख्या वृद्धितर्फ लाग्ने को निकट भविष्यमै ‘टाइगर टूरिजम’ सरह नै वन कुकुर पर्यटन नफस्टाउला भन्न सकिन्न । आजको दुनियाँलाई दुर्लभ चीजमा रुचि छ, वन कुकुर त अति दुर्लभ वन्यजीव हो । वन कुकुरले अथाह पर्यटन तान्ने देख्छु । पर्यटनको माध्यमबाट वातावरण र जैविक विविधताको संरक्षणको साथै स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउने वातावरणमैत्री पर्या-पर्यटनलाई टेवा पुर्याउन वन कुकुर अर्को खुड्किलो हुन् सक्ने देख्छु ।


तपाईँको संस्थाले के-कसरी काम गरिरहेको छ ?
यस संस्थाले गर्ने भनेको प्रकृति एवम् जैविक विविधता संरक्षण सहित पेशागत सुरक्षता प्रत्याभूति गर्ने एवम् गराउने हो । कुरै गर्ने हो भने संरक्षण अलि गाह्रो चिज हो । ‘संरक्षण, संरक्षण’ भनेर कराउन मजा आउँछ तर संरक्षण जटिल कुरा हो । अर्कोतर्फ, विश्वले अँगालेको पर्यटनका विविधता हामीसँग छ, तर हामी हाम्रा चिजलाई पस्कन जानिरहेका छैनौँ । आजभन्दा ४० वर्षअगाडि सौराहामा जेजे पर्यटन गतिविधि भइरहेका थिए, आज पनि तिनै-तिनै कुरा भइरहेका छन् । नयाँ स्वाद छैन, बदलामा भीड बढेको छ । प्रदूषण थोपरिएको छ ।
संस्थाको कुरा गर्नुभन्दा अघि नेचर गाइडको कुरा गरौँ । नेचर गाइड कसरी उत्पादन भइरहेछ भन्ने सन्दर्भमा केही कुरा भनौँ । विश्वले बुझेको छ, “पर्यटन धुवाँरहित उद्योग हो ।” यस उद्योगमा नेचर गाइडहरूको भूमिका महत्त्वपूर्ण छ । संरक्षणको सवालमा मध्यवर्ती क्षेत्रका स्थानीयहरूमाझ सचेतना फैलाउन नेचर गाइडहरूको मनग्ये भूमिका रहन्छ किनभने तालिम लिएपश्चात् उसले आफूले मात्रै सिक्दैन, घरपरिवार र समाजलाई पनि सिकाउँछ । तर, दुर्भाग्यसाथ भन्नुपर्छ- नेचर गाइडहरूलाई अलग पाठ्यक्रम दिइएको छैन । नेचर गाइड तालिम लिएर काम सुरु गरेका उनीहरूलाई व्यवसाय गर्ने तरिका, सीप र क्षमताको प्रयोगका एवम् वातावरण संरक्षणका नयाँ अभ्यासतर्फ प्रोत्साहित गर्नुपर्छ ।
संस्थाले व्यहोरिरहेको समस्याहरू केके हुन् ?
संस्थागत भन्दा पनि नीतिगत हिसाबले समस्या छ । विश्वभरका वाइल्डलाइफ जानकारको अघिपछि रहेर यहाँको जैविक विविधताबारे यथेष्ट जानकारी दिने सवालमा हामी चुकिरहेका छौँ । हामी ७ दिनको तालिम दिएर नेचर गाइड उत्पादन गरिरहेका छौँ । ७ दिनपछि एउटा कार्ड पाइन्छ, त्यसलाई पासको रूपमा प्रयोग गरेर छिटोछरितो रूपमा आयस्रोतको जोहो हुन्छ । ७ दिनको तालिममा उसले के सिक्छ र विदेशीलाई बताउन सक्दछ ? नेचर गाइडको नाममा एउटा सामान्य टेक्निसियनलाई तालिममा राखिन्छ र कार्ड बाँडिन्छ, यो गलत हो । यसप्रकार सहुलियतको बलमा हामी आफ्नो खुट्टामा आफैँ बन्चरो हान्दै छौँ । अर्कोतर्फ, नेचर गाइड सबैभन्दा थोरै लगानीमा धेरै राजनीति गर्न मिल्ने ठाउँ हो । हाम्रो समाज राजनीतिक तरिकाले विभाजित छ । सबैलाई भोट कलेक्सन गर्नु छ । हामीले यी विविध विषयहरूलाई जोडतोडले उठाइरहेका छौँ ।
पेशाको पक्षबाट हेर्दा अब ३० वर्ष अघिको तरिका र आजको तरिका एउटै हुनुभएन । जस्तै: त्यतिबेला पढेलेखेका थिएनन्, पर्यटकको चाप पनि थिएनन्, डिमान्ड पनि थिएन, अहिले त व्यवस्थित पर्यटन भइसक्यो । त्यसैले व्यवस्थित गाइड पनि चाहिन्छ । यसैकारण व्यवस्थित नेचर गाइड कार्यविधि मन्त्रिपरिषद्को कार्यालयले बनाइहाल्नु पर्छ ।
भविष्यमा नेचर गाइडको अभाव हुने जोखिम पनि बढ्दो छ, नेचर गाइड (पथ प्रदर्शक)हरू पर्यटनका मुख्य जनशक्ति हुन्, यिनको पलायन हुने सम्भावना रोक्नका लागि राज्यले पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्छ । अहिले यहाँ १६ जना जति महिला र ५०० जना पुरुष नेचर गाइड होलान्, सौराहामा मात्र ३०० माथि नेचर गाइडहरू रहेका छन् ।
नेचर गाइडलाई स्थापित गर्न सकियो भने संरक्षणमा ठुलो टेवा पुग्नेछ । नेचर गाइडहरूको ठुलो झुन्ड छ । यसले आवाज उठायो भने संरक्षणको पक्षमा काम गर्ने मान्छेलाई पनि सहयोग हुन्छ । हामीमार्फत नै वन कुकुर संरक्षणका प्रयासहरू समुदायमाझ लग्न सकिन्छ ।
बाघको नजिक गएर बाघ देखाइरहेको नेचर गाइडका सुरक्षा सवालमा केही भन्नुहुन्छ ?
जङ्गल वाककै कुरा गर्नुभयो, जङ्गल वाक खतरनाक एडभेन्चर हो । विश्वमा चितवन नेशनल पार्कमा बन्दुक नभई बाँसको लौरीको भरमा जङ्गल घुमाउँछौँ भन्दा ‘वाउ’ भन्छन् रे । यसले नेपालको सफारीप्रति आकर्षित गर्छ । तपाईँले भनेझैँ सुरक्षाको कुरा पनि छ, चुनौती पनि छ तर कतिपय कुरा दिमाग लगाइयो समाधान गर्न सकिन्छ । बाँच्न सकिन्छ भनौँ ।
सफारी वाक असुरक्षित तर, त्यसलाई सुरक्षित बनाउन सकिन्छ । सुरक्षाका खातिर विभिन्न ट्रायलहरू विकास गर्न सकिन्छ । सुरक्षा असुरक्षा कपडाका कुराले पनि निर्धारण गर्छ । नबोल्ने, दूरी कायम राख्ने, वन्यजन्तुलाई ट्रयाप महसुस नगराउने हो भने उति जोखिम छैन ।
मानव र वन्यजन्तुबिच द्वन्द्व भइरहेका ठाउँहरूमा खतरा हुन्छ, ती ठाउँहरूमा पाहुना लिएर जाँदा विशेष सजगता अपनाइरहेका हुन्छौँ । जहाँ बढी द्वन्द्व हुन्छ, त्यो एरियाका जनावर बढी एग्रेसिभ हुन्छन् । हात्ती पिरियड भएको ठाउँमा र पिरती लाएको ठाउँमा द्वन्द्व हुन्छ । त्यो समयमा भेट्यो भने हात्तीले मान्छेलाई मार्छ । गैँडा हेर्दा चारैतिरबाट हेर्नु हुँदैन, यसो हुँदा उसलाई असुरक्षित महसुस हुन्छ र आक्रमण गर्छ । जीवजन्तुअनुसार उनीहरू बानीव्यहोरा बुझेर सोहीअनुरूप कार्य गर्नुपर्छ । पुराना नेचर गाइडहरूसँग सुरक्षाका यस्ता उपायहरू छन्, उहाँहरूसँग भएका अनुभवहरू नयाँ नेचर गाइडसँग साझा गराउने उद्देश्यले गोष्ठीहरू पनि गरिरहेका हुन्छौँ ।


