तनहुँ: लामो समयदेखि संस्कृत अध्यापन हुँदै आएको भानु संस्कृत विद्यापीठ पछिल्लो समय बन्द अवस्थामा रहेको छ ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घाबेँसीस्थित भानु संस्कृत विद्यापीठ शिक्षा ऐनका कारण बन्द भएको हो । उक्त विद्यापीठमा पठनपाठन बन्द भएपछि वरपर घाँस पलाएको छ भने भवनसमेत जीर्ण बन्दै गएको छ ।
सरकारबाट विद्यापीठमा मध्यमासम्मको कक्षा सञ्चालनका लागि मात्रै स्वीकृति हुँदा यस्तो अवस्थामा पुगेको सम्बन्धित अधिकारी बताउँछन् । सरकारले शिक्षा ऐन परिमार्जन गरी कक्षा १२ सम्मलाई विद्यालय तहमा ल्यायो, यसका लागि शास्त्री र आचार्य सञ्चालन गर्ने अनुमति चाहिन्छ तर अनुमति नहुँदा विद्यापिठ बन्द भएको हो ।
संस्कृतलाई अन्य भाषाको पनि मातृभाषा मानिन्छ । पूर्वीय दर्शनमा पनि संस्कृतको ठूलो महत्व छ । तर नेपालमा पनि संस्कृत अधयापन गराउने विद्यालय भने विद्यार्थीको सङ्ख्या घट्दै जाँदा बन्द चिन्ता पनि थपिएको छ । हरेक क्षेत्रको विकासमा राजनीतिक दलको पनि भूमिका रहन्छ, तर राजनीतिक दलले यसमा ध्यान नदिँदा शास्त्रीको कक्षा सञ्चालन हुन नसक्दा विद्यापिठ बन्द हुन पुगेको हो ।
उक्त विद्यापीठलाई वेदव्यास संस्कृत माध्यमिक विद्यालयसँग समन्वय गरी अगाडि बढाउने प्रयास समेत गरेको थियो, सरकारबाट निर्णय हुन सकेन र पूर्णरुपमा बन्द भएको हो । तत्कालीन समयमा विद्यार्थी अध्ययनका लागि आउने क्रम राम्रो रहेको तर, शिक्षा ऐनमा विद्यालय तह कक्षा १२ सम्म भएको तर सोअनुसार उत्तरमध्यमा तहको पढाइ शास्त्री तहमा परिणत गर्न नसक्दा बन्द हुन पुगेको सरोकारवालाको भनाइ छ ।
प्राचीन वाङ्मयमा निहीत परम्परागत धर्म, नैतिक मूल्यमान्यता, सदाचार र सच्चरित्रको परिपालना गर्दै संस्कार, सभ्यताजस्ता विशिष्टताको खोजी गरी तिनको संरक्षण र संवर्द्धन गर्न संस्कृत भाषा अध्ययन हुने विद्यापीठ पुनः सञ्चालन गर्न आवश्यक छ । वैदिक धर्म, पहिचान, संस्कार, संस्कृति र परम्पराको संरक्षणमा सहयोग पुर्याउने संस्कृत विद्यालय सञ्चालनलाई निरन्तरता दिन अन्य विद्यालयसरह सबैले चासो दिनुपर्छ । अन्य सामुदायिक तथा संस्थागत विद्यालयका लागि विद्यार्थी भर्नाका लागि खोजिए जसरी नै संस्कृत अध्ययनका निम्ति विद्यार्थी खोज्ने, छात्रवृत्तिलगायत विभिन्न शिक्षाको पहुँचका विषयको व्यवस्थापन गर्न सबै पक्षले समन्वय गर्नुपर्छ ।



























































Discussion about this post