- प्रेम बास्तोला / राजु झल्लु प्रसाद
काठमाडौंः गौतम बुद्ध र बौद्ध धर्मसँग ऐतिहासिक एवम् धार्मिक सम्बन्ध रहेको लोपोन्मुख चरा प्रजाति सारस संरक्षणका लागि स्थानीय स्तरमा प्रदान गरिएको जनचेतनामूलक मदरसा शिक्षा निकै प्रभावकारी देखिएको छ ।
जियोलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागले डब्लुडब्लुएफ नेपाल र इन्टरनेशनल क्रेन फाउन्डेसनको आर्थिक सहयोगमा ‘नेपालमा सारस क्रेनको स्थिति (The Status of Sarus Crane in Nepal)’ नामक अध्ययनका क्रममा लुम्बिनी आसपासका मदरसाहरूमा गरिएका सारस संरक्षण सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरू प्रभावकारी देखिएका हुन् ।


वृहत् लुम्बिनी क्षेत्रमा लोपोन्मुख सारसको सङ्ख्या बाक्लो रहेको र हिन्दु एवम् बौद्ध धर्मसँग सारसको प्रत्यक्ष सम्बन्ध देखिएका तर मदरसा शिक्षामार्फत मुस्लिम समुदायलाई पनि सारस संरक्षण कार्यक्रमसँग जोड्नु आवश्यक देखिएकाले यसप्रकार कार्यक्रम अवलम्बन गरिएको सारस विज्ञ एवम् डब्लुडब्लुएफ नेपालका पार्टनरसिप प्रोग्रामका प्रमुख राजेन्द्र नारायण सुवालले बताए ।
“लुम्बिनी बौद्ध धर्मको केन्द्र भएता पनि यहाँ मिश्रित धर्मावलम्बीहरू बसोबास लामो समयदेखि चलिआएको पाइन्छ । बुद्धको जन्मस्थल लुम्बिनीको वरिपरि बस्तीमा रहेका बहुसङ्ख्यक मुस्लिम समुदाय लुम्बिनीको थप सौन्दर्य हो । सिमसार क्षेत्र रुचाउने सारस साइटिसले अनुसूची २ र आईयुसीएनको रातो किताबमा संवेदनशील सूचीमा परिसकेको उड्ने चराहरूमध्ये सबैभन्दा अग्लो चरा हो । हरेक संरक्षण कार्यक्रमको स्थानीयको सहभागिता अनिवार्य र अत्यावश्यक हुने महसुस राज्यले गरिसकेको हुँदा पनि मदरसा शिक्षाबाट सारस संरक्षणलाई जोड दिएका हौँ”, उनले भने । “हामीअघि पनि यहाँका जागरुक युवाहरूले एक क्लब मार्फत सारस संरक्षण सञ्चालन गरिरहेका छन्, जुन् खुसीको कुरा हो”, उनले बताए ।


लुम्बिनी मुसलमान समुदायको पुरानो थलो :
लुम्बिनी आसपास मुसलमान समुदायको बसोबास धेरै पुरानो हो । पुरातत्त्वविद् वसन्त बिडारीका अनुसार लुम्बिनी क्षेत्रमा उनीहरू १७ औँ शताब्दीदेखि बस्दै आएका हुन् । त्यतिबेला कपिलवस्तुको कृष्णनगरदेखि रुपन्देहीको मर्चवार र भैरहवासम्म मुस्लिम धर्मावलम्बी थिए । लुम्बिनी विकास कोषका लागि जग्गा अधिग्रहण गर्दा त्यहाँ बसोबास गर्ने मुस्लिम सर्वसाधारणले सहर्ष मुआब्जा स्विकारेर वरपर सरेका इतिहास पाइन्छ ।
लुम्बिनी क्षेत्रमा मदरसा अहले सुन्नत फैजाने मुस्तफा नाइमिया प्रा.वि विजयनगर ५ कपिलवस्तु, फैजुल उलुम मदरसा मायादेवी ३ कपिलवस्तु, मदरसा दारुलउलूम मोहम्मदिया मायादेवी २ कपिलवस्तु, मदरसा कुल्लीया सुमइया लिलबनात मायादेवी ४ कपिलवस्तु, मदरसा नुरुलहुदा अहले सुन्नत प्रा.वि. आदि मदरसाहरू सञ्चालनमा छन् ।
जामिया फैजुल इस्लाम अल- साल्फिया, विद्यालय प्रबन्धक समितिका सदस्य मानुर हुस्सैनले यसप्रकारका कामले यस क्षेत्रमा रहेका सारस लगायत अन्य चराचुरुङ्गी, तालतलैया संरक्षणमा सहयोग पुगेको बताए । ” डब्लुडब्लुएफले यस मदरसामा सहयोग गर्नुका साथै संरक्षणसम्बन्धि शिक्षा दियो । हामीले विद्यार्थी तथा अभिभावकहरूलाई संरक्षणसम्बन्धि शिक्षा दियौँ । जसमार्फत सारस लगायत अन्य चराचुरुङ्गी, तालतलैया संरक्षणमा सहयोग पुग्यो”, उनले भने ।