सरोकारवाला निकायहरू के-कस्तो सहयोगको अपेक्षा छ ?
छ, तर अपेक्षाकृत रूपमा सहयोग पाइएको छैन । कसैले लाभ कमाउने उद्देश्यले आयोजना गरेर तालिम दिएका भरमा नेचर गाइड उत्पादन भइरहेका हुन्छन् । कतिपयलाई नेचर गाइड भनेकै थाह हुँदैन, किनभने यसैप्रकारको परिपाटी बसाइएको रहेछ । हामी नेचर गाइडहरूको पेशागत सुरक्षताको साथसाथै संरक्षण गतिविधिहरू सञ्चालनमा अग्रसर हुन् चाहन्छौँ, तीनै तहका सरकारहरूसँग हामीले हाम्रा कुरा राख्दै आइरहेका छौँ ।
नेपालबाट मात्रै होइन, विश्वभरबाटै वन कुकुरलाई लोप हुन दिनबाट जोगाउनका लागि अभियानमा लागेका नेपाल सहित १८ मुलुकका वैज्ञानिक र वन कुकुर संरक्षण अभियानकर्मीहरूको सम्मेलन यही ज्येष्ठ १८ गतेबाट ७ दिनसम्म चितवनको सौराहामा भएको थियो । सोही समय टुर न्यूज म्यागाजिनले तयार पारेको वन कुकुर अंकको अर्काइभ !




























































Discussion about this post