देवदह । देवदह नगरपालिकाले कोलिय गणराज्यको दरबारक्षेत्र दाबी गरिएको खयरडाँडा क्षेत्रको उत्खनन गर्ने टोलीलाई सम्मान गरेको छ । आज एक कार्यक्रमबिच नगरपालिकाले उत्खनन कार्यमा खटिने ८ जनालाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदह नगरपालिकालाई पर्यटकीय हवको रूपमा विकास गर्ने गरी अघि बढेको बताए । “देवदह नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि बुद्ध सम्बद्ध विषयवस्तुको खोज, उत्खनन् तथा अनुसन्धान गरिने, लुम्बिनी विकास कोषसँगको सहकार्यमा पुरातात्विक क्षेत्रको उत्खननलाई निरन्तरता दिने उल्लेख गरेको छ”, उनले भने । उत्खनन कार्यमा खटिने सबैलाई धन्यवाद दिँदै उनले नगरपालिकाले यस आ.वा. सहित आगामी वर्षहरूमा उत्खनन कार्यलाई निरन्तरता दिने बताए ।


कार्यक्रममा नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत टीकाराम शर्मा, वडा नं. ९ का अध्यक्ष मोहन बहादुर जि.सी. लगायतको उपस्थिति रहेको थियो ।
लुम्बिनी विकास कोषका वरिष्ठ पुरात्व अधिकृत हिमाल कुमार उप्रेती, पुरातत्त्व अधिकृत हरिप्रसाद भुसाल, ना.सु. नवराज अधिकारी, ना.सु. चन्द्र प्रकाश पाठक, खरिदार अख्तर हुसेन मुसलमान, पुरातत्त्वविद् अम्बिका सुब्बा, शुभेच्छा पोख्रेल र निशा पन्थीलाई सम्मान गरिएको हो ।
कार्यक्रम देवदह नगरपालिका अधिकृत गंगा प्रसाद पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।


उत्खननको क्रममा कोलिय गणराज्यको दरबार क्षेत्र रहेको भन्ने दाबीलाई थप बलियो बनाउने गरी प्राचीन इनार र मध्यकालीन अवशेषहरू जस्तै: माटोको भाडा र इनार भेटिएको छ । लुम्बिनी विकास कोषले जेठ १७ गतेदेखि असार १५ गतेसम्म गरिएको उत्खननको क्रममा प्राचीन इनार र मध्यकालीन भवनका अवशेषहरू भेटिएका हुन् ।
उत्खननमा ठूलो पर्खालको संरचना, माटोका दीयोको पिँध, इट्टाहरू प्रशस्त भेटिएको आधारमा खयरडाँडामा कुनै समयमा धार्मिक प्रयोगका लागि ध्यान केन्द्र वा कुनै ठूलो भवन भएको अनुमान समेत गरिएको छ । र, प्राचीन कोलिय गणराज्यको राजधानी देवदह क्षेत्रको यकिन पुष्टिका लागि भने ठूलो मात्रामा उत्खननको आवश्यकता देखिन्छ ।






























































Discussion about this post