बालबालिकामार्फत अभिभावक प्रशिक्षित:
सारस विज्ञ सुवालले अगाडि भने, ‘मदरसामा सारसको महत्त्वबारे बालबालिकाहरूसँग आफ्ना अनुभवहरू साझा गर्न पाइयो, जुन असाध्यै प्रभावकारी देखियो । फलस्वरूप सारसको सङ्ख्या सोचेको भन्दा बढी भेटियो । यसबाट कुनै पनि जीव जन्तुको संरक्षण गर्नु छ भने सबैभन्दा पहिला समुदायसँगै मिलेर चेतनामूलक कार्यक्रम सञ्चालन गर्नै पर्छ भन्ने नजिर समेत स्थापित भयो ।” यसप्रकारको शिक्षा प्रणालीलाई पाठ्यक्रममै समावेश गरि अगाडि बढाउने काम भने यद्यपि बाँकी रहेको उनले बताए ।
सारस जोगाउन नेपालमा मात्रै होइन, संसारभरि नै चुनौतीपूर्ण बन्दै गएको वर्तमान परिप्रेक्ष्यमा सारस संरक्षणमा स्थानीय बालबालिका र किशोर किशोरीहरूलाई प्रदान गरिएको चेतनामूलक शिक्षा प्रभावकारी देखिएको सुवाल बताउँछन् । “मौलना (शिक्षक)हरूले सारस संरक्षणको अपरिहार्य आवश्यकताबारे बताउँदा बालबालिकाहरूले सारसको अण्डा टिप्ने, फुटाउने जस्ता कार्यहरू बन्द गरेका छन् । त्यति मात्रै होइन, सारसको महत्वका बारेमा मदरसामा पढ्न आउने बालबालिकाहरूलाई जानकारी दिएपछि उनीहरूले घर घरमा गएर आफ्ना अभिभावकहरूलाई पनि सचेत गराए”, उनले भने ।


सारस संरक्षण किन आवश्यक छ ? यसले जैविक विविधतालाई कसरी जोगाउँछ ? सारस संरक्षण र सिमसार क्षेत्र संरक्षण कसरी एकअर्कासँग जोडिएका छन् ? कृषि उत्पादन वृद्धिमा सारसको के-कस्तो भूमिका रहन्छ ? सारसमार्फत पर्यापर्यटन विकास के-कस्ता सकारात्मक परिवर्तनहरू देखिन्छन् ? जस्ता विषयहरूलाई केन्द्रमा राखी अध्ययनका क्रममा गरिएका छलफलले दीर्घकालीन प्रभाव पार्ने सुवाल बताउँछन् । उनका अनुसार हाल पनि सारस पाइने लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा मदरसा मार्फत सारसको महत्वका बारेमा निरन्तर चेतनामूलक शिक्षा प्रदान कार्यक्रम चलिरहेको छ ।
उनको नेतृत्वमा त्रिविको केन्द्रीय जूलोजी विभागको अध्यापक डा. हरि प्रसाद शर्मा, संरक्षण जीव वैज्ञानिक, त्रिविको केन्द्रीय जूलोजी विभागको सहायक प्रोफेसर डा. विष्णु प्रसाद भट्टराई,प्राणीहरूको संरक्षणमा सक्रिय शोधकर्ता डा. हेमबहादुर कटुवाल लगायतको टोलीले गत अप्रिल र मे महिनाको बीचमा सारसको वितरण, सङ्ख्या, वस्तुस्थितिबारे अध्ययन गरेको थियो, जसमार्फत नेपालभर सारसको सङ्ख्या ६९० रहेको पाइएको छ । यस अध्ययन प्रि -ब्रिडीङ सिजनमा गरिएकाले मनसुन (ब्रिडीङ सिजन)मा थप अध्ययन गर्ने हो भने सङ्ख्या बढ्न सक्ने बताइएको छ ।


