भैरहवा- सिद्धार्थनगर नगरपालिकामा मेलमिलापकर्ताहरूका लागि तीन दिनसम्म सञ्चालन भएको पुनर्ताजगी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। न्यायिक समितिको आयोजनामा सम्पन्न कार्यक्रममा मेलमिलापकर्ता, न्यायिक समिति सदस्यहरू तथा विभिन्न शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


नगर प्रमुख इश्तियाक अहमद खाँले तालिमको महत्त्व उजागर गर्दै नगरपालिकालाई उत्कृष्ट बनाउन न्यायिक समितिको भूमिका महत्वपूर्ण रहेको बताए। साथै, उनले कर्मचारीहरूको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा न्यायिक समिति प्रमुख तथा नगर उप-प्रमुख उमा अधिकारीले मेलमिलापकर्ताहरूको दक्षता अभिवृद्धि गर्न यस्ता तालिमहरू आवश्यक रहेको बताउँदै समाजमा मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरिन्। उप-प्रमुख अधिकारीले न्यायिक समितिका पदाधिकारीहरू न्यायालयमा मात्र सीमित नभई नागरिकको जनजीवनमा प्रत्यक्ष रूपमा संलग्न हुनुपर्नेमा जोड दिइन्।


सहभागीहरूले आफ्नो अनुभव तथा धारणा व्यक्त गर्दै मेलमिलाप प्रक्रियालाई अझ प्रभावकारी बनाउने उपायहरूबारे छलफल गरेका थिए। तालिममा विभिन्न शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
यस तालिमले मेलमिलाप प्रक्रियालाई सशक्त बनाउने तथा नागरिकहरूका विवाद समाधानमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।


कार्यक्रमको सञ्चालन साधना पोखरेलले गरेकी थिइन्।



























































Discussion about this post