सारस संरक्षणका लागि पानीको दीर्घकालीन व्यवस्थापन अत्यावश्यक:
यसैगरि, अध्ययनले सिम क्षेत्र र पानीको दीर्घकालीन व्यवस्थापनका बारेमा तिनै तहका सरकारले सोच्नुपर्ने बेला आएको बताएको छ । “जहाँ पानी छ एवम् व्यवस्थित सिम क्षेत्र छ, त्यहाँ सारसको आउजाउ बढी हुने र त्यस क्षेत्रमा सारसले अण्डा पार्ने, बच्चा काढ्ने कार्य बढी हुन्छ । पानीको स्रोत नभएको स्थानमा पनि कृषि सिमसार क्षेत्र बनाएर सारस संरक्षण गर्न सकिन्छ”, उनले भने ।


अध्ययनले सारसको सङ्ख्या वृद्धि खुसीको कुरा हुँदाहुँदै बढ्दो शहरीकरण, रासायनिक मलको प्रयोग, सिमसार क्षेत्रको अतिक्रमण, हाई-टेन्सन लाइनको विस्तार जस्ता चुनौतीहरू थपिएकाले यसबारे गम्भीर हुन् समेत सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराएको छ ।
“मूलभूत रूपमा पानीको स्रोतहरू कसरी संरक्षण र व्यवस्थापन गर्ने भन्ने चुनौती देखिएको छ । पानीको स्रोतको दिगो व्यवस्थापनतर्फ समुदाय, तीनै तहका सरकार, विषयविज्ञहरू सचेत हुनुपर्छ । चुरे एवम् भावर क्षेत्रमा भूमिगत पानी सुक्दै गएका एवम् चाँपाकलहरू पानी नआउने समस्या देखिएका छन् । यसको सोझो प्रभाव, सारस, मानव एवम् सम्पूर्ण वातावरणमा नै पर्दैछ”, उनले भने । यसबारेमा सचेत नभएमा निकट भविष्यमै खतरा उत्पन्न हुने समेत उनले बताए ।


कहाँ- कहाँ भेटियो सारस ?
अध्ययनका क्रममा नेपालमा दुर्लभ श्रेणीमा रहेका ६९० वटा सारस क्रेन भेटिएका छन् । विशेष गरेर सारस सर्वेक्षण विभिन्न ११ ठाउँहरू- कपिलवस्तुका जगदीशपुर कृत्रिम ताल र बझाहा ताल, रुपन्देहीका विष्णुपुरा, गैंडहवा ताल, खडैया इँटा भट्टा, दुई मुहान, माझगाउँ, औरधौली पूर्व, बबई दुर्गा मन्दिर, आजमघाट, परासीको नन्दन ताल, बाँकेको भगवान्पुर क्षेत्रमा सारस गणना एवम् सर्वेक्षण गरिएको थियो । जसअन्तर्गत, ६५२ वटा वृहत् लुम्बिनी क्षेत्र (कपिलवस्तुमा २ सय, रुपन्देहीमा ३८२, परासीमा ७०) मा भेटिएका हुन् भने बाँकेमा ३३ वटा र कञ्चनपुरमा ५ वटा सारस भेटिएका हुन् ।






























































Discussion about this post